देउवा : डेट एक्स्पायर औषधि

नेपालको पुरानो लोकतान्त्रिक पार्टीको पर्याय बनेको नेपाली काङ्ग्रेसभित्र अहिले रूपान्तरण र शुद्धीकरणको बहस उत्कर्षमा पुगेको छ । स्वाभाविक रूपमा वा संस्थागत रूपबाट हुनुपर्ने समसामयिक बहस तथा छलफल पनि हुनसकेको छैन । पार्टीको विधान अनुसार हुनुपर्ने बैठक तथा छलफलहरू नियमित रूपमा होस् भन्दा पनि गुट र उपगुटका बीच द्वन्द्व सिर्जना हुन अवस्था छ । पार्टी सभापति शेरबहादुर देउवालगायत संस्थापन पक्ष बैठक तथा छलफलबाट भाग्न चाहन्छ भने अर्को पक्ष पार्टीभित्रका सबै समस्याहरू छलफलबाट निरूपण होस् भन्ने चाहन्छ, जुन सही पनि देखिन्छ । लोकतान्त्रिक पार्टीको छविलाई बचाइराख्न पनि नेपाली काङ्ग्रेसले समय समयमा मुलुकभित्र देखिएका साना ठूला सबै खालका समस्याहरूलाई पार्टीभित्र स्वस्थ छलफल र विचार–विमर्शका माध्यमबाट निष्कर्षमा पुग्दा सबैतिर राम्रो सन्देश जाने हो तर नेपाली काङ्ग्रेस यस लोकतान्त्रिक विधि र प्रक्रियाबाट धेरै टाढा पुगिसकेको भान हुन्छ ।

कसैको नाम कुवेर राख्ने वित्तिकै ऊ आर्थिक र भौतिक रूपबाट सम्पन्न नहुन सक्छ । त्यस्तै कुनै पार्टीले आफ्नो नामसँग लोकतान्त्रिक शब्द जोड्नेवित्तिकै त्यो पार्टी लोकतान्त्रिक बन्न सक्तैन । लोकतन्त्र भनेको जीवन पद्दति हो । लोकतन्त्र व्यक्तिको चरित्रमा रूपान्तरण हुनुपर्छ, पार्टीजीवनको दैनिक गतिविधिमा झल्किनु पर्छ ।



तर पार्टी विधानको व्यवस्थालाई बेवास्ता गर्ने, केन्द्रीय समितिको बैठकसमेत राख्न डराउने, पार्टी नेतृत्वले एकलौटी निर्णय गर्ने तर त्यसको अपजसजति पार्टीलाई बोकाउने, कसैले कुनै राष्ट्रिय मुद्दालाई पार्टीभित्र छलफल गरेर मात्र साझा धारणा बनाउँ भन्दा ‘इतर’ हुने स्थिति पैदा हुन्छ भने त्यस्तो पार्टी कसरी लोकतान्त्रिक पार्टी हुन सक्छ ? आफ्नै नागरिकलाई अनागरिक बनाएर अकुत सम्पत्ति कुम्ल्याएको आरोपमा जेल चलान भएका व्यक्तिलाई समेत पार्टी नेतृत्वले कुनै कार्वाही गर्न सक्तैन, मुलुकभित्रका हरेक भ्रष्टाचारका मुद्दामा शीर्ष नेताको नाम जोडिन्छ तर त्यसको चित्तबुझ्दो जवाफ दिनु नैतिक दायित्व ठान्दैन भने र आम जनताका समस्यालाई मुखरित गर्न पनि सक्तैन भने त्यस्तो नाम मात्रको लोकतान्त्रिक पार्टीलाई अब पनि जनताले किन माया गर्ने ? लोकतान्त्रिक पार्टीको चरित्र के हो ? समयले काङ्ग्रेसका शीर्ष नेताहरूसँग जवाफ मागिरहेको छ ।

पार्टीभित्रको आन्तरिक किचलो
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैली, अक्षमता र हुकुमवादी प्रवृत्तिका कारण पार्टी तहसनहस भएको बुझाइ पार्टीभित्रका केही युवा नेताहरूको रहेको पाइन्छ । पार्टीलाई यही रूपमा छोड्दा ऐतिहासिक पार्टीको अवस्था दयनीय हुने र नयाँ उदाएका पार्टीहरूका अगाडि लजाउनुपर्ने स्थिति आउने कुराको आँकलन गरी पार्टीको ऐतिहासिक गरिमा जोगाउन पनि केही गर्नेपर्ने अभियन्ताहरूको भनाइ छ । यस विचारको नेतृत्व पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरिरहेका छन् । हुन त देउवाले नेपाली काङ्ग्रेस पार्टीलाई सही ढङ्गले दिशानिर्देश गर्न नसकेको र सबैलाई एक ढिक्का पार्न नसकेका कारण पार्टी कमजोर हुँदै गएको कुरा साधारण मतदातादेखि केन्द्रीय समितिसम्मका सबैले बुझिसकेका छन् तर दास मनोवृत्तिका कारण बोल्न भने डराउँछन् । नेपाली काङ्ग्रेसका शुभचिन्तकहरूको तर्फबाट महामन्त्रीद्वयले अगुवाइ गरिरहेका छन् । यो अगुवाइ उनीहरूका लागि महङ्गो पनि पर्न सक्छ । किनभने अराजक भीडले विवेक गुमायो भने जे नहुनु पर्ने हो, त्यही हुन पनि सक्छ ।

