सपना (कथा)

पाटन अस्पताल जाने क्रममा म लगनखेलमा उत्रिएँ । टेम्पोको पिरो धुवाँले आँखामा केही दुष्प्रभाव पारेकोले म गोजीको रूमाल झिकेर आँखा–मुख पुच्दै अस्पतालतिर लम्कन मात्र के लागेको थिएँ , ठीक त्यतिबेला एउटा मान्छे चिच्याएको आवाज मेरो कानमा पर्यो । मैंले आवाज भएको दिशातिर हेरेँ, अस्पताल छिर्ने मार्गभन्दा केही पर बाटोको किनारामा केही मान्छेहरूको घेराभित्र अर्को मान्छे जोडले कराउँदै आफ्ना कुरा त्यहाँ उपस्थित जनसमुदायलाई सुनाउदै थियो । अनायसै मेरा पाइला त्यतैतिर बढे ।

हातमा पत्रिकाको मुठो च्यापेको, कपाल र अनुहार अस्तव्यस्त भएको, कति दिनदेखि दाह्री नकाटेर झुस्स परेको, कपडा पनि नमिलाइकन लगाएको तर कुनै कुलीन परिवारको जस्तो देखिने करिब ३५–४० वर्षको त्यो मान्छे उसले बोकेका पत्रिकाहरूतिर सङ्केत गर्दै त्यहाँ उभिएका सम्पूर्ण मान्छेहरूलाई सम्बोधन गरेझैं गरेर भन्दै थियो– ‘हेर्नुहोस् दाजुभाइहरू, यी पत्रिकामा छापिएका सबै मान्छेहरू फटाह हुन् । यी प्रत्रिका प्रकाशन गर्ने मान्छेहरू पनि फटाहकै मतियार हुन् र यस्ता पत्रिका खोजी खोजी पढ्ने पाठकहरू पनि फटाहकै सहयोगीहरू हुन् । यहाँ सद्दे मान्छे थोरै मात्र छन् । इमान्दार मान्छेको अनिकाल लागेको छ । यहाँ आचरणले नेता भनिनलायक कोही छैनन् । बरू यहाँ त नेताहरूभन्दा अभिनेताहरू बढी छन् । यहाँ स्वाभाविक चरित्रका भन्दा बहुरूपीयाहरू बढी छन् । बाहिर हेर्दा जे देखिन्छ, त्यो सत्य होइन, बाहिर जे बोलिन्छ त्यो यथार्थ होइन । यहाँ प्रत्येक व्यक्तिको देखिने रूपभन्दा यथार्थ रूप अर्कै छ । झुटको खेती गर्नेहरू र सपना बेच्नेहरूको बोलाबाला छ । यहाँ जो जिता वही सिकन्दर, जित्नेहरूकै प्रशंसा हुन्छ । धिक्कार छ, तपाईहरू पनि जो आँखा भएर पनि अन्धा हुनुहुन्छ । गति भएर पनि गतिहीन हुनुहुन्छ । दिउँसै निदाउनुहुन्छ र आफ्नै बारीमा आएर साँढेले तपाईको सम्पूर्ण फसल नष्ट गरिदिँदा पनि चाल पाउनु हुन्न । खै तपाईहरू कहिले ब्युँझनुहुन्छ ? तपाईहरूले आफुलाई कहिले सुरक्षित राख्नुहुन्छ ?’



