एलपी पौड्याल
काठमाडौं, ७ बैशाख ।
त्यस दिन म मेरिल्याण्डबाट बसको यात्रा गर्दै अमेरिकाको व्यापारिक राजधानी भनेर चिनिने न्यु योर्क शहरतर्फ जाँदै थिएँ । न्यु योर्क अमेरिकाकै ठूलो र व्यस्त शहर, गगनचुम्बी र मनमोहक बिल्डिङहरूले भरिएको स्वप्निल शहर ! यस शहरतर्फको मेरो यो यात्रा पहिलो थियो । पाँच वर्षअगाडि पनि जान चाहेको थिएँ तर अनुकूल नमिलेर भर्जिनियाँबाटै टेक्सास फर्केको थिएँ । यसपटक भने त्यसतर्फको रोमाञ्चक यात्राले मन प्रफुल्लित थियो । साथै, कौतुहलपूर्ण पनि ।
भर्जिनियाँमा जस्तो मेरा परिचित र सहयोगी साथी न्यु योर्कमा खास्सै थिएनन् । कामना पब्लिकेशनमा काम गर्दाको भरपर्दो साथी रोशिक पनि कोरोनाले थलिएपछि न्यु योर्कको मेरो यात्रा जोखिमपूर्णजस्तै बनेको थियो । त्यत्रो ठूलो शहरमा हराइने त होइन ? मनमा कता कता डर पनि लागेको थियो ।
मेरिल्याण्डबाट छुटेको बस झण्डै पाँच घण्टाको नन्स्टप यात्रापछि न्यु योर्क शहरभित्र प्रवेश गरेको थियो । बस भन्नुमात्र, सुविधाका हिसाबले हवाई जहाजजस्तै । बसको यात्रा पनि कम रमाइलो लागेन मलाई । यात्राभरि नेपालमा पनि यस्ता सुविधासम्पन्न बस चले यात्रा गर्न कति सहज बन्थ्यो होला भन्ने सोच आइरह्यो । अमेरिका घुम्दै गर्दा देखिने वा भोगिने हरेक वस्तु नेपालसँग तुलना गरिँदो रहेछ । नेपालमा पनि यस्तो भइदिए, उस्तो भइदिए हुन्थ्यो नि जस्तो लाग्दोरहेछ । मनमा यस्तै कल्पनाका अनेक तरङ्गहरू उठिरहेका बेला मोबाइलको रिङ टोनले झस्किएँ ।
‘दाइ, कहाँ आइपुग्नुभयो ?’ राधा बहिनीले सम्झेको रहेछ ।
राधा बहिनी । काठमाडौंमा रहँदा हामी एउटा सहकारीमा जोडिएका थियौं । नेपालमा रहँदासम्म हामीबीच औपचारिक सम्बन्ध मात्र थियो तर म न्यु योर्क आउँदै गरेको फेसबुकबाट थाहा पाएपछि उनले बेला बेला फोन गर्दै न्यु योर्कमा आएपछि उनको आतिथ्य ग्रहण गर्न आग्रह गरिरहेकी थिइन् । उनले भनेकी थिइन् ‘न्यु योर्कको मेरो बसाइ खास्सै स्तरीय त छैन दाइ, तर आफ्नो ठानेको मान्छेलाई एक÷दुई रात राख्न कठिनाइ पनि छैन ।’ उनको पटक पटकको आग्रह र आत्मीय अभिव्यक्तिपछि मैले होटलको बुकिङ रद्द गराएको थिएँ ।
न्यु योर्कको मेरो पहिलो यात्रा भएकोले म कहीं कतै अलमलिन्छु कि भनेर होला, राधा बहिनीले बेला बेला फोन गरेर ‘कहाँ आइपुग्नुभयो’ भनेर जानकारी लिइरहेकी थिइन् । एक प्रकारले उनी मलाई अपनत्वको आभास दिलाइरहेकी थिइन् । उनको मप्रतिको यस किसिमको सद्भावले मलाई न्यु योर्कमा मेरो पनि आफ्नो कोही भएको आभास भइरहेको थियो ।
भनेँ– ‘राधा बहिनी, बस न्यु योर्क सिटी प्रवेश गरिसकेजस्तो लागेको छ तर लामो जाम छ । म बस स्टपमा पुगेपछि फोन गर्नेछु ।’
‘मैले मेरो ठेगाना मेसेञ्जरमा पठाइदिएकी छु । उभर लिएर भए पनि सकेसम्म चाँडै आउनु होला है !’
