कृष्णप्रसाद न्यौपाने
काठमाडौं, २६ असोज ।
एसईईको नतिजा प्रकाशन भएको समयमा गाउँमा उसको ठूलो चर्चा भयो । भरियाको काम गरिखाने हर्केको छोरा नवीनले एसईईको परीक्षामा ए प्लस नतिजा ल्याएको थियो । दुर्गम गाउँको विद्यालयमा पढेर पनि नवीनले सबैलाई गर्व गर्ने खालको नतिजा ल्याउन सकेको थियो । विद्यालय स्वयम् पनि मक्ख थियो किनभने ३.९० जीपीए नतिजा ल्याउने जिल्लाभरिका विद्यार्थीहरूमा नवीन पनि परेको थियो । कोरोनापछि राष्ट्रिय परीक्षा बोर्डले लिएको एसईई परीक्षामा त्यति धेरै जीपीए ल्याएर परीक्षा उत्तीर्ण गर्नु चानचुने कुरा पनि त थिएन । त्यसैले पनि नवीन ताराहरूका बीचको जूनजस्तै बनेको थियो ।
नवीन पनि आफूले मेहनतको फल पाएकोमा अत्यन्त खुसी थियो । उसका आमाबुबा पनि दङ्ग थिए छोराको प्रगति देखेर । नतिजा प्रकाशन भएको बेलुका हर्कबहादुरले एक किलो कुखुराको मासु ल्याएर खुवाएको थियो परिवारलाई । उसले ‘तिम्रो छोरो हुने विरूवाको चिल्लो पातजस्तै छ, पढाइ राम्रो छ । दुःख गरेर पढायौं भने भविष्यमा यसले राम्रो प्रगति गर्छ’ भनेर विद्यालयका प्रधानाध्यापकले भनेको कुरो सम्झ्यो । आफूले पढ्न नपाए पनि छोराले पढेर ल्याएको नतिजा सुनेपछि उसले अब आफ्नो दुःखका दिन विस्तारै सकिँदै जाने मिठो कल्पना पनि गर्यो ।
नवीन थापाकी आमा पनि झन खुसी थिइन् । छोराको नतिजा सुनेपछि उनले डाक्टर नरेश, इन्जिनियर रमेश, मालपोतका हाकिम सूर्यनारायणजस्तै एक दिन आफ्नो छोरो पनि ठूलो मानिस बन्ने कल्पना गरिन् । झुपडीबाट विस्तारै महलतिर पाइला चालेको सपना देखिन् । उनका आँखामा अनायस खुसीको आँसु छचल्कियो । हत्तपत्त मजेत्रोले पुछिन् । हर्षले उनका खुट्टा भुइँमा थिएनन् । उनी कसैलाई भेट्यो कि सगर्व छोरा नवीनको नतिजाका बारेमा सुनाउँथिन् ।
एसईईमा कम नतिजा ल्याउने विद्यार्थीहरूले गाउँको आफ्नै विद्यालयमा शिक्षा तथा व्यवस्थापन विषय पढ्ने तयारी गर्न थाले तर नवीनलाई विज्ञान पढ्नुपर्छ, डाक्टर, इन्जिनियर बन्नुपर्छ भनेर सबैले कर गरे । उसलाई पनि रहर थियो, विज्ञान विषय पढेर डाक्टर बन्ने । उसले जिम्दार बाको कान्छा छोरा डाक्टर नरेश खड्कालाई दसैँमा टीका लगाउन जाँदा नजिकैबाट देखेको थियो । उनका कलकलाउँदा हातगोडा, सफा लुगा देखेर ऊ लोभिएको थियो । उनकी श्रीमती पनि डाक्टर नै हुन् भन्ने उसले सुनेको थियो । आँगनमा राखिएको चिल्लो सेतो कारलाई उसले वरपरि घुमेर अवलोकन गर्दै आफ्नोे अनुहार त्यस कारको ऐनामा हेरेको पनि थियो उसले ।