यति भनेर त्यो मान्छेले ठूलाठूला आँखा लगाएर सबैलाई एकपल्ट नियाल्यो र फेरि अट्टाहासपूर्ण हाँसो हाँस्यो र आफुले मुठो पारेर च्यापेको पत्रिकालाई भुइँमा फ्यात्त फ्याँक्तै भन्यो– ‘ल चिन्नुहोस् यो देशको धमिराहरूलाई । विज्ञानले बढो उन्नति गरेको छ भनेर तपाईहरूले पढ्नु होला, गर्व गर्नुहोला तर खै यस्ता धमिरा मार्ने औषधी बनाउन सक्यो तपाईको विज्ञानले ? तपाईले पाएको शिक्षाले खै तपाईलाई जगाउन सक्यो ? खै तपाईको अन्तरमनले आँखा खोल्न सक्यो ? यहाँ साच्चै निदाउने भन्दा निदाएको अभिनय गर्नेहरू बढी छन् । यहाँ पेटका भोकाभन्दा मानसिक भोका बढी छन् । र, सायद तपाईहरू पनि मानसिक भोको हुनुहुन्छ र आफ्नो प्यास मेटाउन अर्काको पानीको धारो भत्काउँदै हुनुहुन्छ वा प्रयत्नशील हुनुहुन्छ । जानोस् आफ्नै शरीरमा बसेर आफैंलाई नष्ट गर्ने कीटाणु नदेख्ने तपाईका आँखाले विश्व विजयको सपना बोकेर भट्टीमा पस्नोस् र नेपोलियन बन्नोस्, निहितस्वार्थका लागि देशलाई दाउमा लगाएर बीपी कोइराला र मदन भण्डारीले नदेखेको सपना देख्नुहोस् । आखिरमा प्रजातन्त्र र मानवअधिकार तपाईहरूकै परिभाषाको बन्दी त भए नि, होइन र ?’

त्यो बहुलाजस्तो देखिने मान्छे के के भन्दै जान्थ्यो ती सबै कुरा बुझ्ने सामथ्र्य ममा थिएन तैपनि त्यस मान्छेको अभिव्यक्ति मलाई बढो रोमाञ्चक लागिरहेको थियो । उसको बहुलठ्ठीपनका कुरा सुन्नेहरूको भीड कहिले केही बाक्लो हुन्थ्यो भने कहिले केही पातलो बन्दथ्यो । त्यो मान्छे को हो र कहाँबाट एकाबिहानै त्यहाँ आएर कराउन थाल्यो होला भन्ने जिज्ञासा मलाई नलागेको होइन तर त्यस भीडमा सोध्न मिल्ने उपयुक्त पात्र पाउन सकेको थिइनँ । मलाई त्यस मान्छेको बोलीमा भएको चुम्बकीय जादुले तानिरहेको थियो । म आफ्नो लक्ष्य बिर्सेर त्यस मान्छेका कुरा सुन्दै थिएँ र म चाहन्थें  त्यो मान्छे नरोकिइकन बोलिरहोस् किनकि त्यस मान्छेका बोलीमा अरू धेरैको भावना मिश्रित भएझैँ लाग्दथ्यो । कुनै दार्शनिकझैँ उच्च बाैिद्वक कुरा गर्ने त्यो मान्छे साधारण मान्छे मात्र पक्कै होइन भन्ने मलाई लागिरहेको थियो ।

नभन्दै त्यो मान्छे केहीबेर रोकिएर एउटा युवकतिर लक्ष्य गर्दै भन्न लाग्यो– ‘हे युवा तपाई हातभरि यति धेरै किताब बोकेर कहाँ जान लागेको ? अर्काको विचार पढ्दा पढदै तपाई आफुले विचार गर्न नै त भुल्नु भएको छैन् ? पहिले तपाई आफुले आफैँलाई पढ्नुहोस् । परिवार पढ्नुहोस् ,आफ्नो समाज पढ्नुहोस्, अनि आफ्नो देशलाई पढ्नुनोस् । त्यहाँ तपाई अनन्त ज्ञानराशि पाउनुहुनेछ । वास्तवमा तपाई आफैं एउटा पुस्तक हो, तपाई आफुले आफुलाई नपढी दुनियाँ बुझ्न सक्नुहुन्न । तपाई अहिलेसम्म अरूका विचारको भारी बोकेर हिँड्नुहुन्छ ? त्यसैले यी किताब फ्याँकेर पहिले आफैंलाई पढ्नोस्, जीवन बुझ्नुहोस्, तपाई आफैं महान् बन्नुहुनेछ । ल जानोस् ।’ त्यस मान्छेका कुरा बुझिने खालका थिएनन् तर पनि केही बुझेजस्तो लाग्दथ्यो । त्यस मान्छेले लक्ष्य गरेको त्यो युवक विचरा लाजले कालो निलो भएर भीडबाट पछि सर्दै बाटो ततायो ।

