विकास भनेको सडक र भवन मात्र होइन रहेछ

विश्वको सर्वशक्तिमान मुलुक संयुक्त राज्य अमेरिकाको आर्थिक राजधानी न्यूयोर्क विकास, समृद्धि, खुलापन र आर्थिक उपार्जनका हिसाबले संसारभरका मानिसका लागि आकर्षक मानिन्छ । यहाँको विकास, वैभव, नियम कानुनको पालना तथा मानव मात्रका लागि आवश्यक पूर्वाधारहरुको निर्माणले विकासको परिभाषालाई राम्ररी उजागर गरेको छ ।

आफूलाई ‘इम्पायर स्टेट’ मान्ने न्यूयोर्कका अनेक शहरहरुको आआफ्नै विशेषता छ । न्यूयोर्क सिटी, म्यानहटन, क्वीन्स जस्ता शहरहरु यहाँको प्रमुख आर्थिक–व्यापारिक थलो मानिन्छ । भौतिक सुविधाले चरम चुलीमा पुगेको न्यूयोर्कले प्राकृतिक सुविधालाई पनि उत्तिकै प्राथमिकता दिएको छ । यसको उदाहरणका रुपमा शहरका विभिन्न भागमा बनेका विशाल पार्कहरुलाई लिन सकिन्छ । शहरी सभ्यता र विकास भनेको ठूलाठूला महल र सडक मात्र होइन भन्ने यहाँ प्रमाणित गरिएको छ ।

त्यस्तै यहाँका नदीहरु निकै सफा छन् । पार्कहरुमा भौतिक संरचना कम, खुला ठाउँ बढी छाडिएका छन् । विभिन्न पजातिका फूल र रुखले हरियालीसंगै शितलता प्रदान गर्नुका साथै खुला चौर र त्यहाँ निर्मित अनेक किसिमका खेल संरचनाले केही मिनेट अघिको शहरी भीडभाडलाई पूरै बिर्साउँछ । नदीलाई पूजा गर्दैै यसमा ढल मिसाउने नेपालीहरुको तुलनामा नदीलाई नदी मात्रै मान्ने अमेरिकीको वातारणप्रतिको चेत तारिफयोग्य छ ।

मानव विकासको इतिहासंगै उसलाई खुला वातावरण चाहिन्छ, हरियाली चाहिन्छ भन्ने मान्यतालाई अमेरिकामा राम्रोसंग अभ्यास गरिएको छ । अहिले विश्वमा सर्वाधिक कार्वन उत्सर्जन गर्ने मुलुकमा अमेरिका परे पनि सो मुलुकमा सदियौंअघिदेखि स्थापित गरेका पार्कहरुको महत्व अहिले अरु बढेको छ । निःशुल्क प्रवेश रहेका पार्कहरुमा फुटबल मैदानदेखि एथलेटिक्स ट्रयाकसम्म बनाइएका छन्– शहरी कोलाहललाई चटक्कै बिर्सने गरी । पार्कहरुमा पुग्दा अमेरिका नै हो र भन्ने भान हुन्छ भने पार्कबाट बाहिर निस्केर बजार क्षेत्र पुग्दा अर्कै दुनियाँ पुगेजस्तो हुन्छ ।

सुविधाका अनेक आयाममध्ये पार्क व्यवस्थापन पनि एक प्रमुख हो । खुलापन अर्थात् स्वतन्त्रताको चरम अभ्यासदेखि प्रकृतिसंगको निकटतासम्मको विशेषताले भरिएको न्यूयोर्कको विकासको शैली नेपालको परम्परागत मौलिक अभ्याससंग मेल खाएको देखिन्छ । विकासलाई भौतिकतासंग मात्र नहेरेर प्राकृतिक पक्षबाट पनि मानिसलाई खुसी दिनुपर्छ भन्ने मान्यता यहाँ रहेको पाइन्छ ।

मानिस जन्मैले स्वतन्त्र प्राणी भएकाले उसको स्वतन्त्रताको सम्मान गर्नुपर्छ । त्यस्तैँ मानिस समुदाय र प्रकृति निकट रहेर मात्र खुसी हुनसक्छ भन्ने मान्यताले पनि यहाँ राम्ररी प्रभाव पारेको छ ।

विकास, वैभव र स्वतन्त्रताको उच्चतम अभ्यास न्यूयोर्क हो र यसमा पनि टाइम्स स्क्वायर यहाँको सर्वाधिक चर्चित स्थल हो । यहाँ विश्वभरका मानिसहरु पुग्दछन् । यहाँ पुग्नुको सबभन्दा ठूलो कारण स्वतन्त्रताको निर्वाध उपयोग हो ।

मानिस कसरी खुसी हुन्छ त्यही सुविधा पाइने अमेरिकामा गाँजा सेवन पनि एक महत्वपूर्ण पक्ष रहेको छ । समय र मात्रा निर्धारण गरेर निश्चित परिमाणमा गाँजा सेवन गर्न कानुनी मान्यता पाएको अमेरिकामा टाइम्स स्क्वायर यसको विपरीत छ । भ्रमणकर्ताहरु एकपछि अर्को गरेर गाँजाको ‘चेन स्मोक’ गरिरहेका हुन्छन् ।