बस स्टपमा पुगेपछि लगेजसहित म बसबाट झरेँ । न्यु योर्क शहरलाई पहिलोपल्ट स्पर्श गर्न पाएकोमा मन रोमाञ्चित बनेको थियो । हेरें– वरिपरि गगनचुम्बी भवनहरू र माकुराको जालोजस्ता सडकहरू । अनुभवी व्यक्तिको सहाराविना कतै पाइला चाले हराइन्छ कि भन्ने डर पनि लाग्यो । साथीभाइले पनि न्यु योर्क सिटीमा हराउन सकिने भय देखाएका थिए । त्यसैले म बाटो किनारमा उभिएर पारश भाइको प्रतीक्षा गर्न थालेँ ।
केही समयको प्रतीक्षापछि पारस भाइ मलाई पिकअप गर्न गाडी लिएर आइपुगे । कुनै बेला हामी कान्तिपुर पब्लिकेशन्समा जोडिएका थियौं । उनी केही वर्षदेखि न्यु योर्कमा उभर चलाएर बरिरहेका रहेछन् । बोस्टनमा बसिरहेका भाइ नीलमले मलाई पारशको मोबाइल नम्बर उपलब्ध गराएका थिए । मोबाइल सम्पर्कपछि व्यस्तताका बीच पनि समय निकालेर पारश भाइ मलाई पिकअप गर्न आइदिए, नयाँ ठाउँमा उनलाई भेटेर खुसी लाग्यो । उनलाई भेट्ता बेलुकाको ६ बजिसकेको थियो तर पनि त्यहाँको वातावरणले भने रात पर्न लागेको आभास दिइरहेको थिएन । बत्तीको झिलिमिलीले रात र दिन छुट्याउन गाह्रो देखिन्थ्यो । पारश भाइसँगै हामी पनि भीडको एउटा हिस्सा बन्न पुग्यौं ।
समयले भ्याएसम्म पारस भाइले न्यु योर्क शहरको कुना कुना घुमाए । टाइम स्क्वायर क्षेत्र पुग्दा साँझ परिसकेकोे थियो । साँझपख त्यहाँको रमझमको के वर्णन गर्नु र ? जता हेर्यो, उतै मन भुलिने । ठाडो घाँटी लगाएर जति हेरे पनि टुप्पो नदेखिने विल्डिङहरू कसरी बनाइए होलान् ! म ठाडो घाँटी लगाएर टोलाएको देखेर पारस भाइले भने ‘सर, बीस तलाजति त बादल माथि होलान् । पूरै बिल्डिङ हेर्न त छ्याङ्ग खुलेको दिनमा मात्र सम्भव हुन्छ । अरू दिन त जति देखिन्छ, त्यति नै हेरेर चित्त बुझाउने हो ।’ त्यस साँझ पनि वातावरण खास्सै खुलेको भने थिएन ।
न्यु योर्क शहर घुमाउने क्रममा पारस भाइले पहिले ट्वीन टावर भएको ऐतिहासिक स्थानमा पनि पुर्याए । सेप्टेम्बर ११, २००१ मा आतङ्कारीले प्लेनबाट आत्मघाती आक्रमण गरी विध्वंश मच्चाएको हृदयविदारक दृष्य टिभीबाट हेरेका हामीले त्यही स्थानमा पुगेर मृतकहरूको स्मरणमा बनाइएको स्मारक हेर्न पाउँदा भने मन अलिकति भावुक बन्यो । स्मारकमा दुबै टावरमा हताहत हुने सबैको नाम कुँदेकोे रहेछ ।
शहरको बेलुकीपखको सौन्दर्यपान गर्दै न्यु योर्क सिटी घुम्ने रहर पुगेकै थिएन तर रातको ९ बज्न लागिसकेछ । हतार हतार गर्दै राधा बहिनीले दिएको ठेगानाअनुसार उड–साइट पुग्दा बेलुकाको नौ नाघिसकेको थियो । उनी सडक पेटीमा उभिएर हामीलाई कुरिरहेकी रहिछन् । पारस र प्रमोदहरूसँग विदा लिएर म राधा बहिनीको आतिथ्य ग्रहण गर्न उनका पछि लागेँ । बाटोमा प्रमोद भाइ पनि हामीसँग मिसिएका थिए ।
सानो फलामले घेरेको कम्पाउण्डबाट छिरेपछि शुरु हुने लामो सिँडी चढेर हामी राधा बहिनीको निवासमा प्रवेश गर्यौें । न्यु योर्कमा सबैको बसाइ साँघुरो हुन्छ भन्ने सुनेको थिएँ । महङ्गो शहर भएकोले फराकिलो ठाउँमा बस्न जोसुकैलाई सम्भव नहुँदो रहेछ । दुईटा कोठा, एउटा अट्याच बाथरुम, चिटिक्क पारेर सजाएको राधा बहिनीको घर–संसार, सानो भएर पनि अनुमान गरेभन्दा राम्रो लाग्यो मलाई ।
कोठाभित्र पसेर सोफामा बस्न नपाउँदै राधा बहिनीले मलाई खादा लगाइदिएर मेरा हार्दिकतापूर्ण स्वागत गरिन् । म अवाक बनेँ । भनेँ– ‘यो के गरेको बहिनी ?’