अब त्यो मान्छे कसलाई के भन्ने हो भनेर सोच्दै थिएँ, ठीक त्यही बेला मानसिक अस्पतालबाट ३–४ जना मान्छेहरू आएर त्यो मान्छेलाई समाएर लैजाने प्रयत्न गर्न थाले । बल्ल मैले अर्थ लगाएँ : त्यो मान्छे मानसिक सन्तुलन बिग्रेर अस्पताल भर्ना गरेको र सबैले पागल घोषित गरेको मान्छे पो रहेछ । ऊ मानसिक अस्पतालबाट भागेर त्यहाँ आई भाषण छाँट्दै रहेछ ।

जब अस्पतालका मान्छेले उसलाई समाएर लैजान प्रयत्न गर्न थाले, त्यो मान्छे केही विचलित नभईकन ती मान्छेलाई भन्दैगयो ‘तिमीहरू मलाई कहाँ लैजान खोज्दै छौ ? म पागल होइन, पागल त तिमीहरू हौ, तिमीहरू ! तिमीहरू सद्देलाई पागल र पागललाई भलाद्मी बनाउँछौ । जसलाई पागलखानामा लैजानु पर्ने हो अथवा चिडियाखानामा लैजानु पर्ने हो, तिनीहरू ठूलाठूला पदमा बसेका छन् । उनीहरूको पागल व्यवहार देखेर पनि पागल भन्ने हिम्मत कोही गर्दैनन् किनकि उनीहरूसँग शक्ति छ । शक्तिहीन मात्र यहाँ पागल हुन्छन् । छोडिदेओ मलाई, म यहीँ बाटोमा बसेर आफ्नो मनको तीतो पोखिरहन्छु । हुनसक्छ, कुनैदिन यही बाटो भएर कुनै बुद्व शान्तिको सन्देश लिएर आउन सक्नेछन् । फाटेको टोपी लगाएर कुनै माक्र्स यही बाटोमा ठेला चलाउदै आउन सक्नेछन् । यही बाटो कुनै कृष्ण अर्जुनको सारथि बनेर गीताका ज्ञान छर्दै आउन सक्नेछन् । मलाई छोडिदेओ, म उनीहरूलाई यहीँ पर्खन्छु, यहीँ प्रतीक्षा गरिरहन्छु । मेरो मुख बन्द नगर, हजारौं मान्छेको भीडमा एउटा असल मान्छेले मात्र पनि मेरो कुरा बुझिदिने हो भने मेरो लक्ष्य पुरा हुनेथियो म…।’ त्यो मान्छेको कुरा पुरा हुन नपाउँदै उसलाई गाडीमा हालेर अस्पतालका मान्छेले लगे । हामी रानी हराएको माहुरी बन्यौँ । एकछिनमा त्यो भीड बिलायो । म पाटन अस्पतालतिर छिरें ।

