मौद्रिक नीतिको पर्खाइमा सेयर बजार

अर्थमन्त्री डा युवराज खतिवडाले जेठ १५ मा संघीय संसदमा आर्थिक बर्ष २०७६-७७ को बजेट पेश गरेपछि लगानीकर्ताहरू उत्साहित भएका थिए । बजेट सार्वजनिक भएलगत्तै सेयरमा अत्याधिक उत्तारचढाव देखियो । नेप्से माथि पुगेर पुनः तल झर्ने क्रमले केही दिन निरन्तरता पाएपछि बजार ओरालो लाग्न थालेको हो ।

सरकारले बजेटमार्फत् पुँजीगत लाभकरको दर व्यक्तिगत लगानीकर्ताको लागि ७ दशमलव ५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेको छ । यसअघि ७ दशलमव ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था थियो । गत वर्षको बजेटमा सरकारले ५ प्रतिशतको पुँजीगत लाभकरलाई बढाएर ७ दशमलव ५ प्रतिशत पुर्याएको हो । बजेटले गैरआवासीय नेपाली (एनआरएन) लाई प्रत्यक्ष लगानीको बाटो खुला गर्ने घोषणा गरेको छ । यो व्यवस्था कार्यान्वयनमा आएसँगै विदेशमा रहेका नेपालीहरूले अनलाइनमार्फत् नै सेयर किनवेच गर्न सक्नेछन ।

तस्विरमा लेखक उद्धव सिलवाल


त्यसैगरी बजेटमा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको संस्थागत सुधारको बिषयलाई पनि समावेश गरिएको छ । पुँजी बजार तथा ऋणपत्रको दोस्रो बजार कारोबारलाई विद्युत्तीय प्रणालीमार्फत् गरिने, विद्युत्तीय कारोबार प्रणालीलाई सुरक्षित र पारदर्शी बनाइने,सरकारी ऋणपत्र खरिद बिक्रीका लागि अनलाइन प्रणाली विकास गरिने विषयलाई बजेटले सम्बोधन गरेको छ ।

निश्चित रकमभन्दा बढी कारोबार गर्ने लगानीकर्ताको स्थायी लेखा नम्बर ९प्यान० सहितको विवरण नेप्से तथा सीडीएससी राफसाफ प्रणालीमा आबद्ध गराउने,सेयर कारोबारको पुँजीगत लाभकर गणना भारित औसत लागत विधिबाट गरिने जस्ता बिषयलाई बजेटले समेटेको छ । सेयर धितो कर्जाको सीमा ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पुर्याइएको छ । यी सबै बिषय सकारात्मक हुन तर पनि बजारमा अपेक्षित सुधार हुन सकेको छैन ।

बजेटपछि बजारमा सुधार आउन नसक्नुमा लगानीकर्ताहरू आगामी मौद्रिक नीतिको पर्खाइमा रहेका छन् । उनीहरू मौद्रिक नीतिमार्फत बैक तथा बित्तीय संस्थाको ब्याजदर घटने पक्षमा आशावादी छन् । सोही कारण बजार बढ्न सकेको छैन । यससँगै असार महिनामा सेयर ऋण लिएका लगानीकर्ताहरूले ब्याजको किस्ता तिनुपर्ने भएको कारण पनि बजारमा सेयर बिक्री चाप बढिरहेको छ । सोही कारण पनि बजारमा सुधार आउन नसकेको हुन सक्छ ।

वर्षौंदेखि बजेट भाषणलाई आमनागरिकले सुन्दै आएका छन् । पञ्चायतकालमा डा प्रकाशचन्द्र लोहनी, २०४७ सालपछि महेश आचार्य, डा। रामशरण महत, गणतन्त्रकालमा डा बाबुराम भट्टराई, सरेन्द्र पाण्डेलगायतका भाषण सुनिसकेका आम लगानीकर्तालाई बजेट नौलो र अनौठो लाग्न छोडिसकेको छ । उनीहरू बजेटमा ब्यक्त गरिएका विविध पक्षको कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने कुरा नै सबैभन्दा बढी महत्वपूर्ण हुने भन्दै पर्ख र हेरको अवस्थामा रहेका छन् । सर्वसाधारणले मात्र नभएर प्रतिपक्ष दल नेपाली काग्रेस र सत्ता पक्षका केही नेताहरूले बजेटको कार्यान्वयन पक्ष हेर्नुपर्ने बताउनुले पनि यसको कार्यान्वयनसँगैं बजार कता जान्छ त्यसमा भर पर्ने देखिन्छ । अहिलेको बजारमा छोटो अवधिमा सेयर किनेर नाफा बुक गर्ने केही लगानीकर्ता हाबी भएका छन् । सट्टेबाजहरूको कारण बजार अपेक्षा गरे अनुसार माथि जान सक्ने देखिंदैन । एक अर्बभन्दा बढी कारोबार भएको हाम्रो सेयर बजारमा बजेटपछि ४० करोड रुपैयामा कारोबार झरिसकेको छ । नेप्से १ हजार २ सय ६० अंकको हाराहारीमा रहेको छ ।