डाक्टरको सहरमा ठूलो घर छ, छोराछोरी सहरकै महँगो बोर्डिङ स्कुलमा पढ्छन् भन्ने उसले जिम्दारको घरमा काम गर्ने धनेबाट सुनेको थियो । यदाकदा गाउँमा आउने डाक्टर र उनको परिवारलाई हेर्न गाँउलेहरूको निक्कै जमघट हुनेगथ्र्योे । नवीन पनि भविष्यमा डाक्टर बन्ने कल्पनामा डुबेको थियो त्यति बेला । एसईईमा राम्रो अङ्क आएकोले सबैले उसलाई डाक्टर बन्नुपर्छ भनेर हुटहुटी लगाएपछि उसलाई विज्ञान विषय नै पढ्ने रहर जागेको थियो । घरको आर्थिक जग बलियो नभएका कारण भने डाक्टर बन्ने सपना आकाशको फल आँखा तरी मर पो हुने हो कि भन्ने चिन्ता लागेको छ उसलाई । फेरि गाउँमा विज्ञान विषय पढाउने प्लस टु विद्यालय पनि त छैनन् । ऊ अलमल्ल पर्छ ।
केही दिनपछि नवीन बाबुसँग एक हजार बाटो खर्च मागेर सदरमुकाम जान्छ । उसले विज्ञान विषय पढाउने धेरैवटा प्लस टु विद्यालय हेर्न गयो । ऊ जहाँ जहाँ जान्थ्यो, त्यहाँ उसको राम्रै खातिरदारी पनि हुन्थ्यो । लेखापालदेखि प्रधानाध्यापकसम्मले उसको पढाइको प्रशंसा गर्थे । सरहरूले आ–आफ्नो विद्यालयको विगत र वर्तमानको शैक्षिक वातावरणको वर्णन गरेको सुनेर नवीनलाई लाग्थ्यो– यस्ता विद्यालयमा पढ्ने अवसर पाए पक्कै उसको पनि भविष्य सुन्दर हुने थियो, डाक्टर पढ्ने सपना पूरा हुने थियो ।
नवीनको रिजल्ट हेरेर भविष्यप्रति आशावादी हुने विद्यालयहरूले भर्ना हुनका लागि उसलाई विभिन्न अफरहरू पनि दिए तर ती अफरहरू पनि उसको पहुँचभन्दा धेरै माथिका थिए । सरकारी विद्यालयमा पढेको हुनाले उसलाई कक्षा ११ को मासिक शुल्कमा ६ महिनाको छुट दिने तथा भर्ना शुल्क नलिने कुरा एक प्रधानाध्यापकले गरे । नवीनले अझ छुटका लागि अनुरोध गर्यो तर प्रधानाध्यापकले राम्रो अङ्क ल्याएकै भरमा सबैलाई छुट दिँदै जाने हो भने विद्यालय चलाउन नै नसकिने भन्ने रूखो जवाफ दिए । नवीन स्तब्ध भयो । केही समयपछि प्रधानाध्यापकले केही लचिलोे पाराले भने– ११ क्लासमा पनि राम्रो अङ्क ल्याएर टप टेनभित्र पर्न सकेको खण्डमा १२ क्लासमा पूरा शुल्क मिनाहा गरिदिनेसम्मको आश्वासन दिए ।
केही आशावादी भएर ऊ जुरूक्क उठ्यो र लेखा शाखामा पस्यो । बुझ्दा छुटसहित ११ क्लासमा नै ६० हजारभन्दा माथि र १२ कक्षामा एकलाखको हाराहारीमा बुझाउनुपर्ने देखियो । उसको आशा निराशामा बदलियो । उसले सदरमुकामका अन्य प्लस टुमा पनि बझीहेर्यो तर उसले सोचेको जस्तो कतै पाएन ।
ऊ चिया पसलमा पस्यो । बिहान खाना नखाई हिँडेकोले भोक लागेको रहेछ, पढाइकोे चक्करमा उसले सबै भुलेको रहेछ । उसले चिया र चाउमिनले भोक मार्ने प्रयास गर्यो ।
घरको आर्थिक अवस्था राम्रो छैन । बुबाआमालाई अरूको भारी बोकेर परिवारको छाक टार्नलाई समेत सहज छैन । त्यस्तो अवस्थामा सहरमा बसेर प्लस टु कसरी पढ्ने ? त्यो पनि विज्ञान विषय लिएर ! अरूको घरमा काम गरेर पढ्न सम्भव हुँदैन । विद्यालयको शुल्क, कोठाभाडा, खाना खर्च……अहँ, असम्भव !