कल्पना मेरी अन्तरङ्ग मित्र हुन्, महिला साथी हुन् । आधुनिक भाषामा भन्दा उनी मेरी गलफ्रेण्ड हुन् । स्कुल पढ्दादेखि नै उनी र मबीच दौत्यसम्बन्ध कायम भएको थियो । कल्पनाको विवाह उनको इच्छाविपरीत भयो तर विवाहपछि पनि हाम्रो सम्बन्धमा कुनै किसिमको पातलोपन आएन । उनका श्रीमानले बेलाबेला हामीबीच सीमा विवाद उठाउने गर्थे तर कल्पना र मेरो समझदारीले त्यो विवाद त्यसै निस्तेज हुन्थ्यो । विवाहको केही समयपछि कल्पनालाई लिएर उनका श्रीमान् राजधानीमा गएर बस्न लागे । म पनि संयोगले जागिरको सिलसिलामा राजधानी नै पुगेँ । कल्पना र मेरो सम्बन्ध पुनःनवीकरण भयो । यो कुरा कल्पनाका श्रीमाान्लाई असैह्य भयो तर पनि उनी लाचार छायाझैँ बने, किनकि उनी मसँग सोझै दुश्मनी गर्न पनि सक्तैनथे र र कल्पनालाई मेरो सम्पर्कमा आउनबाट रोक्न पनि सक्क्तैनथे । कल्पना उसको सुनको पिँजडा छाडेर जाली भन्ने सन्त्रासले उनको श्रीमान् कल्पनाको भावनाविपरीत कुनै कदम चाल्न सक्क्तैनथे ।

अति भएपछि उनी आफ्नो मनको पिडा लुकाउन धेरै पिउन थाले । एकदिन एउटा पार्टीमा कल्पनाका श्रीमानले तनावै तनावमा खुब पिएछन् । त्यो पार्टीमा कल्पना पनि सँगै रहिछन् । पार्टी सकेर आफ्नो कोठातिर फर्किने क्रममा कोटेश्वर चोक नजिकै उनीहरू दुबैजना मोटरसाइकल दुर्घटनामा परे ।  दुर्भाग्यबस् कल्पनाका श्रीमानको तल्कालेै निधन भयो । मोटरसाइकलको पछाडि बसेकी कल्पनाको टाउकोमा पनि ठूलो चोट लाग्यो र उपचारार्थ पाटन अस्पताल लगियो । त्यसदिनदेखि पाटन अस्पतालमा कल्पनाको लगातार उपचार भइरहेछ । दिमागमा गहिरो असर परेकाले बाँचे पनि कल्पनामा केही असामान्य परिर्वतन हुनसक्ने सङ्केत डाक्टरले दिएका छन् । म एक–दुई दिन बिराएर उनलाई भेट्न जाने गर्छु । कामको व्यस्तताले यसपटक भने केही विलम्ब भएको थियो ।

म अस्पतालको क्याविनमा पुग्दा कल्पना बेडमा थिइनन् । उनी क्याविनको झ्यालनजिकै गएर झ्यालको पर्दा हटाइ बाहिरको दृश्य हेर्दै थिइन् । मैले कोठामा पाइला राख्ने बित्तिकै उनी पछि नफर्कीकनै गुनासो गरिन ‘आज किन ढिलो गर्नुभयो हजुर ? म लामो समयदेखि तपाईको प्रतीक्षा गरिरहेकी थिएँ ।’ उनको मधुर बोलीमा पर्खाइको बेदना लुकेको थियो । हो, कसैलाई प्रतीक्षा गर्नु पट्यारलाग्दो मात्र हुँदैन ,पीडादायक पनि हुन्छ । एक घण्टाको पर्खाइ पनि महिनौंजस्तो लाग्नसक्छ । अतः मैले सहजै आफ्नो भुल स्वीकार गर्दै भनें ‘हेर न कल्पु,गर्दागर्दै केही विलम्ब भयो । आई’म् सो सरी ।’ त्यसपछि मैले बाटामा भएको त्यो कथित् पागल मान्छेको घटना सुनाएँ ।

कल्पना मेरो नजिकै सोफामा आएर बसिन् र मेरा कुरालाई ध्यानपूर्वक सुनेर भनिन्– ‘वास्तवमा त्यो मान्छे पागल होइन । मेरा विचारमा त्यो मान्छे जिसस् क्राइष्ट वा कुनै बुद्वको प्रतिनिधि नै हुनुपर्छ । उसले जे बोल्यो सत्य बोल्यो, त्यसैले उसलाई पागल भनियो । अहिले स्वयम् गौतम बुद्व नै यहाँ आए पनि यहाँका मान्छे उसलाई पागल घाषित गरेर पागलखाना पठाउनेछन् । अथवा मूर्खहरूले ढुङ्गाले हानेर खेदाउनेछन् । जिउँदो हुँदासम्म यहाँ कहिले कसको वास्तविकता मूल्याङ्कन हुन सकेको छ र ? साँचो, सत्य बोल्ने र इमान्दार मान्छेलाई यो समाजमा पागल नै भनिन्छ ।’

