अलपत्र परेका पर्यटकको उद्धारमा सक्रिय पर्यटक प्रहरी

घटना: १
२०८० मङ्सिर २५ गते काठमाडौं फर्पिङमा एक जना ३३ वर्षीय फिनिस नागरिक बेवारिसे अवस्थामा फेला परे । उनको मानसिक अवस्था पनि ठिक नभएको थाहा हुन आयो । उनलाई पर्यटक प्रहरीले तत्काल उद्दार गर्‍यो । रिप्पा सिद्धि योग संगठन डल्लु फर्पिङसँगको समन्वयमा उनलाई सोही संगठनको गुम्बामा राखियो । ती फिनिस नागरिक मङ्सिर २९ गते गुम्बाबाट भागेको खबर प्राप्त भयो । तत्काल खटिएको पर्यटक प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं ठमेलमा फेला पारी उद्दार गर्‍यो । उनलाई आवश्यक प्रक्रिया पूरा गरी नेपालस्थित फिनल्याण्ड दूतावास र ती विदेशी नागरिककी आमासँगको समन्वयमा एअर इन्डियाको उडानद्वारा स्वदेश फिर्ता पठाइयो ।

घटना: २
२०८० चैत १४ गते बेलायती नागरिक ६५ वर्षीया टेरे जुवानिता बटलर भिसा नवीकरण नगरी गैरकानुनी रुपमा नेपालमा बसिरहेको अवस्थामा पर्यटक प्रहरीले काठमाडौं बौद्धमा फेला पार्‍यो । उनको सन् २०२२ अक्टोबर २७ मा भिसा समाप्त भइसकेको रहेछ । उनी भिसा नवीकरण नगरी गैरकानुनी रुपमा नेपालमा बस्दै आइरहेको पुष्टि भयो । उनलाई पर्यटक प्रहरीले आवश्यक कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौंमा बुझायो ।



यी दुई विदेशी नागरिकको घटना प्रतिनिधि घटना मात्र हुन् । यसरी अलपत्रमा परेका तथा बिरामी भएका १२ जना विदेशी नागरिकलाई चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा पर्यटक प्रहरीले उद्दार गरी स्वदेश फिर्ता पठाएको छ । यसै गरी सो अवधिमा गैरकानुनी रुपमा नेपालमा बसेका ८ जना विदेशी नागरिकलाई आवश्यक कारबाहीका लागि पर्यटक प्रहरीले अध्यागमन विभाग बुझाएको छ ।

नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकहरूको सेवा, सुरक्षा एवं आवश्यक सूचनाहरू उपलब्ध गराउने उदेश्य सहित विसं २०३५ माघ १२ गते पर्यटक प्रहरीको स्थापना भएको हो । नेपाल प्रहरीको विशेष इकाइको रुपमा रहेको पर्यटक प्रहरी हाल काठमाडौं उपत्यकाको १० ठाउँमा र उपत्यका बाहिर १२ जिल्लाका १९ ठाउँमा विस्तार भई काम गर्दै आएको छ ।

पर्यटक प्रहरीको सेवा विस्तार र भावी रणनीतिका सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “पर्यटक प्रहरीले गरेको कामको देश विदेशमा समेत प्रशंसा भइरहेको छ । पर्यटकसँग सम्बन्धित मुद्दा दर्तादेखि फैसला कार्यान्वयनसम्म सम्पूर्ण अनुसन्धान गर्न सक्ने पर्यटक प्रहरी कार्यालयको रुपमा विकसित गर्दै लैजाने नेपाल प्रहरीको नीति छ । प्रमुख पर्यटकीय स्थलको पहिचान र अपराधको विश्‍लेषण गरी प्राथमिकता अनुसार क्रमश: पर्यटक प्रहरीको स्थापना गर्नका लागि आवश्यक प्रकृया अगाडि बढाइने नीति छ । भौतिक संरचना व्यवस्थापन, समयानुकूल प्रविधिमैत्री सेवा, दोहोरो वार्तालापका लागि भाषागत व्यवस्था र तुरुन्त परिचालनका लागि थप सवारी साधनको व्यवस्था गर्न प्रहरी संगठन लागीपरेको छ ।”

