नवराज घिमिरे
काठमाडौं, ९ असार ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह प्रशासनको वागडोर सम्हालेको सय दिन (हनिमुन पिरियड) समाप्त हुदाँसमेत आम जनताले अपेक्षा गरेअनुसार उल्लेखनीय केही गर्न सकेनन् । आम जनताले उनीबाट कुनै चमत्कारको अपेक्षा गरिरहँदा उनले भने आशाा र निराशाकाबीच सय दिन बिताएका छन् ।
लामिछानेलाई यस पटक काम गरेर देखाउने अवसर थियो तर हनिमुन पिरियडसम्मको गतिविधिलाई मूल्याङ्कन गर्दा उनले यस अवसरको सदुपयोग गर्न सक्ने लक्षण देखिँदैन । आफैंले रोजेको र गर्न खोज्दा धेरै गर्न सकिने मन्त्रालय हाँकेर पनि अहिलेसम्म उल्लेखनीय केही गर्न नसक्नुले ‘रविले पनि केही गर्न सक्तैन’ भन्नेहरूलाई बल पुगेको देखिन्छ । उनीमाथि जनताको ठूलो अपेक्षा थियो/छ । त्यो जनअपेक्षाअनुसार अझै पनि उनले साहसिक र ऐतिहासिक काम गरेर देखाउन सकेनन् भने उनी मात्र होइन, उनको कारणले युवा नेतृत्वप्रति नै सयौं प्रश्नहरू उठ्ने छन् । अनि भनिने छ– ‘जुन जोगी आए पनि कानै चिरेको !’
हिजो उनले एउटा सञ्चारकर्मीका रूपमा टेलिभिजनको पर्दाबाट आफ्ना विचार पस्किरहँदा र पुराना दल र तिनका नेताहरुलाई सुशाासनको पाठ पढाइरहँदा उनीमाथि जुन सम्भावनाको अडकल गरिएको थियो, त्यो बालुवाको घरझैं हुने अवस्थामा पुगेको छ । छुमन्तरका भरमा देशमा परिवर्तन गर्न सकिन्न भन्ने प्रमाणित हुँदैे छ । चुनावअघि जसले जे भने पनि सत्तामा पुगेपछि ‘सबै उही ड्याङका मुला हुनेछन्’ भन्ने भनाइले चाहिँ सार्थकता पाउने निश्चित छ ।
लामिछानेले पहिलो कार्यकालमै बहुचर्चित निर्मला हत्या प्रकरणको छानबिन गरी दोषीलाई निर्ममतापूर्वक कार्वाही गर्ने उद्घोष गरेका थिए । तर दोस्रो कार्यकालको पनि सय दिन बितिसक्तासमेत त्यस विषयमा उनी मौन रहनुले उक्त घटनाको दोषी व्यक्ति वा दलसँग सहकारीको विषय सौदाबाजी भएको त छैन भन्ने आशंका जन्मिएको छ । अन्यथा आफ्ना हातमा गृहको सत्ता आउँदासमेत उनी निरीह देखिनुले भित्रभित्रै कुनै खिचडी त पाकिरहेको छैन भन्ने संशय जाग्नुलाई अन्यथा मान्न सकिन्न ।
‘रवि निर्भीक र निडर छन्, उनले जनताको आशा र भरोसाको दियोलाई बचाइराख्न सक्छन्’ भन्ने जमात अहिले पनि ठूलै छ । जनताको यो विश्वासलाई बचाइ राख्नसक्नु उनको लागि मात्र होइन, उनीजस्ता राजनीतिमा आउन चाहने सयौं युवाहरूका लागि पनि महत्वपूर्ण छ । अन्यथा हिजोका दिन उनले दिएका अभिव्यक्तिहरू उनकै लागि गलाको पासो सिद्ध हुनेछन् । जनताले त बलेकै आगो ताप्ने हो, उनको साख मधुरो भएको खण्डमा आज उनका पछि उभिएको भीड भोलि अरू कसैका पछि उभिन सक्छ । भीड गतिशील हुन्छ, कसैले रोक्न सक्तैन ।
रविले आफू र आफ्नो पार्टीलाई नयाँ किसिमले परिभाषित गर्न मात्र होइन, त्यही अनुसारको कर्म गर्न पनि जरुरी छ । कुराले मात्र परिवर्तन हुने भए केपी ओलीले धेरै पहिला नै नेपाललाई समृद्धशाली बनाइसक्थे । उनले नबोलेको क्षेत्र र बोल्न बाँकी विषय अब धेरै नहोला । बोल्नका लागि मात्र बोल्ने हो भने त पुराना दल र तिनका नेताभन्दा रवि खास्सै फरक नदेखिएलान् । त्यसो भए मिसन ८४ केका लागि त ?
रविमाथिको यो गुनासो उनी सानो मसिनो कुरामा नअल्मलिउन् र जसरी उनी प्रखर रूपमा बोल्न सक्छन्, त्यसरी नै काम गरेर देखाउन भनेर हो । उनी युवाहरूका लागि आइकन बन्न सक्नु पर्छ । देश विकासको हुटहुटी बोकेकाहरूको लागि आदर्श बन्न सक्नुपर्छ । देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ भनेर हिजो उनैले भनेका हुन्, एक एक गरेर सबैको अनुहारबाट नकाब उतार्न सक्नु पर्छ । उनैको पहलमा सबै भ्रष्टहरू समूल नष्ट हुनु पर्छ । यस महाअभियानमा उनलाई जनताको पूर्ण साथ रहनेछ ।
रविले हिजो लामो समयसम्म बोलेर विश्व रेकर्ड बनाएका थिए, अब देशका लागि काम गरेर अर्को विश्व रेकर्ड बनाउनु पर्छ । देश लथालिङ्ग भएकोले यो उनका लागि रेकर्ड बनाउने अवसर पनि हो । अहिले रवि र रास्वपा पार्टीका लागि अग्निपरीक्षाको घडी हो । जसरी उदाहरणीय काम गरेर काठमाडौं महानगरपालिकाका मेयरका रूपमा बालेन शाह चर्चित बन्न पुगे, त्यसैगरी गृहमन्त्री र भ्रष्टाचार विरोधीका रूपमा रवि पनि चर्चित बन्नुपर्छ । रवि र भ्रष्टाचार अँध्यारो र उज्यालोजस्तै हुनुपर्छ । निर्मम भएर सबै भ्रष्टाचारका फाइलहरू खोलिनुपर्छ । जबसम्म भ्रष्टाचार र भ्रष्टहरूलाई कुनै न कुनै बाहनामा लुकाउने अवस्था रहन्छ, तबसम्म समृद्धि केवल भाषणमा मात्र सीमित हुनेछ ।