पत्रपत्रिका
काठमाडौं, १५ बैशाख ।
काठमाडौं उपत्यकामा जथाभावी पानी तान्ने प्रवृत्तिले यसको भण्डारण सुक्दै गएको छ। बर्खामा रिचार्ज हुँदै आएको माथिल्लो तहको भण्डारण सुक्दै गएको विज्ञ बताउँछन् । उनीहरूका अनुसार मुख्यतः दुई तहबाट पानीको माग पूरा हुँदै आएको छ । एउटा ५० मिटर सम्म (स्यालो वेल) र अर्को ५० मिटरभन्दा गहिरो (डिप वेल)बाट तानिन्छ ।
स्यालो वेल बर्खामा पुनर्भरण हुन्छ । जसमा समस्या देखिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का इलेक्ट्रो मेकानिकल शाखा प्रमुख कृष्णहरि बुढाथोकीले बताए । तर, त्यसभन्दा तलको अवस्थामा असर परेको छैन। अत्यधिक तानेकाले मात्रा घटेको छ । तर, माथिल्लो तहको पानीका स्रोत मर्मत गर्दा पानीको मात्रा खासै घटेको नदेखिएको उनको भनाइ छ ।
‘अत्यधिक पम्पिङ रेटले पानीको मात्रा फरक पारेको हो । पानीको तह नै घटेको होइन । विभिन्न कारणले २–४ मिटर तल–माथि आएको हुन सक्छ’, बुढाथोकी भन्छन् । उनका अनुसार काठमाडौंका ८० प्रतिशत ट्युबवेलमा सफाइ गरेपछि पुनः पानी आएको छ।
केयूकेएलका १ सय ५ ट्युबवेल सञ्चालनमा छन् । उसले दैनिक साढे ५ देखि ६ करोड लिटर तानेर वितरण गर्छ । ३ सयदेखि १८ सय मिटर प्रतिमिनेट पानी तान्ने क्षमताका ट्युबवेल छन् । यी मेसिन तीन–चार वर्षयता मात्रै सञ्चालनमा आएका हुन् । त्यसअघि ३५–४० वटा मात्रै थिए ।
‘वास्तवमा माथिल्लो तहको पानी सुक्दैन । तर, नियमन अभावमा माथिल्लो तहको पानीको तहमा असर पारेको छ। इमानदारीसाथ काम गरे त्यस्तो समस्या हुँदैन’, बुढाथोकी भन्छन् ।
१४ वर्षदेखि इनार तथा बोरिङ बनाउने काममा क्रियाशील डिल्लीबहादुर विष्टका अनुसार पहिला काठमाडौंमा १५–२० फिट खन्नेबित्तिकै पानी आउँथ्यो । अहिले कुनै पनि क्षेत्रमा ४० फिटभन्दा माथि पानी आउँदैन । इनार तथा बोरिङ खनेको सुरुका वर्षमा पानी देखिए पनि केही वर्षपछि सुक्दै जाने क्रम बढेको छ । कालिकोटको सानीत्रिवेणी गाउँपालिका २ बाट काठमाडौं आइपुगेको विष्टका अनुसार प्रत्येक वर्ष पानीको मात्रा घटीरहेको छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।