मनमा वाम एकता, आवरणमा समाजवादी केन्द्र गठन, निर्वाचनअघि एक्लिँदै काँग्रेस

संघीय निर्वाचनको सन्मुखमा दलहरू आन्तरिक चुनावी रणनीतिमा जुटेका छन् । शीर्ष नेताहरू भने राजनीतिक समीकरण हेरफेर गरेर भए पनि पार्टीको जित सुनिश्चित गर्न प्रयासरत छन् । साथै देशी विदेशी शक्ति केन्द्रहरू पनि आगामी पाँच वर्षको लागि आफू अनुकूल सरकार निर्माणको सुनिश्चितता गर्न व्यस्त देखिएका छन् । स्थानीय निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरूद्ध हाबी भएको सत्ता गठबन्धनलाई संघीय निर्वाचनसम्म टिकाउने प्रयासमा केही नेताहरू लागे पनि केही नेताहरू भने वाम एकता गरेर कम्युनिष्टले सरकार हाक्नुपर्ने भन्दै आन्तरिक भागवण्डाको कसरतमा लागिरहेका छन् ।

स्थानीय निर्वाचनमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको साथ लिएर पहिलो पार्टी बन्न सफल काँग्रेस पुनः उनीहरूको सहयोगमा बहुमत ल्याउने तयारीमा छ । काँग्रेस पार्टीको केन्द्रीय कमिटी बैठकले नै गठबन्धनलाई निरन्तरता दिएर बहुमत ल्यउने र आगामी पाँच वर्षा सत्तामा रहने निश्चित गर्ने निर्णय लिएपछि कम्युनिष्ट पार्टीहरू झस्किएका छन् । काँग्रेसले भनेजस्तै आफ्नै साथले काँग्रेस एक्लैले बहुमत ल्याएमा पाँच वर्ष सत्ता बाहिर रहनुपर्ने परिदृश्यको कल्पना गर्दै गठबन्धनमंै रहेका वाम दलहरू मिनी गठबन्धनको तयारीमा जुटेका छन् ।



झुक्दै केपी ओली
यता नेपाली काँग्रेसले नै सत्ता गठबन्धनलाई निरन्तरता दिने बताएपछि नेकपा एमालेको निद हराम भएको छ । संघीय निर्वाचनमा पनि सत्ता गठबन्धन कायमै रहेमा अर्को पाँच वर्ष सत्ताको स्वाद चाख्न नपाउने बुझेका अध्यक्ष केपी ओली लचिलो हुँदै आफै वाम सहकार्यको प्रस्ताव राख्न तयार मात्र भएनन्, विगतमा भएको गल्तीमा माफी माग्न समेत पछि परेनन् । काठमाडौंमा आयो ‘नेपालको भूराजनीतिक अवस्था ः चुनौती र अबको बाटो’ कार्यक्रममा सहभागी ओलीले सार्वजनिक रूपमै नेकपालाई एक बनाउन नसकेकोमा गल्ती महसुस भएको भन्दै माफी मागे ।
कार्यक्रममा वाम एकता वा सहकार्यको लागि आफू तयार रहेको भन्दै ओलीले भनेका थिए ‘विगतका गल्ती रापसाफ गरौं । कोही वामपन्थी हुनुहुन्छ भने आउनुस् । गल्ती भइहाल्यो ल छोडिदिऊँ । मिलेर अघि बढौं । देशको पक्षमा, राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा कानुनी राज्यको पक्षमा उभिएर सरकार बनाऔं र अघि बढौं ।’ ओलीले माओवादी सत्ता गठबन्धन छोडेर आउन तयार भए प्रचण्डकै नेतृत्वमा चुनावी सरकार बनाउन पनि सकिने आफूनिकटका नेताहरूसँग बताउने गरेका छन् ।