पार्टीमा रूपान्तरण र शुद्धीकरणको अभियानमा लागेकाहरूलाई इतरपक्ष भनिने गरिएको छ । जब नेतृत्व असक्षम र अराजक बन्दै जान्छ, स्वाभाविक रूपमा इतरपक्ष पैदा हुन्छ । इतरपक्ष निर्माण हुनुमा नेतृत्वकै परोक्ष रूपमा भूमिका रहेको हुन्छ । काङ्ग्रेसको यो इतरपक्ष पार्टीको इतरपक्ष भने होइन, अपितु नेतृत्वको इतरपक्ष हो, संस्थापनको इतरपक्ष हो । यो पक्ष नेतृत्वका कमीकमजोरीका कारण निराश बनेका देशभरिकै कार्यकर्ता र शुभचिन्तकहरूमा प्राण भर्ने उद्देश्यले देश दौडाहामा रहेको बताइएको छ । उनीहरूको प्रमुख मुद्दाका रूपमा संसदीय दलको नेतृत्व परिवर्तन गर्ने छ । यस अभियानमा सहमत सातै प्रदेशका काङ्ग्रेसका नेताहरू जगदीश्वरनरसिंह केसी, गुरु घिमिरे, मधु आचार्य, भुपेन्द्रजंग शाही, सम्बन्धित जिल्लाका सभापतिहरूलगायतका नेता/नेतृहरूले ३६ भन्दा बढी जिल्लाहरूमा रूपान्तरण कार्यक्रम सञ्चालन गरिसकेका छन् । यस अभियानमा भातृ संगठनहरूलाई पनि समेट्ने प्रयास भइरहेको बुझिएको छ ।

नेपाली काङ्ग्रेसभित्रको भुँसको आगो भनेको पार्टी विधि र पद्दतिअनुसार नचल्नु हो र व्यक्तिवादी प्रवृत्ति हावी हुनु हो । इतिहासमा पार्टी सभापति शेरबहादुर देउवाको काङ्ग्रेस पार्टीको जीवनमा ठूलो योगदान दिएका होलान् तर अब भने उनीमा पार्टीभित्रको र समग्र काङ्ग्रेस जनको मनोभावना बुझेर गतिशील हुने क्षमता देखिएन । उनी शारीरिक र मानसिक दुबै रूपमा कमजोर बनिसकेका छन् । समयअनुसार आफूलाई अपडेट गर्न नसक्ता देउवा डेट एक्स्पायर औषधि बनिसकेका छन् । कुनै बेला उनी औषधि नै थिए तर अब डेट एक्स्पायर भए । यस तथ्यलाई उनले जति चाँडो बुझ्छन्, त्यति नै पार्टी र देशको हितमा हुन्छ । अयोग्य र भ्रष्टहरूको सल्लाहको पछि लागेर आफूलाई अझै निर्विकल्प ठान्ने दुस्साहस गरे भने त्यो काङ्ग्रेस पार्टीका लागि मात्र होइन, सिङ्गो देशकै लागि दुर्भाग्यको विषय हुने छ ।

देउवाले समयको माग बुझेर आफू अभिभावकीय भूमिकामा रहने निर्णय गरे भने यो उनको जीवनका लागि पनि हितकर हुन्छ । उनी आफैंले पार्टीको नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण गर्न सके भने उनी अरू पार्टीहरूका लागि पनि प्रेरणाका नजिर बन्न सक्छन् । अन्यथा उनलाई समयको हुण्डरीले उढाएर किनाराकृत गरिदिने छ । नेपाली काङ्ग्रेसको ऐतिहासिक गरिमा र जनभावनालाई बचाउन पनि त्यो रूपान्तकारी हुण्डरी आउन आवश्यक देखिन्छ ।

आफूलाई सधैं योग्य र निर्विकल्प देख्नु नै अयोग्य हुनुको पहिचान हो । आफूबाहेक अरूलाई जहिल्यै कनिष्ठ देख्नु व्यक्तिको अल्प ज्ञानको सूचक हो । कोइराला परिवारबाट काङ्ग्रेस सत्ता आफ्नो हातमा लिँदै गर्दा देउवाले कोइरालालाई जेजे आरोप लगाएका थिए, आज उनी तिनै पदचापहरूलाई पछ्याउँदै छन् । देउवाले आफूलाई सच्याउन अझै ढिलो भइसकेको छैन । पार्टीलाई कम क्षति गरेर उनी सच्चिने बाटोतिर गतिशील भए भने त्यो उनको पनि जित नै हुनेछ ।

 

 

 

सम्बन्धित समाचार