नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असार ।
चालु आबको १० महिने अबधिमा मुलकको ब्यापार घाटा १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको चालु आबको बैसाख सम्मको बित्तिय प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।
यो अबधिमा आयात ब्यापार १९ दशमलब ६ प्रतिशतले बढेर ११ खर्ब ७८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ भने निर्यात ब्यापार १८ दशमलव १ प्रतिशत बढेर ७८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । निर्यातभन्दा आयात धेरै गुणा उच्च हुँदा ब्यापार घाटा १९।७ प्रतिशतले बढेर ११ खर्ब नजिक पुगेको हो ।
यो सगै शोधनान्तर घाटा ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । मुलुकभित्र आउनेभन्दा बाहिरिने रकम बढि हुँदा शोधनान्तर घाटा बढेको हो । अघिल्लो बर्षको बैशाखमा शोधनान्तर घाटा १८ अर्ब ९३ करोड रुपैया मात्रै थियो । यो अबधिमा चालु खाता घाटा २ खर्ब २१ अर्ब ४० करोड पुगेको छ । ३० खर्बको अर्थतन्त्रमा यो सात प्रतिशतभन्दा बढि हो । अघिल्लो बर्ष यस्तो घाटा १ खर्ब ९२ अर्ब रुपैयाँ थियो ।
भारतबाट भएको आयात १७ दशमलव २ प्रतिशत, चीनबाट ३३ प्रतिशत र अन्य मुलुकबाट १८ दशमलव ८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोसाक, हवाइजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, अन्य मेसिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजारलगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा ९८९ अर्ब ४० करोड रहेकोमा १० महिनामा ९१५ अर्ब ३९ करोड रहेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गत असारमा ११३ अर्ब १९ करोड रहेकोमा १० महिनामा १४५ अर्ब ३१ करोड पुगेको छ । यस अवधिमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव ६ प्रतिशत रहेको देखिएको छ ।
चालू आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह १९ दशमलव ६ प्रतिशतले वृद्धि भई ७२५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९ दशमव ३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव ३ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११ दशमलव ७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११ दशमलव १ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९ दशमलव ८ प्रतिशतले बढेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८ दशमलव ७ प्रतिशत, ३२ दशमलव ८ प्रतिशत र ४७ दशमलव ८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८ दशमलव ६ प्रतिशत, ३५ प्रतिशत र ४५ दशमलव २ प्रतिशत रहेको थियो । त्यस्तै, यस अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १७ दशमलव १ प्रतिशतले बढेको छ ।