चिया पसलबाट ऊ जुरुक्क उठ्यो र बसपार्कतिर लम्कियो । बसमा चढेर घर फर्किंदै गर्दा उसले एउटा दृढ अठोट गर्यो– अब ऊ अरू साथीहरू सरह लेखा गणित विषय लिएर आफ्नै विद्यालयमा मेहनत गरेर पढ्ने छ र पछि बैंकिङ क्षेत्रमा जागिर खाने छ । यस विचारले मात्र पनि उसको भाँचिएको मनमा एउटा झिनो आशा पलाएझैं भयो । उसलाई के पनि लाग्यो भने सहरका महङ्गा विद्यालयहरू ऊजस्ता गरिब विद्यार्थीका लागि होइन रहेछन् । उसले आफूले आफैंलाई ढाडस दियो ।
घरमा पुगेर उसले आमाबाबुलाई सबै कुरा बेलिविस्तार लगायो । दुबैजनाले ‘ए….’ मात्र भन्न सके । उनीहरूले छोराको उत्साह घट्न नदिन कुनै नयाँ आश्वासन दिन सकेनन् । बरू तेल सकिन लागेको बत्तीझैं निस्तेज देखिए । नवीनले आमाबुबाको मलिन अनुहार पढ्यो र त्यस मलिन अनुहारभित्रको पीडा महसुस गर्ने कोसिस गर्यो ।
विशेष काम नपरी सदरमुकाम पनि नपुगेका नवीनका आमाबाबुलाई सहरका महङ्गा विद्यालयहरूको शुल्कका बारेमा के थाहा ! उनीहरूले त गाउँका विद्यालयहरूभन्दा केही महङ्गा मात्र होलान् भन्ने ठानेका थिए सायद । त्यसैले छोराको कुरा सुनेर उनीहरू छाँगाबाट खसेझैं भए । उनीहरूलाई आफूहरू गरिब भएकोमा पुनः पीडाबोध भयो । आफ्नो एक मात्र जेहेन्दार छोरालाई पनि उसको रूचिअनुसार पढाउन नसक्ने आफ्नो आर्थिक सामाजिक अवस्थाप्रति टिठ लागेर आयो ।
भोलिपल्ट नवीन बिहान चाँडै उठ्यो । आमालाई भन्यो ‘आमा, खाना चाँडो बनाउनु है । आजदेखि म यहीँको विद्यालयमा पढ्न जान थाल्छु ।’
बिहान नौ बजे आमाले तयार पारेको खाना खाएर नवीनले कपडा लगायो । झोला भिरेर ऊ स्थानीय विद्यालयतिर लाग्यो । उसका बाबु बिहानै खेतालो जान निस्किसकेका थिए । आमाले छोरो गएको परसम्म हेरिरहिन् । उनले छोराको हिँडाइमा कुनै स्फूर्ति देखिनन् तैपनि गतिशील थिए । नवीन भने डाक्टर बन्ने सपनालाई बाटोभरि कुल्चँदै नयाँ गन्तव्यतिर अगाडि बढिरहेको थियो ।