बन्चरेडाँडामा पत्रकारलाई प्रवेशमा रोक, नेता केसी भन्छन् ‘सूचनाको हकलाई कुण्ठित गर्न खोजियो’

वर्षौं पहिलेदेखि नै काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा लापर्वाही हुँदै आएको छ । फोहर व्यवस्थापनको समस्याभन्दा पनि अहिले यो विषय राजनीतिकरण भएर आलो घाउजस्तो बनिरहेको छ । पहिले सिसडोलबासीमा सीमित बनेको आलो घाउ अहिले बन्चरेडाँडासम्म फैलिएको छ । यसको दुस्प्रभाव आसपासका क्षेत्रहरूमा पनि परिरहेको छ तर पनि दीर्घकालीन समाधानका लागि सर्वदलीय सहमति र सम्बन्धित निकायहरूबीच समन्वय हुन सकिरहेको छैन ।

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका नाममा विभिन्न निकायबाट धेरै पैसा बगिसकेकोे भए पनि न ल्याण्डफिल साइड व्यवस्थित बनेको छ, न सिसडोल र बन्चरेडाँडा फोहमैलापीडितहरूले नै राहत पाएका छन् । यसै विषयमा धेरै पटक मिटिङ र सेमिनारहरू पनि भए तर पनि उपलब्धि भने शून्य बराबर बन्न पुग्यो । काठमाडौं उपत्यकाबासीहरूको फोहरमैलाको भारी बोक्न बाध्य सिसडोल र बन्चरेडाँडाबासीको अवस्था भने दिनानुदिन दयनीय बन्दै गएको छ । उनीहरूको हारगुहार र क्रन्दनलाई सम्बन्धित निकायले नसुनेजस्तो बहाना गरिरहेको छ ।



सिसडोलबाट फोहरमैला बन्चरेडाँडामा विसर्जन गर्ने निर्णय गर्दैगर्दा बन्चरेडाँडामा हुने डम्पिङ साइड पचासौं वर्षसम्मका लागि ढुक्क हुने भनिएको थियो तर डम्पिङ व्यवस्थित हुन नसक्दा दुई वर्ष नपुग्दै लथालिङ र भताभुङ्ग हुन पुगेको छ । अव्यवस्थित रूपमा डम्प गरिएको फोहरमैला साना साना पहाडजस्ता बन्न पुगेका छन् भने त्यहाँबाट चुहिएको लिचेडको दुर्गन्धले स्थानीयलाई बसिनसक्नु बनाएको छ । शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीचको समन्वय र उचित व्यवस्थापनको अभावमा प्रभावित क्षेत्रका बासिन्दाहरू श्रापित बन्न पुगेका छन् ।

पछिल्लो तनाव र पत्रकारलाई रोक :
प्रभावित क्षेत्रका स्थानीय जनता र सरकारका बीच पटक पटक गरेर १७५ भन्दा बढी पटकसम्म छलफल र सम्झौता भए पनि उपलब्धि शून्य बराबर भएपछि स्थानीयहरू पुनः आन्दोलित बनेका छन् । उनीहरूले पहिले नै चैत्र २४ गतेबाट वार कि पारको आन्दोलन गर्ने भनेर जानकारी गराएर उक्त दिन स्थानीयहरू बन्चरेडाँडा ल्याण्डफिल साइटमा जम्मा भएका थिए । यसरी आफ्नो पीरमर्काको जानकारी गराउन भेला भएका स्थानीय पीडितहरूमध्ये बन्चरेडाँडा ल्याण्डफिल साइट सरोकार समितिका संयोजक श्रीराम ढुङ्गानासहित २० जना स्थानीयहरूलाई प्रहरीले धरपकड गरी साँझ छोडेको थियो ।

बन्चरेडाँडा ल्याण्डफिल साइटको स्थलगत रिपोर्टिङ गर्न शनिवार बन्चरेडाडाँ पुगेका पत्रकारहरुलाई काठमाडौं महानगरका कर्मचारीहरूले ल्याण्डफिल साइट प्रवेशमा रोक मात्र लगाएनन्, उनीहरूमाथि आक्रमण गर्ने प्रयास पनि भयो । त्यहाँ उपस्थित प्रहरी रमिते बन्यो । पत्रकारहरू सडकमा नै पलेँटी कस्न बाध्य भए ।

त्यही समय स्थलगत अवलोकनको लागि ल्याण्डफिल साइट बन्चरेडाँडा पुगेका नुवाकोटका सासंद अर्जुननर्सिङ्ग केसीलाई भने ल्याण्डफिल साइटभित्र प्रवेश गर्न रोक थिएन तर पत्रकारलाई प्रवेश गर्न नदिएपछि उनी पनि पत्रकारसँगै सडकमा पलेँटी कसेर बसे । फोहोर कसरी व्यवस्थापन भइरहेको छ भन्ने जान्न पाउने नागरिकहरूको सूचनाको हकलाई काठमाडौं महानगरले कुण्ठित गर्न खोजिएको प्रति सांसद केसीको गम्भीर ध्यानार्कषण भएको पत्रकारहरूलाई बताए । काठमाडौं महानगरको यस कदमको सांसद केसीले निन्दा र भत्सर्ना पनि गरे । सांसद केसीले सूचनाका संवाहक पत्रकारहरूलाई रोक्ने मेयर बालेन्द्र शाहको कदमप्रति असहमति जनाउँदै भने– ‘देशको चौथो अङ्ग पत्रकारहरुलाई निषेध गरेर हामी कुन लोकतन्त्रको अभ्यास गर्दैछौ ?’

सम्बन्धित समाचार