उनले धैर्यतापूर्वक भनिन् ‘तपाई मेरो अनुरोधलाई स्वीकार गरेर मेरो निवासमा आइदिनुभयो । तपाई हामीले मानेको सिनियर मान्छे । तपाई आइदिनु नै ठूलो कुरा हो । दाइप्रतिको यो सानो सम्मान मात्र हो, यसलाई अन्यथा रूपमा नलिइदिनु होला दाइ ! केही महिना पहिले पण्डित दीनबन्धु पोखरेललाई पनि यही कोठामा स्वागत गर्ने सौभाग्य पाएकी थिएँ । आज दाइलाई स्वागत गर्न पाएँ । खुशी लागेको छ ।’ उनको जवाफले म स्तब्ध भएँ ।
अनि, उनले आफ्नी करिब २० वर्ष पुग्न लागेकी छोरी गरिमा र ५ वर्षजतिको छोराको परिचय गराइन् । थपिन्– ‘पहिला मेरी छोरीका रूपमा गरिमालाई चिन्थे, अहिले गरिमाकी मम्मी भनेर मलाई चिन्छन् । छोराछोरीको नाम वा कीर्तिबाट आमाबाबुले चिनिन पाउँदा ज्यादै हर्ष लाग्दोरहेछ दाइ !’
राधाले छोरी गरिमाले मिस नेपाल, नर्थ अमेरिका २०२१, को उपाधि विजेता बनेपछि उनको चर्चा चुलिएको कुराको सारांश सुनाइन् । सुनेर मलाई पनि खुसी लाग्यो । अवसर पाउँदा नेपालीहरू संसारको जुनसुकै कुनामा पुगेपनि आफ्नो क्षमता र प्रतिभाले आफूलाई स्थापित गर्न पछि पर्दैनन् भन्ने लाग्यो ।
उनले प्रसङ्ग बदल्दै भनिन् ‘दाइ, कुरैकुरामा १० बज्न लागेछ । जौं पहिला केही खाएर आऊँ, अनि कुरा गरौंला । हजुरलाई ढिँडो कस्तो लाग्छ ?’
‘
बाहिर जाने र ? यहीँ केही खाँदा हुँदैन ?’
‘छ्या कस्तो कुरा गर्नुभएको दाइ हजुरले ? बल्ल बल्ल आउनुभएको दाइलाई केही नयाँ र मिठो ख्वाउनु परेन ? यहाँ नजिकमा एउटा नेपाली रेष्टुरेन्ट छ, त्यहाँ मिठो ढिँडो पाक्छ । न्यु योर्कको ढिँडो कस्तो हुन्छ, टेस्ट गर्नु होला । जाऔं त्यतै ।’
मेरो केही लागेन । चारैजना नेपाली रेष्टुरेन्टतिर लाग्यौं । हामी रेष्टुरेन्ट पुग्दा चहलपहल केही कम हुन लागेकोे थियो । मैले अमेरिकामा पुगेर पहिलोपल्ट ढिँडो खाने अवसर पाएको थिएँ । धेरै रमाइलो लाग्यो ।
कोठमा फर्केर आएपछि राधा बहिनीले आफू टुरिष्ट भिजामा न्यु योर्क आइपुगेदेखि अहिलेसम्म पाएको दुःख र हण्डरको श्रृङ्खलालाई सविस्तार सुनाइन् । उनले पाएको हण्डर र उनी अप्ठ्यारोमा पर्दा साथीभाइले गरेको असहयोगको रामकहानी सुन्दा म भावविह्वल भएँ । जतिसुकै असजिलो स्थिति आए पनि सङ्घर्ष गरेर अमेरिकामा टिक्ने सोच र आत्मविश्वासले मात्र उनी न्यु योर्कमा अडिन सफल भएकी रहिछन् । उनले भोगेको दुःख र पाएको हण्डरलाई पनि उनी हँसिलो पाराले सुनाइरहेकी थिइन् । उनको सङ्घर्षपूर्ण जीवन गाथा र साहसलाई मैले भित्रैदेखि सम्मान गरें । उनीप्रतिको मेरो सम्मान थप चुलियो ।
आफू किचन कोठामा सुतेर मलाई भने ठूलो, राम्रो र सजाइएको पलङ्गमा सुताइन् । राधाले मलाई सामान्यभन्दा बढी नै सम्मान दिइरहेकी थिइन् । मलाई उनको गुनले थिच्दै लगेको महसुस भयो ।
