सन्दर्भ काङ्ग्रेसको केन्द्रीय समितिको बैठक : आक्रोसपूर्ण अभिव्यक्ति, शान्त समापन

नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठक झण्डै एक वर्षपछि बस्यो । बल्लबल्ल बसेको बैठक राष्ट्रिय मुद्दामा भन्दा पार्टी सभापति र महामन्त्रीद्वयको अन्तर सङ्घर्षका रुपमा केन्द्रित हुन पुग्योे । संस्थापन इतर पक्षका नेता भनेर चिनिने शेखर कोइरालाको भूमिका न यताको न उताको जस्तो देखियो । उनी बैठक स्थलको अन्तिम लाइनमा शान्त र मलिन मुद्रामा रहेर सभापति र महामन्त्रीेका बारेमा उठाइएका आवाजहरुलाई नियालीरहेको जस्तो मात्र देखिए ।

बैठकका ४ दिनमा १४० जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो विचार राखेका थिए । तर विचार भन्नुमात्र, आक्रोसपूर्ण अभिव्यक्ति बढी देखियो । बैठकमा क–कसले महामन्त्रीद्वयका पक्षमा र क–कसले सभापतिका पक्षमा कुरा राख्छन् भनेर लेखाजोखा गरेको जस्तो मात्र देखियो । बैठकमा बोल्ने लगभग १२५ भन्दा बढी सदस्यहरूले सभापति देउवाको लाइनमा आफूलाई उभ्याए भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको लाइनमा आफ्नो धारणा राख्नेहरूको सङ्ख्या सानो तर तीखो देखियो । सम्भवतः यस अवस्थाको पहिले नै आकल गरिसकेका पार्टी सभापति देउवाले आफ्नो लाइनभन्दा फरक विचार राख्नेहरूलाई केन्द्रीय सदस्याहरूले खुइल्याएको आम जनतालाई देखाउने उद्देश्यले नै बैठक लाइभ गराउने प्रपञ्च मिलाएका थिए । र, उनी आफ्नो योजनामा सफल पनि भए तर आम काङ्ग्रेसी मतदाताहरूले आफ्ना प्रतिनिधिहरूको हैसियत भने प्रत्यक्ष देख्न पाए ।



बैठक अवधिमा सभापति देउवा स्वयम् मौन रहे पनि उनको बोली बोल्न धेरै मुखहरू बैठकमा उपस्थित थिए । ती धेरै मुखहरूबाट महामन्त्री थापा र शर्माका विरूद्धमा फायर खोलियो । तर यसपटक देउवा आम अपेक्षाविपरीत शान्त मुद्रामा देखिए । केही युवा केन्द्रीय सदस्यहरूले उनको कार्यशैलीको विरोध गरे पनि उनले सुन्ने धैर्यता राखे र बैठकभरि शान्तपूर्वक बसे पनि । यसलाई कतिले देउवा बदलिन खोजेको पनि अर्थ लगाए ।

देउवाको कार्यशैलीविरूद्ध उठेका आवाजहरूलाई परास्त गर्नु नै कार्यसमितिको मुख्य उद्देश्य भएझैं बैठकमा समसामयिक राष्ट्रिय मुद्दाले प्रवेश नै पाएन । राष्ट्रिय सरोकारका मुद्दा उठाउँदा देउवाका प्रिय पात्र बालकृष्ण खाँडको नाम आउने भएपछि अरू मुद्दाहरू पनि ओझेलमा परे । राष्ट्रिय मुद्दामा काङ्ग्रेसको औपचारिक दृष्टिकोण पर्खेर बसेकाहरू सबै निराश बने ।

