अनाम शर्मा
काठमाडौं, १२ चैत ।
मान्छेका आँखाको गज्जबको विशेषता हुन्छ । मान्छे आफ्ना आँखाले संसार हेर्न सक्छ तर आफ्नै अनुहारमा लागेको दाग देख्न सक्तैन । मान्छेले आफ्नो अनुहार हेर्नुपर्यो भने ऐनाको सहारा लिनुपर्छ । ऐना पनि सबै एकै खाले हुँदैनन् । कुनै ऐनाले मान्छेको अनुहार वास्तविकभन्दा नराम्रो, कालो र मधुरो देखाउँछ भने कुनैले वास्तविक जस्तो छ त्यस्तै देखाउँछ । कुनै ऐनाले चाहिँ वास्तविकभन्दा धेरै राम्रो, उज्यालो र आकर्षक देखाउँछ । मान्छेलाई तेस्रो खालको ऐना मन पर्छ र त्यस्तै ऐना किन्छ पनि । किनभने मान्छेलाई भ्रममा बाँच्न मज्जा आउँछ ।
यो प्रसङ्ग नेपालको राजनीतिसँग पनि ठ्याक्कै मिलेजस्तो लाग्छ । नेताहरू अर्को पार्टीको सामान्य कमीकमजोरी त देख्न सक्छन् तर आफ्नो पार्टीले गरेका ठूला ठूला काण्डहरू र अनियमितताहरू भने कहिल्यै देख्न सक्तैनन् । अरूलाई नैतिकताको पाठ पढाउनेहरू आफ्नो अनुहारमा लागेको कलङ्कको दाग देख्न सक्तैनन् । ख्वामितका वरिपरि घुम्ने फोहरी झिँगाहरूले ‘हजुरको दाग त के दाग, कस्तो सुहाएको छ । फलानाको अनुहारमा लागेको दाग पो दाग त, कस्तो घिनलाग्दोे !’ भनिदिएपछि ख्वामित प्रशन्न भएर गाोजीबाट प्याट्ट निकालेर लाभका पद दिइहाल्छन् । लाभका पदको लोभमा दरिद्र मनःस्थितिका व्यक्तिहरू आफ्ना ख्वामितलाई झुट कुरा गरेर भए पनि प्यारो बनिरहेका हुन्छन् ।
ख्वामित त स्वयम् देव अवतार भइहाले । देवताले गल्ती गर्नै सक्तैनन् । गरिहाले त्यो प्रभुको ‘लीला’ मात्र हुन्छ । प्रभुको लीलामा प्रश्न उठाउने अधिकार कसैसँग पनि रहँदैन । भक्तले नैवेद्य चढाएर परैबाट प्रभुलाई दण्डवत् गरेर आफ्नो बाटो लाग्ने हो ।
देउवा, दाहाल र ओलीहरू नेपाली राजनीतिका प्रभुका विभिन्न अवतारहरू हुन् । यिनीहरूबाट बेला बेला विभिन्न खालका लीलाहरू मञ्चन हुन्छन् । हालै मात्र प्रचण्डवतार प्रभुबाट अचानक नयाँ लीला मञ्चन भएको छ । यस लीलाबाट आफूलाई सत्ताको उत्तराधिकारी ठान्ने देउवावतार किनाराकृत भएर खिस्रिक्क परेका छन् तर सत्ताको उत्तराधिकारिको रोलक्रममा परेकाले ओलीवतार भने दङ्दास बनेका छन् । लीला शिरोमणि प्रचण्डवतारबाट कुन बेला, कुन बाहनामा कुन अर्को लीला मञ्चन हुने हो, कसैलाई थाहा हुँदैन तर तत्कालका लागि भने नेपालको राजनीतिमा एउटा नयाँ कोर्स आरम्भ भएको छ ।
अपेक्षाविपरीत सत्ताबाट अचानक बाहिरिनुपरेपछि काङ्ग्रेस आक्रोसित बनेको छ । सत्तामा रहुञ्जेल सबैतिर विकासको हरियाली नै हरियाली र सुशासन देख्ने काङ्ग्रेसले सत्ताबाट बाहिरिने वित्तिकै सबैतिर बेथिति र अनियमितता मात्र देख्न थालेको छ । काङ्ग्रेसका नजरमा अहिले नेपालमा बेथितिका नाइके रवि लामिछाने मात्र बन्न पुगेका छन् ।
रवि लामिछानेले गलत गरेका छन् भने उनले उन्मुक्ति पाउनु हुन्न तर काङ्ग्रेसको छातामुनि बेथिति र भ्रष्टाचारका ठूला ठूला पहाडहरू विराजमान छन् तर आफ्नै नजिकको पहाड नदेख्ने युवा काङ्ग्रेसहरूले जुम्ब्राजत्रो रविलाई मात्र बेथितिको नायक देखिरहेका छन् । आफू नाङ्गै बाटोमा उभिएर अर्कोलाई देखाएर कुरी कुरी भन्दैछन् । के बुझ्न कठिन छैन भने रविले काङ्ग्रेसको धोती खुस्काउनुअघि रविलाई नै गृहमन्त्रीबाट खुस्काउन सके ‘न रहेगा बाँस, न बजेगा बाँसुरी’ हुने ठहर उनीहरूको हुन सक्छ । उनीहरूको मनोबल उठाउन कान्तिपुर मिडिया ग्रुपले पनि बलियो साथ दिइरहेको छ ।
आफ्ना प्रभुलाई रिझाउन र आशीर्वाद पाउन काङ्ग्रेस संसदमा नयाँ नाटक मञ्चन गरिरहेको छ । प्रतिपक्षमा पुगेपछि सबैमा देशभक्तिको भाव सवार हुन्छ, र भइरहेछ पनि । कानुनको लौरो चलाए पनि रविको पालो त अन्तिमतिर मात्र आउने हो । त्योभन्दा पहिला हिजाका दिन संसदमा र संसदबाहिर उठेका सबै भीमकाया काण्डहरूको संसदीय सुनुवाई गर्ने हो भने क्रमशः रविको पनि पालो आउँछ र उनी पनि उम्कन पाउने छैनन् । तर बेथितिविरुद्ध रविको आक्रमण हुने डरले नै एकोहोरो उनको विरोध गर्न काङ्ग्रेस अलिकति लजाउनुपर्ने हो ।
