नवकान्तिपुर संवाददाता
काठमाडौँ, १ माघ l
आजभोलि धेरै चर्चा अनि केही त्रसित बनाइरहेको एचएमपिभी भाइरसले समाचारमा विशेष स्थान बनाउँदै आइरहेको छ । अझ भारतीय सञ्चारमाध्यमहरुमा एकपछि अर्कोमा सङ्क्रमण पुष्टि हुँदै गइरहेको भन्ने समाचारले नेपालमा समेत यो भाइरसप्रति चासो ह्वात्तै बढेको देखिन्छ । यो भाइरसले खासगरी हालै चीनमा सयौँ मानिस बिरामी बनाएको, अस्पताल भरिएको, अनि मृत्युसमेत गराइरहेको भनिएको छ ।
चीनमा नै पहिलोपटक देखिएको कोभिड-१९ ले नेपाललगायत विश्वमा हजारौँ मानिसको मृत्यु गराएको केही वर्ष मात्र भएको हुँदा फेरि चीनमा फैलिएको भनिएको यो भाइरसले कतै कोभिड-१९ को बेलामा जस्तो अवस्था फर्काउने त होइन ? भन्ने चर्चा, जिज्ञासा अनि त्रासले सबैलाई तरङ्गित बनाएको छ । वास्तवमा चीनमा देखिएको भनिएको भाइरस के हो ? बन्दाबन्दी (लकडाउन)को सम्भावना कति छ ? कोभिड-१९ मा जस्तै मानवीय क्षति भोग्नुपर्ने अवस्था सिर्जना हुने त होइन भन्ने जस्ता जिज्ञासाहरु यतिबेला सर्वसाधारणमा उत्पन्न भएको देखिन्छ ।
कस्तो हो एचएमपिभी भाइरस ?
एक शब्दमा भन्नुपर्दा रुघाखोकी गराउने भाइरस हो भन्न सकिन्छ । खासगरी ‘कमन कोल्ड’ वा ‘फ्लु’को जस्तो लक्षणहरु यो भाइरस सङ्क्रमित बिरामीमा देखिने गर्दछ । अर्थात् यो भाइरसलाई श्वास-प्रश्वाससँग सम्बन्धित सङ्क्रमण पनि भन्न सकिन्छ । यो भाइरस पहिलोपटक सन् २००१ मा मानवमा पुष्टि भएको थियो । विशेषतः बालबालिकाहरु यो भाइरसबाट प्रभावित हुने भनिएता पनि ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु पनि उत्तिकै प्रभावित हुन सक्ने विभिन्न अनुसन्धानहरुले देखाएका छन् । जाडो महिनामा यो भाइरस बढी सक्रिय हुने भए पनि १२ महिना नै देखिने गर्दछ । सङ्क्रमण गरेको तीनदेखि छ दिनमा लक्षणहरु देखिने गर्दछ ।
सुरुआतीमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, नाकबाट पानी आउने वा बन्द हुने तथा श्वास-प्रश्वासमा समस्या देखिने गर्दछ । निमोनिया, ब्रोनकाइटिसजस्ता जटिलताहरु देखिने गर्दछ । यो विशेषतः सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा, हात मिलाउँदा, संक्रमित व्यक्तिको मुखको छिटा कुनै वस्तुमा रहेको र अर्को व्यक्तिले सो वस्तु छोएर सो हातले नाक, मुख अनि आँखामा छुँदा यो भाइरस सर्न सक्दछ ।
एचएमपिभी भाइरसविरुद्ध विशेष एन्टीभाइरल औषधि छैन भने खोपको विकास पनि भइसकेको छैन । लक्षण तथा जटिलताका आधारमा यसको उपचार हुने गर्दछ ।
यो भाइरसको सङ्क्रमणबाट बच्न विशेषगरी व्यक्तिगत सरसफाइमा नै ध्यान दिनु हो । यसको सर्ने तरिका धेरै हदसम्म कोभिड-१९ को जस्तै भएकाले बच्ने उपाय पनि उस्तै हुने गर्दछ । हात साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म धुने, सङ्क्रमित व्यक्तिको नजिक नजाने, हातलाई नाक, मुख र आखामा घरिघरि नलग्ने, खोक्दा वा हाच्छिउँ गर्दा हातको बाहुलीले छोपेर मात्र गर्ने, सार्वजनिकस्थलमा सकेसम्म नजाने र जानैपर्ने अवस्थामा मास्क लगाउने र फर्केपछि राम्ररी हात साबुनपानीले धुने गर्नुपर्दछ ।
कस्तो छ छिमेकी मुलुकमा एचएमपिभी भाइरसको प्रभाव ?