गगनको गगनभेदी आवाज :
संस्थापन पक्ष (देउवा पक्ष) का अधिकांश सदस्यहरुले महामन्त्री थापाका विरूद्धमा आक्रोशपूर्ण ढङ्गले जेजस्ता अभिव्यक्ति दिए पनि गगनको स्वर मलिन भएन । उनले पार्टी विधानअनुसार नचलाएको, सबैलाई समेटेर लान नसकेको, संगठन र भातृसंस्थाहरुलाई दुई वर्ष बित्नलाग्दा पनि पूर्णता दिन नसकेको, ठूला ठूला भ्रष्टचार काण्डमा मौन बसेको, भ्रष्टचारमा परेकालाई बचाउनतिर लागेको आदि फरक मत राख्दै पार्टी सभापतिकै अगाडि आफूले पहिले पनि संसदीय दलको नेता फेर्न प्रयास गरेको तर असफल भएको र अझै पनि संसदीय दलको नेता फेर्न प्रयास गरिरहने उद्घोष गरे ।

नयाँ ढङ्गले नयाँ पार्टीहरू उदाइरहेका परिप्रेक्षमा यथास्थितिवादी बनेर काङ्ग्रेसले आफूलाई स्थापित गर्न अबका दिनमा गाह्रो पर्ने देखिन्छ । समयको यस स्पन्दनलाई स्पर्श गरेर गगन र विश्वप्रकाशहरूले राखेको फरक मतहरू कतिलाई आफ्नो बिर्ता जाने डरले बिझाउने काँडाजस्तोे बने पनि यो समयको माग थियो । समयको आवाजलाई जति दबाउने प्रयास गर्यो, त्यो उति नै प्रखर बन्दै जाने हो । देउवालाई खुसी बनाएर दुनो सोझ्याउन चाहनेहरूले चाकडीको भाषा बोलेर तत्काल केही लाभ लिन सके पनि यसले पार्टीको सुदूर भविष्यलाई भने पक्कै पनि राम्रो गर्ने छैन ।

फरक मत राख्नेहरू :
बैठकको माहौल प्रतिकूल हुँदाहुँदै पनि केही सदस्यहरूले आफ्नो फरक अभिमत राख्न कञ्जुस्याइँ गरेनन् । जस्तै, मधु आचार्य, अजयबाबु सिवाकोटी, प्रकाश रसाइली, बद्री पाण्डे, जीवन परियार आदिले जोडदार रूपमा आफ्ना फरक विचारहरू राख्न सके । नेता अर्जुननरसिंह केसीले पनि पार्टी भ्रष्टचारको दलदलमा फसेको, विधि–विधानअनुसार पार्टी नचलेको, सभापतिले मनलाग्दो ढङ्गबाट पार्टी चलाएको जस्ता आरोप लगाउँदै आफ्ना भनाइ राखे । उनले कटाक्ष गरे– ‘सभापति भनेको एउटा संस्था हो, म संस्थालाई मान्छु तर व्यक्ति सभापतिलाई मान्दिन ।’

समापनको सुन्दर पक्ष :
श्रावण २ गतेदेखि आरम्भ भएको कार्यसमितिको बैठक १० गते समापन हुँदैगर्दा सन्तुलित र संयमित देखियो । राष्ट्रिय मुद्दाका सन्दर्भमा कूटनीतिक भाषाको प्रयोग गरिए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाशले राखेका प्रस्तावहलाई केही परिमार्जनसहित पारित गरियो । अर्को केन्द्रीय समितिको बैठक असोज २ गते गर्ने घोषणा गरियो । त्यस्तै बैठकले मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय पनि गरियो ।

जारी बैठकको अन्त्य गर्ने क्रममा फरक धारणा राख्नेहरूलाई सभापति देउवाले सातो लिनेछन् भन्ने धेरैको अड्कलबाजी थियो तर त्यसका विपरीत देउवाले बैठकमा आफूले सोचेभन्दा कम आलोचना भएको भन्दै सबैलाई धन्यवाद दिए । देउवाको यस कूटनैतिक जवाफलाई धेरैले आ–आफ्नै ढङ्गबाट बुझेका छन् ।

सम्बन्धित समाचार