विगतबाट नसिक्ने नेपालीको साझा रोग :
विगतबाट न मतदाताले सिके न त नेताले नै । प्रचण्डले धोका दिए भनेर देउवा रुँदै हिँड्नुको अर्थ छैन । प्रचण्ड अवसरवादी र धोकेबाज हुन् भनेर उनले आफूलाई छाडेर ओलीसँग टाँसिन पुग्दा र ओलीलाई छोडेर आफ्नो क्याम्पमा पुनः फर्केर आउँदा नै सोच्नुपर्ने हो । अर्कोलाई धोका दिनेले आफूलाई पनि फेरि धोका दिन सक्छ भनेर ओलीले पनि अहिले नै सोचे हुन्छ । र ओलीले नै पनि कुन बेला प्रचण्डलाई घोक्रेठ्याक लगाउने हुन् भन्न सकिन्न । दाहाल, ओली र देउवाले एकअर्कोलाई न धोका दिन बाँकी राखेका छन् न साथ दिन नै । कसले कसलाई कति धोका दियो भनेर हेर्दा डिग्रीमा मात्र फरक देखिएला तर यी तीनै नेताहरू देशले विश्वास गर्न लायक पात्र रहेनन् । यी तीनै जनाले आफ्नो गरिमा बचाउन नसकेकै हुन् । यति भन्न कुनै आग्रह वा पूर्वाग्रह चाहिँदैन । यो तथ्य जान्दाजान्दै पनि पटक पटक उनीहरूलाई नै मत दिने मतदाताहरूले पनि आफैंलाई धोका दिँदैछन् । मतदाताहरूले पनि विगतबाट पाठ सिक्न नसकेकै हो ।
नेताहरूको कुर्सी मोह र एकले अर्कोलाई प्रयोग गर्ने होडबाजीको जालमा परेर देश पीडित बनेको छ । छिमेकी देशहरू चीन र भारतले तय गरेको समृद्धिको मोडल हेरेर पनि हाम्रा नेताले केही सिक्नुपर्ने हो तर यिनीहरूले मतदातालाई भ्रमित पारेर देश दोहन गर्नबाहेक अर्थोक केही सिकेनन् । फेरि पनि उनीहरूबाट केही होला भनेर आशा गर्नु भनेको एक गफाडीले भनेझैं ‘बयल गाडामा चडेर अमेरिका जानु’ सरह हो ।
शुभ सङ्केत :
प्रचण्डले आफ्नै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरालाई र काङ्ग्रेका विनोद चौधरीलाई कानुनको दायरामा ल्याउनुलाई भने एउटा राम्रो शुरूवातका रूपमा लिन सकिन्छ । छोरी कुटेर बुहारी तर्साउनका लागि मात्र भए पनि यो एउटा शुभ सङ्केत हो । यस घटनालाई प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा देशबासीलाई दिएको सुशासनको वचनको प्रस्थान विन्दु मान्ने हो भने नारायणकाजीले खोलेका सबै फायलहरूको पनि निष्पक्ष र तटस्थ भएर छानविन हुन जरुरी छ । प्रचण्ड र ओली मिलेर सुशासनका लागि दरिलो पाइला चाल्ने हो भने असम्भव केही छैन । इतिहासले उनीहरूको सत्कर्मको उच्च मूल्याङ्कन गर्ने छ र जनतालाई पनि यस गठबन्धनले सार्थकता पाएको महसुस हुने छ । अनि, नेपाली जनताले उनीहरूको विगतका कुकर्मलाई बिर्सेर हृदयदेखि नै उनीहरूको जय गान गर्नेछन् । यस अभियानमा रवि पनि एउटा बलियो खम्बा बन्न सक्छन् ।
अझै पनि एउटाले अर्कोलाई प्रयोगमात्र गरिरहने हो भने हुनेवाला केही छैन । ल मानौं, प्रचण्डको ठाउँमा ओली वा देउवा आए रे, देशले के पाउँछ त ? पाउने भए हिजो यिनीहरू पटक पटक प्रधानमन्त्रीको कुर्सीमा बसेको बेला पाइहाल्थ्यो नि ! प्रवृति र नियती उही बोकेका व्यक्तिको परिवर्तनले मात्र केही हुनेवाला छैन । यसले आम जनताको भोगाइ र अवस्थामा कुनै तात्विक परिवर्तन पार्नेवाला छैन ।
यथार्थमा, दिमागी विमारी नेताहरू रहुञ्जेल गफको समृद्धिबाहेक वास्तविक रूपमा केही हुने छैन । यिनीहरूको सल्लाहकार किचेन क्याबिनेटमा पनि कोही गर्व गर्न लायक असल र भिजन भएका व्यक्तिहरू छैनन् । चाटुकार र दास मनोवृत्तिका कार्यकर्तालाई आफ्ना ख्वामितहरूको स्तुति गरेर लाभ लिनलाई मात्र आउँछ, स्तुतिले मात्र देश बन्दैन । छिमेकी देशहरू साक्षी छन्, उनीहरूले पाइरहेको समृद्धि भिजन र भिजन पूरा गर्ने इच्छाशक्तिले हो, स्तुतिले होइन ।।