कल्पनाले त्यसमान्छेप्रति गरको टिप्पणीलाई मैले न पूर्ण समर्थन नै गर्न सकेँ, न त सटीक खण्डन नै । मैले केवल प्रसङ्ग बदलेँ ‘कल्प ुतिमीलाई आज कस्तो छ ? सधैँभन्दा आज तिमी केही प्रशन्न मुद्रामा देखिन्छ्यौ नि । शारीरिक पीडा केही कम भएजस्तो छ नि, हो ?

मेरो प्रश्न सनेर कल्पना मुसुक्क मुस्काइन् । उनले क्याविन कोठाको ढोका बन्द गरिन् र पूर्ववत् ठाउँमा आएर बस्तै भनिन् ‘राजा, अब म प्रशन्न हुनु र नहुनुमा अथवा पीडित हुनु वा पीडामुक्त हुनुमा खास्सै केही अन्तर छैन । चोरेर पाएको खुसी र लुटेर ल्याएको हासोँमा स्थायित्व हुँदैन । तर पनि जबसम्म म तपाइको निकता पाइरहन्छु, तपाईको चोखो माया पाइरहन्छु, तबसम्म मलाई केही गुमाएर पनि केही पाए जस्तो भइरहन्छ, असीम वेदनाभित्र पनि केही सन्तोष मिलेजस्तो भइरहन्छ । बाँचुञ्जेल हामीले प्रेमको पवित्र संसारलाई स्वतन्त्र रूपमाा विचरण गर्न सकेनौँ । हामी आशङ्का, त्रास र भयको घेराभित्र रहन बाध्य भयौँ । सायद मान्छे चेतनशील प्राणी भएकै कारण यति लाचार पनि भएको होला, चेतनशील भएकै कारण यति धेरै स्वार्थी पनि भएको होला । मान्छेहरू भन्ने गर्छन्– प्रेम निस्वार्थ हुन्छ, तर मलाई लाग्छ प्रेममा झन् बढी स्वार्थ हुन्छ । स्वार्थरहित प्रेम प्रेम हुनै सक्दैन । म मेरो आत्मशीलताको लागि, म मेरो खुसीको लागि तपाईको निकटता रूचाउँरछु र म सधै यस्तै सन्निकटता कायम भइरहोस भन्ने कामना गर्छु । के यो मेरो स्वार्थ होइन् ? मेरो श्रीमानले सिँगो शरीरमा शासन गर्दागर्दै पनि नपुगेर आत्मसन्तुष्टिको लागि सम्पूर्ण रूपमा मलाई पाउने कोसिस गर्यो के त्यो उसको स्वार्थ थिएन् ? आफ्नो मनको आनन्द र खुसीका लागि चाहाना गरिने प्रत्येक वस्तु, प्रत्येक मानवीय प्रयासमा स्वार्थ हुन्छ, चाहे त्यो भावना योगी होस् वा भोगीको । त्यसैले म भन्छु– स्वार्थ नै मान्छेको प्रेरक तत्व हो । स्वार्थ नै मनको आनन्द हो । मेरा विचारमा मनको आनन्दभन्दा नजिक कोही वा केही हुँदैन ।