भ्रमणका क्रममा छोटो समयमै देखिने विविधता आकर्षक पक्ष हो । केही पर हरियाली र फूलैफूलले भरिएका विशाल पार्क, केही वर गाँजाको धुँवाले कुहिरीमण्डल जस्तै भएको टाइम्स स्क्वायर । फोटो सेसन, सिनेमा निर्माण, म्यूजिक भिडियो निर्माण, विश्वमा विकसित गरिएका उच्चतम प्रविधिको व्यापारका साथ खुला रुपमा गाँजा विक्री गर्न बसेकाहरु ‘तिमीलाई यो चाहिन्छ’ भन्दै आउने दृश्यले अर्को आश्चर्य उत्पन्न गर्दछ । संसारलाई गाँजा लागूपदार्थ भन्दै प्रतिबन्ध लगाउन दवाव दिने, आफू भने खुला गर्ने ? यो पनि व्यापारिक पोलिसीको एउटा नमूना नै मान्न सकिन्छ ।

अत्यन्त व्यस्त र भीडभाड रहने यूयोर्कको सबभन्दा ठूलो समस्या सार्वजनिक शौचालय नहुनु हो । केही दशक अघिसम्म यहाँ शौचालयहरु थिए, तर त्यहाँ अपराध बढ्नन थालेपछि अधिकांश हटाइएका रहेछन् । विशेष विशेष स्थानहरुमा मात्र शौचालय खुला गरिएका छन् । भ्रमणका क्रममा अपर्झट शौचालय जानुपर्ने अवस्था भए निकै सकस पर्छ । सामान्य किसिमका रेस्टुरेन्टहरुमा पनि ग्राहकका लागि शौचालय हुँदैनन् । ठूलै र ब्राण्ड भएका रेष्टुरेन्ट जानुपर्छ त्यहाँ पनि केही खानेकुरा नकिनी शौचालय प्रयोग गर्न पाइँदैन । यो निकै ठूलो समस्या हो ।



शहरको सुन्दरता र सवारी व्यवस्थापनमा न्यूयोर्कको आफ्नै विशेषता छ । हुन त यहाँको तुलनामा अन्य राज्यमा बढी व्यवस्थित रहेको भनिए पनि त्यसको प्रत्यक्ष अवलोकन गर्न नपाएको हुँदा त्यसमाथि टिप्पणी गर्नु उपयुक्त हुँदैन । यद्यपि सवारी व्यवस्थापन, सवारी नियम पालनामा देखिएको अनुशासनले भने काठमाडौंको भद्रगोल अवस्था कहिले सुधार होला भन्ने प्रश्न उठ्छ ।

न्यूयोर्कको विशेषता हरियालीको प्रबद्र्धन मुख्य रहेको छ । शहरलाई सुन्दर बनाउन र आफ्ना नागरिकलाई सहज सुविधा दिलाउन बनेका पार्कहरुको शहरमा खुला स्थान कति आवश्यक छ भन्ने देखाउँछ ।

विगतमा नेपालका शहरहरुको चोक चोकमा खाली स्थान हुन्थे, ती स्थानमा मानिसहरु जम्मा भएर गफगाफ गर्ने मात्र होइन कुनै विपत्ति आइपर्दा सुरक्षित रहन पनि ती स्थान चाहिन्छन् । आजभोलि काठमाडौंका खाली स्थान सबै अतिक्रमणमा परेका छन् । हरियाली बढाउने डाँडाहरुमा डोजर कुदेका छन् ।

प्राकृतिक मात्रचित्रको विशेष महत्व राख्ने नेपालमा प्रकृतिले दिएका संरचना नै संरक्षण गर्न नसकेको देख्दा र न्यूयोर्कमा पार्कहरुको बन्दोबस्त हेर्दा चित्त कुँढिन्छ । विकास भनेको ठूला भवन र सडक मात्र होइन भन्ने दृष्टान्त विकासले चरमचूली छोएको न्यूयोर्कले देखाउँछ । विकासको अर्थ जनता स्वस्थ र सुखी हुनु पनि हो । वातावरण शुद्ध हुनु पनि हो ।

हरियाली कायम हुनुपर्दछ, नदीहरु स्वच्छ हुुनुपर्दछ भन्ने पूर्वीय मान्यतालाई आत्मसात गरेको नेपालमा हरियालीको साटो कंक्रिटको जंगल खडा भएका छन् भने न्यूयोर्कमा भीमकाय महलकाबीच ठूलाठूला हरियालीपूर्ण पार्क बनेका छन् । विकास के हो भन्ने यही दृश्यले सबै दृष्टान्त देखाउँछ ।

अन्त्यमा, विकासको परिभाषा र अर्थ न्यूयोेर्कमा आएपछि देखिन्छ । सिमेन्ट र फलामका संरचना ठड्याएर मात्र विकास हुँदैन, जनतालाई आधारभूत कुराको सहज उपलब्धता, राज्यप्रति जनताको भरोसा र नियमम, कानुन पालनामा कडाई पनि विकास हो । सुलभ शिक्षा, स्वास्थ्य र यातायात अनि गरिखानेका लागि अवसर सिर्जनाबाट मात्रै विकास हुन्छ ।

भीमकाय महल र रंगशाला जस्ता फराकिला सडकमा लुड्ने लाखौं सवारीसाधनका बीच खुला जमिन र हरियाली वातावरण पनि विकास हो । जुन विकासको ढाँचा नेपालमा पहिला थियो, अहिले विकासको परिभाषा नै बदलिएको भएर हरियालीले ढाकेको, सम्पदाले भरिएको देशका नागरिकले सात समुद्रपारीको अमेरिकाको भौतिक पूर्वाधार बाहेकका अन्य क्षेत्रमा गरेको र कायम राखेको विकासको प्रशंसा गर्नुपर्न अवस्था सिर्जना भएको छ ।

(लेखक युगसम्बादका कार्यकारी सम्पादक हुनुहुन्छ)

सम्बन्धित समाचार