प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न, यी ७ दल बने राष्ट्रिय पार्टी

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ गणनाको नतिजाअनुसार ७ वटा राजनीतिक दल आयोगले तोकेको थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय दल बन्न सफल भएका छन् ।

निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेसहोल्ड कटाएर सात वटा राजनीतिक दल राष्ट्रिय दल बनेका हुन् । ७ राजनीतिक दलले कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् । थ्रेसहोल्ड कटाउन ३ लाख १६ हजार ८०२ मत ल्याउनु पर्ने आयोगले जनाएको छ ।



समानुपातिकतर्फ करिव १ करोड १० लाख मत खसेकोमा १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ । जसमा थ्रेसहोल्ड कटाउने सात राजनीतिक दलले प्राप्त गरेको मत ९२ लाख ७१ हजार ७११ छ । समानुपातिक तर्फको मतगणना अनुसार सबैभन्दा धेरै नेकपा एमालेले प्राप्त गर्दै पहिलो दल बनेको छ । एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको आयोगले जनाएको छ । समानुपातिक तर्फ एमालेले ३४ सिट पाउने भएको छ ।

त्यस्तै नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाएको छ । कांग्रेसले ३२ सिट प्राप्त गर्नेछ ।यस्तै नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मात प्राप्त गर्दै १४ सिट पाउने भएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट प्राप्त गर्नेभएको छ । सो दलले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४० मत प्राप्त गरेको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट पाउने भएको छ । सो दलले ५ लाख ८८ हजार ८४९ मत पाएको छ । जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३१४ मत पाएको छ । समानुपातिक तर्फ जसपाले ५ सिट पाउने छ । यता जनमत पार्टीले ४ प्रतिशत मत प्राप्त गरेर समानुपातिक तर्फ ५ सिट प्राप्त गर्ने भएको छ । जनमतले ३ लाख ९४ हजार ६५५ मत पाएको छ ।

२ लाख ९८ हजार ३९१ मत पाएर आठौं स्थानमा रहेको एकीकृत समाजवादीले थ्रेसहोल्ड नकटाएका कारण राष्ट्रिय दलको मान्यता नपाउने भएको छ । १० सिट प्रत्यक्षमा जिते पनि उसले समानुपातिकमा सदर मतको ३ प्रतिशत मत पाउन सकेन । नेकपा समाजवादी २ लाख ९८ हजार ३९१ मत प्राप्त गर्दा राष्ट्रिय दल बन्नका लागि १८ हजार ४११ मत अपुग भएको आयोगले जनाएको छ । थ्रेसहोल्ड नकटाउने ४० दलले प्राप्त गरेको १२ प्रतिशत अर्थात १२ लाख ८८ हजार ३५६ मत खेर गएको छ ।

समानुपातिक तर्फ एक दुई सिट तलमाथि हुनसक्ने आयोगले जनाएको छ । निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) संख्या निर्धारणको तयारी गरेको छ ।आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट संख्यासहित नाम समावेशी समूह मिलाएर सिफारिसका लागि दलहरूलाई पत्राचार गर्नेछ । सोका लागि दलहरूले प्रतिनिधि सभातर्फ सात दिन र प्रदेश सभातर्फ तीन दिन समय पाउने छन् । दलहरूबाट नामावली सिफारिस भइसकेपछि आयोगले यही मंसिर २६ गतेभित्रमा निर्वाचन परिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी छ ।

 

 

 

सम्बन्धित समाचार