एलपी पौड्याल
काठमाडौं, ३२ जेठ ।
“आन्दोलनमा एउटा खुट्टा गुमाएको हाम्रो कार्यकर्ता बाटोमा उभिएर हात उठाउँदै छ, गाडी रोकिद्युँ हजुर ?”
“आन्दोलन भनेको त्यस्तै हुन्छ । धेरैको ज्यानै गयो, ऊ त बरू बँचेछ । म आफैं पनि झण्डै–झण्डै शहीद भएको । हिजो आन्दोलनमा सघायो भन्दैमा बाटोमा भेटिने सबैलाई गाडीमा चढाएर साध्य हुन्छ ? उनीहरूका लागि हामीले लोकतन्त्र ल्याइदिएका छौँ ।”
“हजुरले आन्दोलनपछि गरिब र मजदुरका हातमा सत्ता आउँछ, एउटा मजदुर देशको राष्ट्रपति, प्रधानमन्त्री बन्न सक्छ, उसले सबै गरिब र मजदुरहरूको कल्याण हुने कार्यक्रम ल्याउँछ, लोकतन्त्रमा कसैमाथि पनि विभेद हुँदैन भनेर भन्नुभएको होइन ?”
“त्यो त भन्ने कुरा मात्र हो अमर ∕ राष्ट्रपति, प्रधानमन्त्री भए पछि को गरिब रहन्छ र को मजदुर हुन्छ ? अनि वास्तविक गरिब र मजदुर नभएको मुलुक कहाँ छ ? नेतृत्वले शासन गर्ने भनेकै त्यस्तै गरिब र मजदुरमाथि हो । अभाव र पीडा नभए को नेतृत्वको पछि लाग्छ ? अप्ठ्यारो नपरी मान्छे मन्दिर त जाँदैनन् । समानताका कुराहरू त जनता आन्दोलित बनाउने क्षेप्यास्त्र मात्र हुन् । तिमी राजनीति बुझ्दैनौ अमर… । अह्राएको काम गर तर बुझ्ने प्रयास नगर । नेता बन्न र नेतृत्व गर्न सजिलो छैन ।”
“………………………”
“अरे, यो बीच सडकमा नै गाडी किन रोकेको अमर ?”
“नेताज्यू, अब म तपाईको गाडी चलाउँन सक्तिनँ । ढिलै भए पनि तपाईले मेरो पनि आँखा खोली दिनुभयो । अबदेखि तपाईको यो झुटको गाडी आफैँ चलाउनुहोस् ।”
“अमर…..।”
आफ्नै चिच्याहटले नेता व्युँझिए । उनी हालै खरिद गरेको नयाँ बङ्गलाको सुविधा–सम्पन्न कोठामा आराम गरिरहेका थिए । टेबलमा एउटा पत्रिका फरफराई रहेको थियो । मुख्य शीर्षक परैबाट देखिन्थ्यो– ‘आन्दोलनलाई नेताले सत्तामा पुग्ने भ¥याङ मात्र बनाए ।’
सबै स्थिति बोध भएपछि आश्वस्त हुँदै उनी बर्बराए– “धन्न सपना मात्रै रहेछ ।”