भावुकताबस् कल्पनाको यो दार्शनिक चिन्तन सुनेर म तीनछक्क परेँ । उसको कुरा पनि मलाई मन पर्यो, मन पर्नु मात्रै होइन, सत्यजस्तो पनि लाग्यो । हो, स्वार्थभन्दा पर केही छैन । आज मैले पनि गर्नुपर्ने धेरै कामहरू थिए, तर ती सबै कामहरू छोडेर म उनलाई भेट्न त्यहाँ आएको थिएँ, किनकि यसमा मेरो मनले अपार आनन्द पाएको थियो । के यो मेरो स्वार्थ होइन् र ? एउटा योगीले पनि त मोक्ष प्राप्तिकै लागि भगवानको आराधना गर्छ । आखिरमा प्राप्तिको आशा गर्नु पनि त स्वार्थ नै हो । कल्पनाले भनेका सबै कुरा मलाई सत्य लागे । मैले कल्पनालाई उसका कुरा स्वीकार गर्दै भने ‘हो कल्पु, किन किन आज मलाई तिम्रा सबै कुरा सत्य लाग्दैछन् । अघि बाटोमा त्यस मान्छेले भनेका कुरा पनि राम्रा लागे, धेरैबेर उभिएर सुनिरहेँ । अहिले तिमीले भनेका कुरा पनि सत्य हुन जस्तै लाग्दैछ । तर मलाइ के कुरामा अचम्म लागिरहेको छ भने तिमीले आजअगाडि यस्ता राम्रा ज्ञानगुनका कहिलै पनि किन गरिनै ? आज कताबााट तिमीमा यस्ता दार्शनिक कुराहरू आए ? तिमीले दर्शनशास्त्र पनि पढेको थियौ ? मैले स्वाभाविक रूपमा आफ्नो जिज्ञासा राखेँ ।

कल्पना झन् भाावुक बनिन् । कोठाको सिलिङ्गतिर आँखा लगाएर उदास स्वरमा भनिन्– ‘राजा आज मलाई धेरै बोल्न मन लागेको छ र मलाई बोल्न नरोक्नुहोस् पनि । यो मेरो तपाइसँगको अन्तिम कुराकानी पनि हो ।’ कल्पनाको ‘तपाईसँगको अन्तिम कुराकानी हो’ भनेको वाक्याशंले म केही झस्किएँ । मैले कल्पनातिर हेर्दै आश्र्चय र चकित स्वरमा सोधेँ ‘कल्पु, तिमी यो के भन्दैछ्यौ ? कसरी यो हाम्रो अन्तिम कुराकानी हो ? अब झन् कसैले रोक्न सक्दैनन्, कसैले हामीलाई प्रतिबन्ध लगाउन सक्क्तैन । तिमी निको भएर यहाँबाट हिँड मात्रै न, त्यसपछि…।।’ मेरा कुरालाई पूर्ण हुन नदिँदै कल्पनाले भनिन् ‘मेरा राजा मेरो जीवनमा तपाईको प्रवेश अथवा तपाईको जीवनमा मेरो प्रवेश नै मेरा लागि दुःख सावित भयो । न मैले तपाईलाई पाउन सकेँ न मेरा श्रीमान्लाई हार्दिकतापूर्वक स्वीकार्न सकेँ । बिहेपछि पनि बरोकटोक हाम्रो भेटघाट भइरह्यो, जसले गर्दा मैले मेरो श्रीमान्लाई चाहेर पनि एकलौटि माया दिन सकिनँ । मनभित्र एउटालाई राखेर बाहिरी रूपमा अर्कोसँग वैवाहिक सम्बन्ध जोड्दाको पीडाले मलाई निरन्तर जलाइरह्यो । म मात्र होइन, मेरो श्रीमान् पनि त्यतिकै पीडित थिए र अन्ततः त्यही आशङ्का र पीडाको आगोमा जलेर खरानी भए । मलाई अहिले लाग्छ, मृत्यु नै वरण गर्ने गरी श्रीमान्ले त्यस्तो केही अपराध गरेका थिएनन् ।

