यसरी भयो प्रचण्ड-बाबुराम पुनर्मिलन, होला पार्टी एकता ?

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरु चुनावी अभियानमा होमिएका छन् । आफ्नो पल्ला भारी पार्न विभिन्न दलहरु अर्को कुन दलसँग समन्वय गरेर जाने भन्ने विषयमा गम्भीर छलफल गरिरहेका छन् । यसै क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच पनि निर्वाचनमा एउटै चुनाव चिह्न र एउटै घोषणा पत्र लिएर निर्वाचन लड्ने सहमति भएको छ । २०७२ साल असोज ९ गते माओवादी पार्टी छाडेका बाबुराम भट्टराई ७ वर्षपछि पुनः माओवादी पार्टीकै चुनाव चिह्न हँसिया–हथौडा र संयुक्त घोषणापत्रमा चुनाव लड्न तयार भएका हुन् ।

प्रचण्ड जापान जानुभन्दा एक दिनअघि जनार्दन शर्मा र विश्वदीप पाण्डेबीच छलफल भएको शर्मा निकट स्रोतले बताएको छ । छलफलमा पार्टी एकता र निर्वाचनमा कसरी जाने भन्ने विषयमा नै छलफल भएको थियो । प्रचण्ड जापानबाट फर्किए लगत्तै दुई पार्टीबीच छलफल गर्ने निर्णय हुन्छ । सामूहिक छलफलमा ठोस निर्णय ननिस्किएपछि पार्टी नेताहरुले ‘वान टू वान’ वार्ता गर्न सुझाव दिन्छन् ।



खुमलटारमा ‘वान टू वान’ वार्ता
नेताहरुले ‘वान टू वान’ वार्ता गर्न सुझाव दिएपछि प्रचण्ड र बाबुरामबीच वार्ता चल्छ । वार्तामा प्रचण्डले सुरुमै भट्टराईलाई प्रस्ताव राख्छन्, ‘मैले पनि एमालेसँग एकता गरेर एउटा प्रयास गरेँ । तपाईंले पनि वैकल्पिक शक्ति भनेर एउटा अभ्यास गर्नुभयो । हामी दुवै असफल भयौं । हामी दुवैका प्रयोग असफल भएकाले अब हामी एक ठाउँमा उभियौं भने नयाँ तरिकाले अगाडि बढ्न सक्छौं। अहिले चुनाव चिह्न र घोषणापत्र एउटै बनाएर जाऔँ । चुनावपछि नाम परिवर्तन गरौँला, समाजवादी बाटोमा लागौँला ।’

उक्त प्रस्तावप्रति बाबुराम सकरात्मक देखिँदै प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा दुबै नेताबीच एउटै चुनाव चिह्न र एउटै घोषणा पत्र प्रयोग गरेर निर्वाचनमा जाने सहमति भएको हो । निर्वाचनमा कसरी जाने भन्ने विषयमा दुई पार्टीबीच निरन्तर छलफल चलिरहेको थियो । त्यस्तै भेटवार्तामा सत्तारुढ गठबन्धनमा नेसपाको सहभागिताबारे पनि कुराकानी भएको थियो ।

असफल बाबुराम
माओवादी केन्द्र छोडेर विभिन्न राजनीति पार्टी खोलेका बाबुराम असफल सावित भए । पहिला नयाँ शक्ति नेपाल पार्टी खोलेका बाबुरामले त्यसपछि उपेन्द्र यादवसँग जनता समाजवादी पार्टी खोले। तर त्यस पार्टीमा पनि मिल्न नसकिने भएपछि जसपाबाट बाहिरिएका बाबुरामले नेपाल समाजवादी पार्टी गठन गरेका हुन् । कुनै बेला प्रचण्ड भ्रष्ट भएको भन्दै बाबुरामले चुहिने घरमा बस्न नसक्ने भन्दै माओवादी पार्टी परित्याग गरेका थिए । आज आएर बाबुराम त्यही चुहिने घरमा आश्रय खोज्न पुगेका छन् । उनको यस निर्णयलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् ।

होला पार्टी एकता ?
प्रचण्डले निर्वाचनपछि पार्टी एकता हुने सम्भावना देखाएपछि सहमतिमा पुगेका बाबुराम सकेसम्म कम्युनिष्ट नाम नराख्ने, समाजवादी केन्द्र वा त्यस्तै नाम राखेर बृहत एकताको पक्षमा छन् । प्रचण्ड पनि चुनावअघि एकता नै भन्दा पनि एकता समायोजन समिति बनाएर कार्यगत एकता गर्ने योजनामा रहेका छन् । के निर्वाचनपछि माओवाद ब्राण्ड हटाएर समाजवाद राख्न प्रचण्ड तयार होलान् ? यस विषयमा भने निर्वाचनपछि मात्रै थाहा पाउन सकिएला । तर राजनीतिमा स्वार्थ मिलेपछि असम्भव केही हुँदैन भन्ने गरिन्छ ।

वामदेवलाई पनि माओवादी चुनाव चिह्न दिन माओवादी सहमत
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलाई चुनाव चिह्न दिने निर्णय गरेको माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश निर्वाचनमा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई पनि चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको छ । मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले भट्टराई र गौतमलाई माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लड्ने सहमति गरेको हो ।

बैठकले नेकपा वामदेव गौतम र बाबुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लड्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गर्नुभयो । त्यसको स्वागत गर्छौ । उहाँहरूका बाँकी नेताहरूलाई पनि चुनाव चिह्नबाट लड्न स्वीकृत गरेका छौं’ महराले भने । त्यस्तै भट्टराई र गौतमले केही शर्त राखेको र उक्त विषयमा थप छलफल गरिने महराले जानकारी दिए ।

निर्वाचन आयोगमा माओवादी केन्द्र र नेसपाद्वारा संयुक्तरुपमा दल दर्ता
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागि नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले संयुक्तरुपमा निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । दुवै पार्टीबीच आगामी निर्वाचनमा एकै चिन्हबाट चुनाव लड्ने सहमति भएपछि नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका कर्मचारीहरु निर्वाचन आयोगमा पुगेका थिए । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको थियो ।

 

सम्बन्धित समाचार