सेयर बजार घटनुमा बैंकले प्रबाह गर्ने ब्याजदर मुख्य कारक तत्त्वको रूपमा रहेको देखिन्छ, किनकि बजारमा अहिले पनि तरलताको अभाव देखिएको छ । संस्थागत लगानीकर्ताहरूले ९ प्रतिशतभन्दा बढीमा मुद्दति निक्षेपमा ब्याज दिइरहेका छन् । उनीहरूले त्यस्तो रकम कर्जाको रूपमा प्रबाह गर्दा १३-१४ प्रतिशत ब्याज लिइरहेका छन् । अझै पनि निक्षेप र कर्जा वीचको स्प्रेडदर घट्न सकेको छैन । जबसम्म कर्जामा उच्च ब्याजदर कायम रहन्छ, तवसम्म सेयर बजार चलायमान हुन सक्दैन । पहिलेको तुलनामा अहिले तरलता अभावमा केही सुधार भएपनि बजारम अझै पनि रकम अभावको चाप देखिएको छ । तरलता अभाव जति चुलिँदै जान्छ, सेयर बजार पनि त्यही रूपमा तल झर्ने विगतको कारोबारले देखाइसकेको छ । चलनचल्तीको ब्याजदर र यसको कोरिडोरमा असन्तुलन पनि त्यति नै बढ्दै जान्छ । नेपाल राष्ट्र बैंकले तरलता अभाव हुन नदिने नीति समेट्नु पर्नेमा व्यवहारमा लागु हुन सकेको छैन । यसको लागि केन्द्रीय बैकले अनिवार्य तरलता अनुपात एवम् वैधानिक तरलता अनुपात घटाउने नीति कार्यन्वयनमा ल्याएमा मात्रै ब्याजदरको कोरिडोर सन्तुलनमा आई प्रभावकारी हुन सक्छ । यसलाई अब आउने मौद्रिक नीतिले समेटेमा बजारमा केही माात्रामा भएपनि सुधार आउन सक्ने अपेक्षा गर्न सकिन्छ ।

अहिले हाम्रो सेयर बजारमा लाखौं लगानीकर्ता पुगिसकेका छन् र बजारमा खरबौं रूपैंया लगानी भइरहेको छ । तर बजारमा भने उत्साहजनक सुधार आउने छाँटकाँट नै देखिंदैन । यसको सम्बोधन गर्नुपर्नेमा त्यसतर्फ अझसम्म पनि सम्बोधन हुन नसकेको आभाष बजारमा तरङ्गित भएको छ । देशको अर्थतन्त्रको मुटुको रूपमा रहेको सेयरबजारमा सुधार आउन नसक्दा लगानीकर्ता र सेयरबजारसँग सरोकार राख्ने चिन्तित बनिरहेका छन् ।

सेयर बजारमा सुधार आउन नसक्नुमा ठूला लगानीकर्ताले बेलाबेलामा गर्ने चलखेल नै हो । बजारमा कमाउनेभन्दा गुमाउने बढिरहेका छन् । सानो–सानो सूचनालाई गलत व्याख्या गरेर कमाउने समूह हावी हुन पुग्दा सेयर बजार स्वचालित रूपमा अघि बढ्न सकेको छैन । संस्थागत लगानीकर्ताको अभावको फाइदा सिमिति व्यक्तिले लिइरहेको बजार अध्ययनले देखाएको छ । बैंक तथा वित्त कम्पनीको पुँजी वृद्धि र बिमा कम्पनीको पुँजी वृद्धिले बजारमा सेयर आपूर्ति बढाएको छ । पछिल्लो समय सेयर बजारको प्रवृत्ति हेर्दा मूल्य बढेपछि विक्रीको चाप बढने गरेको देखिन्छ । आपूर्ति बढेपछि नेप्से तल झर्छ र झरिरहेको छ । बजेटपछि बजार बढ्ने आशामा १५ लाख बढी लगानीकर्ताहरूले आशा गरेका थिए र नवप्रवेशी लगानीकर्ताहरू बजारमा थपिएका थिए । बजारमा सुधारको क्रम रोकिए पनि उनीहरूले बजारबाट निरास हुनुपर्ने अवस्था देखिंदैन । किनकि विगतको भन्दा अहिलेको बजोटमा धेरै कुरालाई सम्बोधन गरेको कारण नयाँ आर्थिक बर्षदेखि बजारमा सुधार आउने आँकलन गर्न सकिन्छ । असारमसान्तभित्रै आउने मौद्रिक नीतिले ब्याजदर नियन्त्रण गर्ने नीति लिन्छ वा लिंदैन भनेर लगानीकर्ताहरू पर्खेर बसिरहेका छन् । मौद्रिक नीतिले ब्याजदर घटाउनेतर्फ नीतिगत व्यवस्था गर्ने आशा बाहेक अहिले अरू केही गर्न सकिंदैन । ब्याजदर घटाउने तर्फ नीतिगत व्यवस्था भएमा सेयर बजार पुरानै अवस्थामा अझ भनौ नेप्से १ हजार ८ सय अंकभन्दा माथि जान सक्छ । त्यसैले बजारमा देखिएको पुँजी पलायन र तरलता अभावको अन्त्य गरी कर्जा प्रबाहमा हुने ऋणको ब्याजदर घटाउने मौद्रिक नीतिको खाँचो सेयर बजारले महसुस गरेको छ ।

सम्बन्धित समाचार