कल्पना भन्दै गइन्– ‘सामाजिक आडम्बर बचाउन र आफ्ना आमाबाबाको कुरालाई पालना गर्न मेरो इच्छाविरूद्व मसँग जबरजस्ती विवाह गरे, त्यो नै उनको ठूलो भूल थियो । यस कुरामा विवाहपूर्व म पनि अनविज्ञ नै थिएँ । विवाह भइसकेपछि थाहा पाएर के लाभ थियो र ? सामाजिक रूपामा म उनकी धर्मपत्नी भइसकेको थिएँ । अनि मैले ठानेँ –अब मैले तपाईलाई , एउटा बाल्यकालको प्रिय साथीलाई अथवा मेरो एउटा सच्चा प्रेमीलाई गुमाइसकेँ । त्यसपछि तपाईको नजरबाट धेरै टाढा अथवा काठमाडौँमा आई बस्न थालेपछि र श्रीमानको सबै स्थिति बुझिसकेपछि मलाई पनि कताकता उनिप्रति सहानुभुति जागेर आयो र विस्तारै विस्तारै म मेरा श्रीमानलाई दया गर्न लागेकी थिएँ । तर जब तपाइसँग मेरो पुनः भेट भयो, त्यसपछि मभित्र दमित रूपमा रहेको मेरो प्रेम फेरि व्युँझिने मौका पायो र आफ्नो अस्तित्वको खोजी गर्न थाल्यो । त्यसैले मैले न त मेरो श्रीमान्लाई धर्मपत्नीको हैसियतले हार्दिक प्रेम गर्न सकेँ, न त सामाजिक बन्धनलाई चुनौति दिँदै तपाइको प्रेम–प्रस्तावलाई सहज स्वीकार गर्दै तपाईका पक्षमा निर्णय नै गर्न सकेँ । प्रेमलाई अवैध र सामााजिक अपराध मान्ने हाम्रो संस्कारको शिकार भए मेरा श्रीमान् । यो कुरालाई लोकाचारको डरले मैले मेरै हृदयमा दबाएर राखेँ र तपाईलाई चाहेर पनि भन्न सकिनँ । आजको परिस्तिथि एकदम भिन्न छ र मलाई बोल्न अलिकति पनि सङ्कोच छैन । म यही कुरालाई प्रस्ट पार्न र तपाईको अन्तिम दर्शन गर्न मात्र आज बसेकी हुँ । नत्र म हिजै यहाँबाट प्रस्थान गरिसक्थेँ ।

‘तिमी मलाई नभनी कँहा जान्थ्यौ ?’ मैले जिज्ञासा सहित छोटो प्रश्न गरेँ ।

‘हिजोदेखि तपाईको र मेरो बाटो अलग भएको छ मेरो साथी । केवल तपाईको पे्रमको डोरीले बाँधिएर मात्र आजसम्म रहेकी हुँ । हिँड्नु अगाडि म एकपल्ट तपाईको दर्शन गर्न चाहन्थे । राजा, आजसम्म हामीबिच जे जस्तो सम्बन्ध स्थापित भए पनि आजकै मितिदेखि यो सबै एउटा सपना मानेर भुलिदिनोस् । आजदेखि तपाईलाई सदासदाको लागि यहीँ छोडेर एक्लै टाढा जाँदैछु र मलाई रोक्ने प्रयास नगर्नाेस् पनि । यदि हाम्रो प्रेम पवित्र रहेछ भने अर्को जुनीमा अवश्य भेट होला । म मेरो जीवनसाथीको रूपमा तपाईलाई अर्को जुनिका लागि अहिले नै बुक गरिरहन चाहन्छु, यस जुनीमा भोग्न नपाएको जीवन अर्को जुनीमा भोग्न चाहन्छु ।’

‘हैन कल्पना, तिमी यो के भन्दैछ्यौ ? तिमी मलाई एक्लै छोडेर कहाँ जाने कुरा गर्दैछ्यौ ? तिम्रा लागि मैले कति त्याग र तपस्या गरेको छु तर तिमी मलाई नै छोडेर जाने कुरा गर्दैछ्यौ ?’ म हतास भएँ ।

