एलपी पौड्याल
काठमाडौं, ५ पुस ।
भर्खरै एउटा नाटक–
भव्य रूपमा सम्पन्न भयो ।
रामले रामकै जस्तो अभिनय गरे
सीताले सीताकै जस्तो अभिनय गरिन्
हनुमानले हनुमानकै जस्तो अभिनय गरे
र–
रावणले पनि रावणकै जस्तो अभिनय गरे ।
अभिनय जीवन्त थियो,
पात्रहरूले शङ्का गर्ने ठाउँ नै दिएनन् ।
जीवन्त अभिनयका लागि–
रामको प्रशंसा भयो,
सीताको प्रशंसा भयो,
हनुमानको प्रशंसा भयो,
रावणको पनि प्रशंसा भयो
एवम् रीतले–
नाटकका सबै पात्रहरूको प्रशंसा भयो
तर,
पर्दापछाडि बसेर
सबैलाई अभिनय गराउने प्रभुलाई
कसैले चिनेनन् ।
राम र रावणलाई
उसैले आदेश दियो÷निर्देशन दियो
र आफ्नो अनुकूल अभिनय गरायो ।
पर्दापछाडि को थियो ऊ ?
जसको आदेश र निर्देशनमा
सबै कलाकारहरूले
जीवन्त अभिनय गरे !
पर्दापछाडिको उसलाई
दर्शक–स्रोताहरूले चिन्न सकेनन्
अनुमानसम्म गरे सायद !
तर,
मुख खोल्ने आँट कसैले गरेनन् ।
प्रभुको इच्छा,
उनले–
कहिले रामलाई रावणको रोल दिए
कहिले रावणलाई रामको रोल दिए
उनीहरूको अभिनय देखेर– विचरा दर्शकः
कहिले जोसिएर ताली बजाए,
कहिले भावविह्वल भएर आँशु बगाए ।
तर–
स्क्रिप्ट कसको थियो ?
निर्देशन कसको थियो ?
कसैले भन्न सकेनन्–
नेपथ्यमा रहेर सबैलाई अभिनय गराउने
अदृश्य पात्र को थियो ?
सम्भवतः
अब अर्को नयाँ नाटकको
रिहर्सल आरम्भ हुनेछ
र,
पुराना तथा अनुभवी कलाकारहरूले
पुनः अवसर पाउन सक्नेछन् ।।
२०७९/०९/०५