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पर्यटकसँग सम्बन्धित ३७० वटा उजूरीहरु परेका छन् । ती मध्ये सामग्री हराएका २७३ वटा, चोरीका ४९ वटा, ठगी गरेका ११ वटा, लुटपाट ५ वटा, अभद्र व्यवहार १७ वटा, आक्रमणका २ वटा, दुर्घटनाका २ वटा, धाकधम्की १ वटा, मानिस हराएको ४ वटा, दुर्व्यवहार १ वटा र अपहरणका १ वटा रहेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ७९ वटा, आर्थिक वर्ष २०७८/०७९ मा १८० वटा र आर्थिक वर्ष २०७९/०८० मा ५३२ उजूरी परेका थिए । यी आर्थिक वर्षको तथ्याङ्क विश्‍लेषण गर्दा डकुमेन्ट र सामग्री हराएको संख्या सबैभन्दा बढी देखिन्छ ।

पर्यटक प्रहरीले पर्यटकहरूलाई पर्न आएका समस्या, दु:ख, पिरमर्का, हैरानी तथा गुनासाहरू समयमै समाधान गर्ने गर्दछ । पर्यटकको नेपाल बसाइँ सुरक्षित तथा भयरहित रहेको अनुभूति दिलाउन र पर्यटन विकासमा टेवा पुर्‍याउन पर्यटक प्रहरी सक्रिय छ । पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर भन्नुहुन्छ, “पर्यटकलाई आवश्यक सूचना प्रदान गर्ने, पर्यटकीय क्षेत्रमा नियमित गस्ती गर्ने, पर्यटकलाई आवश्यक सहयोग गर्ने र पर्यटन क्षेत्रमा अभद्र व्यवहार, अश्‍लिल तथा अवाञ्क्षित क्रियाकलाप गर्नेलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सम्बन्धित कार्यालयमा पठाउने गरिएको छ । घटना, दुर्घटना, प्रकोप एवं पर्वतीय तथा सहासिक पर्यटनका क्रममा स्वास्थ्य लगायत अन्य कारणले अलपत्र परेका पर्यटकहरुको खोज तथा उद्दार गरी सम्बन्धित निकाय, दूतावास वा आफन्तसँग सम्पर्क गर्ने/गराउने र पर्यटन क्षेत्रमा आईपर्ने हरेक कार्य सक्रिय भई सम्पन्न गर्दै आएका छौं ।”

विरानो देशमा आउँदा अचानक आइपर्ने यस्ता समस्या र गुनासोहरू पर्यटक प्रहरीबाट तत्काल सुनुवाई भई समाधान हुने गरेको छ । यस्ता समस्या भएमा हटलाइन नम्बर ११४४ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ । पर्यटक प्रहरीको छिटोछरितो, आत्मिय र सुरक्षित सेवाबाट पर्यटकहरू खुसी हुने गरेका छन् । कामको सिलसिलामा आइपर्ने चुनौती सामना गर्न पर्यटकको भरपर्दो अभिलेखीकरण गरी तत्काल समस्याको सम्बोधन गर्न सक्ने संयन्त्रको विकास गर्नुपर्ने देखिन्छ । प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकाल भन्नुहुन्छ, “नेपालबारे अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश जाने गरी काम गर्न पर्यटक प्रहरी सक्रिय छ । यसका लागि पर्यटक प्रहरीलाई आवश्यक तालिम दिने गरिएको छ । सम्पूर्ण पर्यटक प्रहरी कार्यालयहरूको स्थापनाको औचित्य पुष्टि, पहिचान, स्तरोन्नति र व्यवस्थित गर्ने काम भइरहेको छ ।”

पर्यटन सम्बद्ध सरोकारवालाहरूसँग समन्वय गरी नेपाल प्रहरीले उत्कृष्ट नतिजा दिने गरी काम गरिरहेको उहाँको भनाइ छ ।

सम्बन्धित समाचार