अहिलेसम्म न त चीन सरकार न त विश्व स्वास्थ सङ्गठनले नै अधिकारिक रुपमा एचएमपिभी भाइरसले गर्दा चीनमा महामारीको अवस्था सिर्जना भएको छ भनेर स्वीकार गरेको छ । अझ हालै रोयटर्सको ‘फ्याक्ट चेक’को विश्लेषणले एचएमपिभी भाइरसले गर्दा चीनमा महामारीको अवस्था नआएको अनि स्वास्थ आपत्काल पनि घोषणा नगरिएको भन्ने तथ्य सार्वजनिक गरेको थियो ।
जाडो महिनामा विशेषतः श्वास-प्रश्वाससँग सम्बन्धित लक्षणहरु देखिने हुँदा त्यसका कारक मानिने फ्लु, कोभिड-१९, आरएसभी भाइरस, माइकोप्लाज्मा निमोनियाजस्ता सङ्क्रमणहरु भने देखिएको भनिएको छ । यी सङ्क्रमणहरु सामान्यतयाः हरेक वर्षजसो जाडो महिनामा चीनमा मात्र नभएर नेपाललगायत विश्वका विभिन्न देशहरुमा देखिने गर्दछ । कोभिड-१९ ‘प्यान्डेमिक’को समयमा भारतमा नयाँ ‘भेरियन्ट’ देखिँदा त्यसको केही हप्तामा नेपालमा पनि देखिने गर्दथ्यो । त्यसो हुनाले चीनमा महामारीको रुप लिएको भनिएको एचएमपिभी भाइरस भारतमा पनि देखिएको समाचारले पक्कै पनि नेपाल तरङ्गित नहुने भन्ने कुरै भएन । तर एचएमपिभी भाइरस भारत तथा नेपालका लागि कुनै नौलो भाइरस भने होइन । यो भाइरस वास्तवमा विगतका वर्षहरुमा गरिएका विभिन्न अनुसन्धानबाट समुदायमा रहेको पुष्टि हुँदै आइरहेको थियो ।
नेपालमा गरिएका केही अनुसन्धानहरुले चारदेखि १३ प्रतिशतसम्म बिरामीमा यो भाइरस पुष्टि हुने गरेको देखाएको छ । यस अर्थमा पनि हाल भारतमा एकपछि अर्को एचएमपिभी भाइरस देखिनुमा कुनै विशेष वा त्रसित हुनुपर्ने आधार देखिँदैन । जाडो महिनामा यो भाइरसको परीक्षण नियमित गर्ने हो भने हरेक वर्षजसो नै देखिने सम्भावना प्रबल रहन्छ । नेपालमा पनि अहिले (जाडो महिनामा) परीक्षण गर्ने हो भने भारतमा जस्तो एकपछि अर्कोमा देखिने सम्भावना रहन्छ ।
यस हिसाबले भाइरस देखिनु आफैँमा महत्वपूर्ण वा त्रसित हुनुपर्ने अवस्था होइन तर यसको प्रभावले ठूलो प्रकोपको रुप लिन्छ वा लिँदैन भन्ने कुरा विशेष रुपमा लिनुपर्दछ । यद्यपि, सङ्क्रमण हुनु आफैँमा राम्रो भने होइन । तसर्थ, यसबाट बच्ने उपायलाई भने कार्यान्वयन गर्नु उचित हुन्छ किनभने बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुका लागि भने कहिलेकाहीँ यो भाइरसले घातक अवस्था सिर्जना गर्न सक्दछ ।
कस्तो अवस्थामा हुन सक्छ एचएमपिभी भाइरस बढी सङ्क्रामक ?
कुनै पनि सरुवा रोग कहिले पनि बढी सङ्क्रामक वा घातक हुँदैन भन्न सकिँदैन । कतिपय सङ्क्रमणहरु कहिले सामान्य त कहिले घातक हुने गरेको विगतका अनुभवहरु छन् । विशेषतः सङ्क्रमणको जिनमा नै परिवर्तन भए बढी सङ्क्रामक वा घातक हुने सम्भावना बढेर जान्छ । जस्तैः कोभिड-१९ निरन्तर र छिटो-छिटो जिनमा परिवर्तन हुँदा/देखिँदा बहु-लहर देखिनाका साथै थप सङ्क्रामक वा घातक भेरियन्टका रुपमा जन्म भएको थियो । यसर्थ, एचएमपिभी भाइरसमा यस्तै (कोभिड-१९ मा जस्तै) अवस्था नआउला भन्न सकिँदैन । श्वास-प्रश्वाससँग सम्बन्धित भाइरसहरु विगतमा अनि भविष्यमा पनि सम्भावित प्यान्डेमिक सङ्क्रमणका रुपमा हेरिँदै आइरहेको रोग हो । हाल एचएमपिभी भाइरसलाई सामान्य रोगका रुपमा लिएको भए तापनि भविष्यमा बढी सङ्क्रामक तथा घातक नहोला भनेर भन्न सकिने अवस्था होइन । तसर्थ, यो भाइरसको नियमित र निरन्तर निगरानी आवश्यक देखिन्छ ।
अन्तमा, एचएमपिभी भाइरस खासगरी जाडो महिनामा बढी सक्रिय भई फ्लुजस्तो लक्षण देखाउने एक सरुवा रोग हो । हाल चीनमा यो भाइरसलाई महामारीको कारक मानिएको हल्ला व्यापक भए पनि यसको विश्वसनीय अधिकारिक पुष्टि भने हुन सकेको छैन । भारत तथा नेपालका लागि यो भाइरस नौलो होइन । तसर्थ, हाल भारतमा एकपछि अर्कोमा देखिँदै आइरहेको भनिएको एचएमपिभी भाइरस अनुमानित नै मान्नुपर्दछ । तर भारतमा अस्वाभाविक अस्पताल भर्ना गर्नुपर्ने बिरामी सङ्ख्यामा वृद्धि वा मृत्यु भएको अवस्था नदेखिएमा नेपाल त्रसित हुनुपर्ने कुनै आधार देखिँदैन ।
नेपालमा जाडो महिना लागेसँगै बालबालिकाहरुमा फ्लुको जस्तो लक्षणहरु देखिन सुरु भइसकेको छ । तसर्थ, नेपालमा पनि फ्लुसँगसँगै एचएमपिभी भाइरसको प्रयोगशाला परीक्षण गरियो भने भारतमा जस्तै नेपालमा पनि एकपछि अर्कोमा यो भाइरस नदेखिएला भन्न सकिँदैन, जुन हाम्रो लागि अनुमानित मान्नुपर्दछ ।
(लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ)