अनाम शर्मा
काठमाडौं, २९ फागुन ।
नेपालको राजनीतिको केन्द्रीय नेतृत्वमा रहेर आलोपालो राज गरेका देउवा, दाहाल र ओली मिलेर गर्न चाहेको भए नेपालमा असम्भव के हुन्थ्यो होला र ? सोच्दा मात्र पनि मन रोमाञ्चित भएर आउँछ । मुलुकको विकास र समृद्धिको सवालमा यिनीहरू एक भएका भए आज नेपाल पनि छिमेकी मुलुक भारत र चीनको प्रगतिको हाराहारी पुग्थ्यो होला । नेपाली जनताले वास्तविक रूपमा आफ्नो पनि अवस्था परिवर्तन भएको प्रत्याभूति गर्थे होलान् । यिनै नेताको त्याग र तपश्याले गर्दा वर्षौंदेखिको विकासको तृष्णा मेटिएको अनुभव गर्थे होलान् । र, नेपाली जनताले घरघरमा उनीहरूको पूर्ण कदको फोटो राखेर बिहान बेलुका पूजा अर्चना गर्थे होलान् । उनीहरूलाई देख्दा/भेट्दा श्रद्धाले शिर झुकाउँथे होलान् । नेपालमा कुनै समय राजा पनि थिए भन्ने कुरा बिर्सिसक्थे होलान् ।
तर नेपाल र नेपालीको दुर्भाग्य, यी नेताहरू भ्रष्टाचार र कुशासनमा यसरी डुबे कि टेलिभिजनमा यिनीहरूको फोटो देख्तासमेत नेपालीको मनमा असीम घृणाभाव उत्पन्न भएर आउँछ । शालीग्राम भनेर वर्षौंदेखि पुजेको वस्तु केवल बगरको गुहे–ढुङ्गो सावित हुन्छ । स्वर्णिम विगत भएका यिनीहरू भ्रष्टाचारको दलदलमा डुबेर वर्तमानमा सिनोझैं गन्हाएको भान हुन्छ । सम्भवतः माल पाएर पनि चाल नपाएको भनेको यही होला । पुराणमा वर्णित भष्मासुरले अभिमानले मातेर आफ्नो शक्ति दुरुपयोग गर्दा आफैं भष्म भएको कथा देउवा, दाहाल र ओलीको सवालमा पनि कता कता मिलेजस्तो लाग्छ । हिजो उनीहरूको नाम लिँदा गर्व गर्नेहरू आज उनीहरूलाई सम्झिँदा पनि पीडाबोध गर्छन् ।
सरकार भत्काउने र बनाउने काममा यिनीहरू जति दत्तचित्त भएर लाग्ने गर्छन्, त्यसको सानो अंश मात्र देशको समृद्धिमा लगाएको भए लोकतन्त्र र गणतन्त्रको यो हदसम्म अपमान हुने थिएन । यी तीन नेताले गर्नुपर्ने केही गरेनन् बरू नगर्नुपर्नेचाहिँ धेरै गरे । वास्तवमा यिनीहरू वनमारा झारझैं भए, आफ्नो अराजक साम्राज्य फैलाउन सम्पर्कमा आएका सबै अरू बोटबिरूवालाई मारिदिए । यिनीहरूको चरित्रका कारण गणतन्त्रसँगै लोकतन्त्रप्रतिको आस्था र विश्वास पनि मरिरहेछ । यिनीहरूकै अकर्मण्यताका कारण बरू राजै ठीक भनेर राजाका पक्षमा नारा लाग्न थालेका हुन् । यी नेताहरूलाई चुनौती दिनैका लागि भए पनि जनता दुर्गा प्रसाईका वरिपरि भीड लाग्न बाध्य भएका हुन् ।
राजनीतिक दल र पहुँचका आधारमा कतिसम्म भ्रष्टाचार हुन्छ भन्ने पछिल्लो घटनाका रूपमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराहरूको सुन काण्डबाट ज्ञात हुन्छ । पुनको सचिवालयसमेत सुनकाण्डमा संलग्न भएको तथ्य बाहिरीसकेपछि यस घटनाबाट पूर्वउपराष्ट्रपति पुन पनि पूर्णतः अनभिज्ञ थिए भन्न सकिने अवस्था छैन । तर माओवादी कोटाबाट उपराष्ट्रपति बनेका पुनलाई माओवादीकै सरकार भएको अवस्थामा उनलाई अनुसन्धानको दायरामा ल्याउने ताकत कोसँग होला र ? कार्वाही त निरीहले मात्र भोग्नु पर्छ ।
एमाले कालमा विष्णु पौडेल, गोकुल बाँस्कोटा, महेश बस्नेत, काङ्ग्रेसको प्रभावमा आरजु राणा र बालकृष्ण खाँड, मोहनबहादुर बस्नेतलगायतले उन्मुक्ति पाइरहेको अवस्थामा माओवादीको प्रभाव रहेको अवस्थामा कृष्णबहादुर महरा बाबु–छोरा र नन्दबहादुर पुनका छोराहरूलगायतलाई अनुसन्धानको दायरामा ल्याउने अवस्था नै आउँदैन । सुशासनको कुरा त मिडियालाई दिइने सामग्री मात्र हो । क्यान्टोन्मेन्ट अनियमितता प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, विभिन्न समयमा भएका सुन काण्डहरू, वाइड–बडी काण्ड, गिरीबन्धु टी स्टेटको जग्गा काण्ड, यती–ओम्नीलगायतका ठूलाबढा सम्मिलित सबै काण्डहरू इतिहासको गर्तमा बिलाएर जानेछन् ।
शक्ति, पद र प्रतिष्ठाको दुरुपयोग गरेर देश र जनतालाई अपुरणीय क्षति पुर्याउन अनेक तिकडम गर्नेहरू नै बेलामौकामा मान–मर्यादा नपुगेको गुनासो गर्नेे गर्छन् । मान र मर्यादा चाहिने भने उनीहरूले आफ्नो चरित्रलाई उजिल्याउने कर्म गरी जनताको मन जित्न सक्नुपथ्र्यो । भ्रष्टाचारविरुद्धको थालनी आफैंबाट गर्नुपथ्र्र्यो, आफ्नै पार्टीबाट गर्नुपथ्र्यो । पदीय दुरुपयोग गर्ने र भ्रष्ट आचरण भएका जोसुकै भए पनि निर्मम भएर कडा कार्वाही गरी सुशासनको प्रत्याभूति दिलाउन सक्नुपथ्र्यो । मुखले चिल्ला कुरा गरेर भ्रष्टहरूलाई कुखुरीले चल्लालाई संरक्षण गरेझैं संरक्षण गर्ने हो भने नेताको आलोचना गरिने मात्र होइन, उनीहरूले लखेटिनुपर्ने दिन पनि आउन सक्छ । सबैले बुझ्नुपर्ने कुरा के हो भने जनतासँग कसैलाई सत्तामा पुर्याउन सक्ने सामथ्र्य हुन्छ भने उनीहरूलाई कुर्सीबाट गलहत्याएर सडकमा पुर्याउने शक्ति पनि हुन्छ । मानसिक रूपले तयारी भए हुन्छ ।