लोक संस्कृतिमार्फत नेपाललाई विश्वसामु परिचित गराउँदै एभरेष्ट नेपाल कल्चरल ग्रुप

साँस्कृतिक आदान–प्रदान गर्दै नेपाललाई विश्वसामु परिचित गराउदै आइरहेको एभरेष्ट नेपाल कल्चरल ग्रुपले फ्रान्सको क्यासट्रेस, सेन्ट गिरोन्स, सेन्ट जुलिएन, विक सुर केरे तथा डक्सलगायतका शहरहरुमा र स्पेनको लेस प्रेसेस तथा वार्सिलोनामा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ ।

फ्रान्स र स्पेनका विभिन्न शहरमा आयोजित साँस्कृतिक मेलामा नेपालसहित विश्वका ४५ देशका २ हजारभन्दा बढी कलाकारहरुले भाग लिएका थिए । मेला फ्रान्समा अगस्ट ३ तारिखदेखि १८ तारिखसम्म र स्पेनमा अगस्ट १९ तारिखदेखि अगस्ट ३१ तारिखसम्म चलेको थियो ।

एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला ‘रामचन्द्र’को नेतृत्व तथा ग्रुपका निर्देशक सीतल आचार्य ‘सिता’ को निर्देशनमा गएको टोलीमा नृत्य निर्देशन वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसीले गरेका थिए । टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेको ग्रुपका अध्यक्ष कोइरालाले जानकारी गराए । उनले भने ‘मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनी, थाली, सतार, धिमाल, शेब्रु, कालभैरव, बज्रपानी, लाखे, यती, सोरठीलगायत दर्जनौ नृत्यहरु प्रदर्शन गरिएको थियो ।’

मेलामा ग्रुपका प्रमुख कोइराला, निर्देशक आचार्य, वरिष्ठ नृत्य निर्देशक केसीलगायत वरिष्ठ वाध्यवादक धनेश्वर तिवारी, वरिष्ठ गायक रामप्रसाद पाण्डे, सपना महर्जन, उत्तम शर्मा, प्रमिला रिजाल, सुदनमान मुनिकार, कृष्ण रसाल, चुडामणि फुयाल, शर्मिला तमाङ, चाहना राना मगर, अनिशा श्रेष्ठ, रमेशप्रसाद पौडेल, डिपी कोइराला, ग्रुपका प्रवक्ता प्रदीप तिमिल्सिना तथा बाल कलाकार सिराज कोइरालाले भाग लिएका थिए ।

करिब एक महिनासम्म आयोजना भएको मेलामा एभरेष्ट नेपाल कल्चरल ग्रुपका कलाकारहरुले विशेष गरेर वरिष्ठ नृत्य निर्देशक केसीले ३ वर्षदेखि ७० वर्षसम्मका कलाकारहरुलाई नृत्य सिकाएका थिए ।



फ्रान्सको डक्स शहरमा भएको सांस्कृतिक झाँकी प्रदर्शनीलाई ४० हजारभन्दा बढी दर्शकले अवलोकन गरेर नेपालको झाँकीलाई उत्कृष्ट मानेका थिए । झाँंकीमा सहभागी कलाकार यती र लाखेसँग उपस्थित दर्शकहरूले तस्विर लिन तँछाड मछाड नै गरेका थिए । १९ महिने बाल कलाकार सिराज कोइरालाको नमस्ते सहितको अभिवादनले हजारौं दर्शकलाई मोहित गराएको थियो । आयोजकहरुको सामाजिक सन्जालमा बाल कलाकार सिराज कोइरालालाई प्राथमिकताका साथ प्रकाशन गरेका थिए ।

सोही अवसरमा ग्रुपका निर्देशक आचार्यले दुबै देशका सम्बन्धित नगरपालिका प्रमुख, उपस्थित सम्पूर्ण महानुभावहरू तथा आयोजकलाई भेट गरी नेपालमा सांस्कृतिक पर्यटन प्रबद्र्धन गर्न सकिने बारेमा र भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रम सरकारी तथा गैर सरकारी निकायहरुको सहयोगमा गर्न सकिने बताइन् भने प्रवक्ता तिमिल्सिनाले मेला अवधिभर उपस्थित दर्शकहरूलाई नेपाली कला संस्कृतिका बारेमा जानकारी गराएका थिए ।

मेलाको अनुभव साझा गर्दै ग्रुपका अध्यक्ष कोइराला भन्छन्– ‘कतिपय राष्ट्रका नागरिकलाई नेपाल कहाँ पर्छ थाहा छैन । माउण्ट एभरेष्टको नाम सुनेका छन् तर त्यो कहाँ छ थाहा छैन । गौतम बुद्ध थाहा छ तर उनी कहाँ जन्मे थाहा छैन । यी सबैको जानकारी गराउँदै र नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै लोक संस्कृतिमार्फत विश्वभर साँस्कृतिकदूतको काम गर्ने कलाकार तथा संस्थालाई राज्यले बेवस्ता गरेको देख्दा भने दुःख लाग्छ ।’

सम्बन्धित समाचार