नवराज घिमिरे
काठमाडौं, २३ माघ ।
देशमा अहिले सत्तागठबन्धन सरकार छ। त्यो पनि ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको l यी दुई ठूला दलसँग दुई-तिहाइ बहुमत छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन्। उनै प्रधानमन्त्री ओली विभिन्न सार्वजनिक कार्यक्रमका मञ्चमा स्पष्टीकरण दिँदै हिँडिरहेका छन् “यो सरकार पूरा अवधिसम्म टिक्छ, कसैले चाहेर पनि ढाल्न सक्दैन। बजारका हल्ला मिथ्या हुन्, त्यसमा कुनै सत्यता छैन।”
तर उनले बोल्नै नपर्ने, अनावश्यक विषयमा किन बारम्बार धारणा राखिरहेका छन् ? किन बेमौसमी बाजा बजाइरहेका छन् ? सरकार बाहिर देखिएजस्तो बलियो नभएर आन्तरिक रूपमा कमजोर महसुस गरेर हो ? कि गठबन्धनभित्रै गहिरो असन्तुष्टि छ ? नत्र सरकार पूरा समय टिक्ने उद्घोष गरिसकेको व्यक्ति आजभोलि किन बारम्बार “सरकार ढल्दैन” भनेर भनिरहन्छन् ?
बजारमा विभिन्न प्रश्न उठ्न थालेका छन्। ओलीले जति नै सत्ता नढल्ने रटान लगाए पनि जबसम्म शेरबहादुर देउवाले चाहँदैनन्, तबसम्म प्रतिपक्षले अनेक डिजाइन गरेर, जोडबल लगाएर ओली सरकार ढाल्न सक्दैन।
अर्को महत्वपूर्ण पाटो के छ भने, देउवा तत्कालै ओली सरकारलाई पदच्युत गरेर नयाँ गठबन्धन बनाउन इच्छुक देखिँदैनन् । कांग्रेस आफैं आन्तरिक रूपमा अन्योलमा छ। यस्तो परिदृश्यमा बुद्धिजीवी वर्गले अनेक अड्कलबाजी गर्न थालेका छन्।
विदेशी चासो र सत्ता समीकरण
नेपालको राजनीतिमा विगतदेखि नै विदेशी शक्ति केन्द्रहरूको चलखेल रहँदै आएको छ। तर, हाल भारतले नेपालमा सत्ता परिवर्तन गराउने कुनै संकेत देखाएको छैन। ओलीलाई हटाएर प्रचण्ड वा देउवालाई राख्दा खासै फरक नपर्ने ठानेर भारत तत्काल चासो लिइरहेको देखिँदैन।
भारतले केही मात्रामा रुचाएका शेखर कोइराला अहिले नै आफूलाई प्रधानमन्त्रीको दौडमा उभ्याउन सकेका छैनन्। जबसम्म भारतले आफ्नो अनुकूलको व्यक्ति फेला पार्दैन, तबसम्म प्रधानमन्त्री परिवर्तनको खेल नचल्ने अनुमान गर्न सकिन्छ।
ओलीको रणनीति र सत्ता जोगाउने प्रयास
केपी ओली अहिले देउवालाई नबिच्काउने रणनीतिमा देखिन्छन्। उनले प्रचण्डलाई देखाएर २०८४ सम्म गठबन्धन कायम राख्ने संकेत दिएका छन्।
ओलीले कांग्रेसका चर्चित युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्मालाई पनि आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन् । उनीहरूले राख्ने प्रस्तावहरू सहजै स्वीकार गर्ने जस्ता घटनाक्रमहरू बाहिर आउन थालेका छन्।
त्यसैगरी, मधेशवादी दलहरूलाई भारतले खासै वास्ता नगरेको देखिँदा, ओलीलाई ठूलो चुनौती महसुस नभएको पनि आँकलन गर्न सकिन्छ।
ओली किन हतास देखिन्छन् ?
ओलीले सत्ता परिवर्तनको चर्चा गरिरहनु सोचेजस्तो काम सात महिनाभित्र गर्न नसक्दा उत्पन्न भएको हतास मनोवृत्तिको प्रतिबिम्ब मात्र हो भन्ने विश्लेषण गर्न सकिन्छ।
त्यसो त, प्रतिपक्षीहरू विशेषगरी प्रचण्डलाई जिस्क्याउने शैलीमा “गठबन्धन ढालेर देखाऊ” भन्ने चुनौती दिइरहेका छन् । त्यसको प्रतिक्रिया स्वरूप ओली “सरकार ढल्दैन” भन्ने अभिव्यक्ति दिँदै हिँडेका हुन्।
तर, यथार्थ के छ भने देशभर ओलीका काम कारबाहीप्रति असन्तोष बढ्दै गएको छ। चाहे पार्टीभित्र कारबाहीको डण्डा चलाएको विषय होस् चाहे प्रधानमन्त्रीको हैसियतमा गरेका अध्यादेशहरू हुन्, चाहे रवि लामिछानेविरुद्ध चलेका मुद्दाहरू हुन्, यी सबै घटनाक्रमले सर्वसाधारणदेखि विभिन्न समुदायका नागरिकहरू सबै ओलीप्रति असन्तुष्ट देखिन्छन् ।
गाउँ-शहरका चिया पसल, चौतारा, सार्वजनिक स्थलहरूमा ओलीविरुद्ध चर्चा चल्न थालेको छ। कतै ओली आफैंले एमालेलाई कमजोर बनाउने त होइनन् भन्ने चिन्ता समेत पार्टीभित्रै उत्पन्न हुन थालेको छ। तर, कोही खुलेर बोल्ने अवस्था देखिँदैन। बोलिहाले “भीम रावल” को नियति भोग्नुपर्ने डर एमाले नेताहरूमा देखिन्छ।
पुराना नेताहरूको वर्चस्व र जनताको निराशा
नेपालको राजनीतिमा अचम्म लाग्ने कुरा के छ भने ठूला दलका पुराना नेताहरू ३५ वर्षदेखि सत्तामा घुमिरहेका छन् । नयाँ युवा नेताहरू केही गर्छौं भनेर उठे पनि तिनै सत्ताधारीहरूमा विलीन भइरहेका छन्। त्यसैले, जनतामा चरम निराशा बढ्दै गएको छ। युवाहरू राजनीतिप्रति चासो गुमाउँदै छन्। देशमा भविष्य देख्न नसकेर विदेश पलायन हुने क्रम तीव्र गतिमा बढेको छ।
यो देशका लागि अत्यन्तै घातक संकेत हो । समयमै नेतृत्वले आफूलाई सुधार्न सकेन भने जनताको आक्रोश थेग्न मुस्किल पर्नेछ। त्यसैले, ओलीसहित सम्पूर्ण नेतृत्वले समयमै आत्मसमीक्षा गरेर आफूलाई सुधारर्नु समीचीन देखिन्छ ।