भोलिपल्ट शनिबारको दिन थियो । उनले मलाई बिहानै कोरोना पार्क घुमाउन लगिन् । कोरोनाको महामारी आउनुभन्दा धेरै पहिला नै न्यु योर्कमा कोरोना पार्क बनिसकेको रहेछ । पार्क ठूलो र रमाइलो लाग्यो । निक्कैबेर कोरोना पार्क घुम्यौं, केही सेल्फी लिन पनि भ्यायौं र त्यहाँबाट फक्र्यौं ।
कोरोना पार्क जाँदा रेलको यात्रा गरेका थियौं र रेलबाटै फक्र्यौं पनि । फर्किने क्रममा राधाले ज्याक्सन हाइट पनि घुमेर जाने प्रस्ताव गरिन् । छोरी सङ्गीताले पनि ‘बुबा, ज्याक्सन हाइट पनि पुग्नु है, इण्डियाको कुनै बजार पुगेजस्तै हुन्छ’ भनेकी थिइन् । त्यसैले हामी ज्याक्सन हाइट गयौं पनि । नभन्दै ज्याक्सन हाइट भन्नु भारतीयहरूको बजार रहेछ । सबै भारतीय र नेपाली फ्लेवरका खानेकुरा, घरायसी सामानदेखि सजावटका सरसामान पाइँदोरहेछ । ठाउँ अमेरिका भए पनि त्यहाँ कामचलाउ हिन्दी भाषा बोलिँदो रहेछ । राधाले त्यहाँ केही मरमसला र फलफूल सपिङ गरिन् । राधाको बसाइ ज्याक्सन हाइटबाट धेरै टाढा नभएकोले हामी त्यहाँबाट पैदल नै फक्र्यौं । बाटाभरि विविध कुराकानीहरू भए ।
भर्जिनियाँबाट प्रस्थान गर्नु अघि मित्र विष्णु शीतलले न्यु जर्सी निवासी इन्जिनियर उपेन्द्रजीलाई फोन सम्पर्क गरी शनिबारको दिन मलाई न्यु योर्क घुमाइदिन आग्रह गर्नुभएको थियो । शीतलजीको प्रस्तावलाई उपेन्द्रजीले पनि स्वीकार गर्नु भएको थियो । त्यसैले बिहानै उपेन्द्रजीले मलाई ११ बजेसम्ममा भेट्ने भन्नुभएको थियो । त्यही योजनाअनुसार खाना खाएर उपेन्द्रजीसँग पुनः न्यु योर्क घुम्ने योजना थियो ।
निवासमा आएर भान्जी गरिमाले बनाएको खाना खाँदैगर्दा उपेन्द्रजीको फोन आइसकेको थियो । आधा घण्टाभित्र मलाई म बसेको ठाउँमा लिन आउने उपेन्द्रजीले भन्नुभएको थियो । खाना खाएर हतार हतार हिँड्ने तयारीस्वरूप म लगेज मिलाउन लागें ।
हिँड्नुअधि मलाई भाञ्जाभाञ्जीका हातमा २०–३० डलर राखिदिन मनलागेको थियो । राधा बहिनी देखाएको आत्मीयता र आतिथ्यको भार पनि थियो मलाई । हिँड्नुपूर्व मलाई त्यसको पनि केही सम्बोधन गर्ने मन थियो । तर कसरी ? म अलमलिइरहेको थिएँ । म निर्णयमा पुग्नुअघि नै राधाले भनिन् ‘दाइ एउटा कुरा भन्नु थियो तर कसरी भनौं भनेर सोच्दैछु…. ।’
राधाको सङ्कोचपूर्ण अभिव्यक्ति सुनेर मैले अनुमान गरें– उनी मसँग सहयोग स्वरूप केही रकम माग्न लागेकी हुन सक्छिन् । राधाले रेष्टुरेन्टमा खाएको, कोरोना पार्क घुम्न जाँदा तथा ज्याक्सन हाइटमा फलफूल किन्दा कतै पनि मलाई पैसा निकाल्न दिएकी थिइनन् । साधारण होटलमा नै बसेको भए पनि त डेढ दुई सय डलर खर्चिनु पथ्र्यो । कुल मिलाउँदा त धेरै हुन्थ्यो तैपनि २ सय डलरजति चाहिँ हातमा राखिदिनु पर्ला भनेर सोच्दै थिएँ तर फ्याट्ट बोलिहाल्न आँट आएकोे थिएन । वा उनले त्योभन्दा बढी सोचेकी छन् कि भन्ने पनि लागिरहेको थियो । राधाले नै केही सजिलो बनाइदिए हुन्थ्यो भन्ने सोच्दैगर्दा आएको उनको अभिव्यक्तिले मलाई थप अन्यौल बनाएको थियो ।
भनें ‘भनन बहिनी, दाइसँग बोल्न पनि अप्ठ्यारो मान्नु पर्छ र ?’
‘दाइ, समय एकदमै छोटो भयो । कुनै मलमा पनि छिर्न भ्याइएन ।’
मैले अझै उनको आसय बुझ्न सकिनँ । भनें– ‘किन र ?’
उनले केही असजिलो मान्दै भनिन्– ‘बहिनीको चिनो स्वरूप दाइलाई एउटा राम्रो टि सर्ट किनिदिने मन थियो, सम्भव नै भएन ।’ अनि मेरो सोचविपरीत मेरो दाहिने हात तानेर ४० डलर हत्केलामा राखिदिँदै भनिन् ‘बहिनीको चिनोस्वरूप एउटा टि सर्ट किनेर लगाउनु होला है दाइ !’
म अवाक् भएँ, भावुक भएँ । मेरा आँखा भरिएझैं भए । किताबको गाता हेरेर किताबी ज्ञानको अनुमान गर्ने हाम्रो सतही बुद्धि देखेर आफैंलाई पछुतो भयो । हतार हतार भनें ‘यो के गरेको बहिनी ? दाइले बहिनीलाई दिने कि बहिनीले दाइलाई ? यस्तो नहुने ….’
मेरो कुरा काट्तै उनले भनिन् ‘दाइ, भोलि तपाई अमेरिका नै आएर बस्नुभयो र काम गरेर कमाउन थाल्नुभयो भने बहिनीका नाताले मलाई जति दिए पनि म लिउँला तर अहिले त तपाई घुम्न आउनु भएको मान्छे । यहाँको एक डलर साट्न नेपाली एकसय तीस रुपैयाँ खर्च गर्नुपर्छ । घुम्न गारो हुन्छ । यो टोकन अफ लभ मात्र हो । अवस्था राम्रो भएको भए ……’
म अझै पनि प्रतिवाद गर्न खोज्दै थिएँ, उनैले जितेर भनिन्– ‘यो पैसा लिनु भएन भने त दाइ, म धुरुधुरु रुनेछु ।’
त्यस्तो असजिलो र अप्ठ्यारो अवस्थामा बाँचेका मान्छेको पृथ्वीजत्रो मुटु देखेर म द्रवित बनें । मलाई लाग्यो– आर्थिक अभाव झेल्दैगर्दा पनि मानसिक अवस्थाले भने उनी बिल गेट्स वा एलन मक्सभन्दा पनि धनी रहिछन् । उनले मलाई चालिस डलर होइन, चालिस लाख दिएझैं महसुस भयो । उनको सद्भाव र आतिथ्यको बदलामा आफूले पनि केही गर्न पाए हुन्थ्यो भन्ने त लाग्यो तर म पाहुनाका रूपमा त्यहाँ पुगेको मान्छेले के पो गर्न सक्थें र ? केवल मन भावुक बन्यो ।
राधाको निवास अगाडिको बाटोमा आइपुगेर उपेन्द्रजीले मलाई फोन कल गरिरहनुभएको थियो । अब मैले हिँड्नु पथ्र्यो । छुट्टिने बेलामा उनीसँग विदा माग्ने शब्दहरू पनि अचानक हराएझैं भएछन् । म भारी मन लगाउँदै लगेज घिसार्न लागें । प्रस्थान गर्नुअघि सजल नयनले मैले पुलुक्क राधा बहिनीतिर हेरेँ र मौनतामैं केही कुरा भनें । मेरो मौन संवाद उनले कति बुझिन कोनि तर मलाई बाटोसम्म पुर्याउने उद्देश्यले उनी पनि मेरापछि लागिन् ।
क्रमशः