त्यसो त नेकपा एमालेमा रहेका दोस्रो तहका नेताहरूले स्थानीय निर्वाचन अघि नै वाम एकता गर्नुपर्ने लाइनमा थिए । त्यतिवेला उनीहरूको प्रयास शीर्ष नेताहरूको वेवास्ताको कारण सफल हुन सकेको थिएन । अध्यक्ष ओलीलाई पनि स्थानीय निर्वाचनमा एमाले हैसियत काँग्रेसकै हाराहारीमा हुने अनुमानको कारण वाम एकतालाई उनले प्राथमिकतामा राखेका थिएनन् । तर अहिले अवस्था बदलिएको छ । स्थानीय निर्वाचनमा एमालेले भोगेको पराजयले संघीय निर्वाचनको परिदृश्यसमेत प्रष्ट पारेको छ । त्यसैले पनि ओली आफै वाम एकताको पक्षमा खुल्न थालेका छन् ।

समाजवादी केन्द्रको तयारी : काँग्रेस र एमालेको टाउको दुखाइ
गठबन्धनको लागि काँग्रेस र एमाले दुबै दलबाट प्रस्ताव आउन थालेपछि नेकपा –माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल यतिवेला निकै हौसिएका छन् । उनले एक दललाई देखाएर अर्को दलसँग वार्गेनिङ गर्ने रणनीति बनाएका छन् । एमालेलाई देखाएर सिट बाँडफाटमा काँग्रेसलाई झुकाउन बाध्य बनाउने तयारीमा रहेका उनी सत्ता गठबन्धनमै रहेका वाम दलहरूबीच एकीकरण गरेर निर्वाचनपछि सत्ता बाँडजmाटको विषयमा पनि बार्गेनिङ गर्नुपर्ने बताउँदै आएका छन् । निर्वाचनपछि काँग्रेस र माओवादीले आधा आधा कार्यकाल प्रधानमन्त्री पाउनुपर्ने बताउँन थालेका उनले अन्यथा राजनीतिक समीकरणमै फेरबदल आउन सक्ने भन्दै काँग्रेसलाई धम्क्याउने गरेका छन् ।
यता पार्टीको अस्तित्व धरापमा परेकोले एकीकृत समाजवादी र आफ्नै अस्तित्व धरापमा परेको कारण डा. बाबुराम भट्टराई र वामदेव गौतम पनि समाजवादी केन्द्रको लागि एक हुने वातावरण बनेको छ । यो अवस्था प्रचण्डको लागि अवसर बन्न सक्ने माओवादी नेताहरू पनि बताउँदै आएका छन् । त्यसैले उनीहरूले समाजवादी केन्द्र बनाएर नेपाली काँग्रेसलाई दवाव दिन प्रचण्डलाई आग्रह गर्दै आएका छन् । निर्वाचन अघि नै समाजवादी केन्द्र बनाएर गठबन्धनभित्रै मिनी गठबन्धन बनाउने उनीहरूको प्रयासले छिट्टै मूर्त रूप लिन सक्ने देखिन्छ ।

पुनः काँग्रेसलाई धोका दिँदै माओवादी
समाजवादी केन्द्र गठनको विषयसतहमा आउँदै गर्दा कम्युनिष्ट पार्टीभित्रका दोस्रो तहका नेताहरूले वाम एकतामै जोड दिने गरेका छन् । काँग्रेसको साथ लिएर समाजवादको यात्रा गर्न नसकिने भन्दै उनीहरूले वाम एकताको लागि ओली र प्रचण्ड दबैलाई दवाव दिँदै आएका छन् । सिट बाँडफाटमा काँग्रेसले उचित स्थान नदिए एमालेसँग एकता गर्ने सोचमा प्रचण्ड रहेको बताइनछ । २०७४ सालको निर्वाचनमा पनि अन्तिम समयमा आएर माओवादबाट धोका पाएका काँग्रेसले ०८९ सालमा पनि पुनः माओवादीबाट धोका नै पाउने संकेत देखिएको नेकपा एमालेका एक प्रभावशाली नेताले नाम नबताउने शर्तमा जनाकारी दिए ।।

सम्बन्धित समाचार