नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ जेठ ।
सशस्त्र प्रहरी बल नेपालले २४सैँ घण्टा तैनाथ रहने गरी विपद् व्यवस्थापन तालिम प्राप्त ‘डेडिकेटेड’ मनसुन प्रतिकार्य टोली गठन गरेको छ ।
मनसुनको समयमा बाढी, पहिरो, डुबान एवं विपद्मा परेकाको तत्कालै उद्धारका लागि बाहिनी, शिक्षालय तथा गणमा सिनियर अफिसरको कमाण्डमा एक प्लाटुन र गुल्महरुमा सिनियर अफिसरको कमाण्डमा माइनस प्लाटुन रहने जनाइएको छ । अन्य युनिटहरुमा एक सेक्सनको नफ्रिमा उपलब्ध स्रोतसाधनसहित मनसुन प्रतिकार्य टोली गठन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरी, नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, नं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सात/सात प्लाटुन, नं ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले ५ र नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँले तीन प्लाटुन जनशक्ति चौबिसै घण्टा खटाउने गरी तयारी अवस्थामा राखेका छन् । सबै बाहिनीका गरी ५० वटा टोली विपद् प्रतिकार्य र विपद् जोखिम न्यूनीकरण सचेतनाका लागि फिल्डमा खटाइएका छन् ।
‘डेडिकेटेड’ मनसुन प्रतिकार्य टोलीले प्रदेश, जिल्ला तथा स्थानीय तहहरुमा रहेका आपतकालीन कार्य सञ्चालन केन्द्र, विपद् व्यवस्थापन समिति एवं अन्य विपद् व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण सरोकारवाला निकायसँग समन्वय र सहकार्यमा विपद् व्यवस्थापन प्रतिकार्य गर्नेछ । सो टोलीले आफ्नो जिम्मेवारी रहेको इलाकामा पर्ने जोखिमयुक्त स्थान तथा वस्तीलगायत महत्वपूर्ण संरचनाजस्तै पुल, कल्भर्ट राजमार्ग, लोकमार्ग आदिको पहिचान गरी विपद्को समयमा तुरुन्त उद्धार तथा परिचालन हुन सक्ने व्यवस्था मिलाउने छ ।
बाहिनी मुख्यालय, शिक्षालय, गण र गुल्महरुमा सिनियर अधिकृतको कमाण्डमा र बिओपी तथा बेशहरुमा जुनियर अधिकृतको कमाण्डमा विपद् व्यवस्थापन सेल गठन गरी सम्पर्क अधिकृतको व्यवस्था मिलाईएको छ । सशस्त्र प्रहरी बल नेपालका कार्यालयमा रहेका हेभि इक्युपमेन्टहरु, डिजास्टर रिलिफ सिस्टम कन्टेनर र मास क्याज्युल्टी भेहिकलसमेत तयारी अवस्थामा राखिएका छन् ।
बाढी, पहिरो, डुबानका घटनालाई लक्षित गरी सबै बाहिनी मुख्यालयले मातहतलाई मनसुनजन्य विपद् प्रतिकार्य पूर्वअभ्याससमेत सञ्चालन गरेका थिए । यसका साथै जोखिमयुक्त ठाउँमा विपद् सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।