‘मलाई तपाई यसै भन्नुहोला भन्ने थाहा थियो । किन म पनि त्यही दुर्घटनामा परी अशक्त हुने गरी घाइते भएकी थिएँ भन्ने कुरा बिर्सनु हुन्छ ? तपाईले हिजोअस्तिसम्म त्यस्तो अशक्त अवस्थामा देखेको मान्छे आज बेडबाट उठेर यसरी सहज ढङ्गले बोल्दैछे भन्ने कुरा कसरी बिर्सनु भयो ?’ उसले टिठलाग्दो नजरले हेर्दै भनी ।

‘बरू सुन्नुहोस् मेरो राजा’ कल्पनाले केही रहस्मय ढङ्गले भनी ‘डाक्टरहरूको लाखौँ प्रयासपछि पनि मेरो दिमागमा लागेको गहिरो चोटको कारण उनीहरूले मलाई बचाउन सकेनन् । डाक्टरहरू पनि त विचरा नै त हुन नि ! उनीहरूसँग पनि दिव्यशक्ति कहाँ हुन्छ र ? उनीहरूले यति दिन मलाई बचाउन गरेको प्रयास त्यस्सै खेर गयो । अन्ततः हिजो बेलुका नै मेरो निधन भयो अर्थात् म हिजै बेलुका मरिसकें । म मरेर पनि हाम्रो प्रेमलाई विजय गराउन चाहान्थे, हाम्रो हार्दिक प्रेमलाई शिखर चुमाउन चाहन्थे, त्यसैले मात्र तपाईलाई पर्खेर बसेकी हुँ । म यहाँबाट प्रस्थान गर्नुअघि यो दुनियाँलाई साँचो प्रेम अमर हुन्छ, दुई शरीरलाई भौतिक रूपमा अलग्याउँदैमा प्रेमको बिसर्जन हुँदैन भन्ने सन्देश दिन चाहन्थेँ ।’

केही क्षण रोकिएर मेरो कुममा अढेस लाग्दै उनले थपिन्– ‘यो समाजले प्रेमलाई केवल मृगतृष्णा मात्र सम्झ्यो, एउटा भ्रम मात्र ठान्यो र प्रेमलाई एउटा अपवित्र गठबन्धन मात्र मान्यो । पे्रमलाई पूजाका रूपमा हेरिएन बरू उपभोक्तावादी दृष्टिले मात्र हेरिँदै आयो, त्यसैले प्रेमलाई दूषित मान्ने गरियो । यसको शिकार हामी पनि भयौं र त शरीरिक र मानसिक रूपमा अत्यन्त नजिक भएर पनि सामाजिक रूपमा एक बन्न सकेनौं । जीवनभरि हार्दिक प्रेमको प्रतीक्षा गर्दै अन्ततः अतृप्त मन र मुटु लिएर तपाई र तपाईको समाजलाई यहीँ छोड्दै आज मैले मेरो गन्तव्यतिर लाग्नु छ । त्यसैले अघि नै मैले तपाईलाई आजको हाम्रो यस कुराकानीलाई अन्तिम भनेकी हुँ । अब म भौतिक रूपले त तपाईलाई साथ दिन सक्तिन तर मेरो आत्मा तपाईको सन्निकट रहेर सदैव तपाईको भलाइ र समृद्धिमा साथ दिइरहने छ ।’

कल्पनाको कुरा सुनेर एकाएक जीउ फुलेर आयो । आङ्ग सिरिङ्ग भयो । अनायसै मेरो मुखबाट जोडले आवाज निस्कयो ‘कल्पना…।’ आफ्नै चर्को आवाजले म ब्यूँझेंछु । ब्यूँझदा मेरो सम्पूर्ण शरीर पसिनै पसिना भएर कामिरहेको थियो ।

(लेखकको ‘तृष्णा’ कथासङ्ग्रह, २०७३ बाट, पुनः प्रकाशित)

सम्बन्धित समाचार