नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असार ।
सानो छँदा एउटा नीतिकथा पढेको थिएँ । त्यसको कथासार यस्तो थियो– कुनै एक सामुन्द्रिक किनारमा एउटा अचम्मको चरो बस्थ्यो जसको शरीर र पेट भने एउटै थियो तर टाउका भने दुईवटा थिए । जुन टाउकोले खाए पनि एउटै पेटमा पुग्थ्यो । एकदिन पहिलो टाउकोले एउटा मीठो फल प्राप्त गर्छ र दोस्रो टाउकोलाई देखाउँदै खान्छ । दोस्रो टाउकोले पहिलो टाउकोसँग उसलाई पनि अलिकति दिन आग्रह गर्छ तर पहिलो टाउको ‘जसले खाए पनि पुग्ने पेट एउटै भएकोले धेरै चित्त नदुखाउनू’ भन्छ र दिंदैन । दोस्रो टाउकोलाई रिस त उठ्छ तर केही बोल्न सक्तैन । त्यसको केही समयपछि दोस्रो टाउकोले पनि एउटा नयाँ खालको फल प्राप्त गर्छ र पहिलोलाई देखाउँदै खान लाग्छ । पहिलो टाउकोले त्यो फल विषयुक्त भएको महसुस गर्छ र दोस्रो टाउकोलाई सम्झाउँदै त्यो फल नखान आग्रह गर्छ । तर पहिलो टाउकोले ईर्ष्याबस् उक्त कुरा भनेको ठानेर उसकोे कुरा सुनेको नसुनेझैं गरी दोस्रो टाउको त्यो नयाँ फल खानथाल्छ । वास्तवमा त्यो फल विषयुक्त नै हुन्छ । फलतः फल खाएको केही क्षणपछि नै त्यो दुई टाउके चरो पीडाले छटपटाउन थाल्छ र तत्कालै ऊ निष्प्राण हुन्छ । यसरी दुई टाउकाहरूको दम्भले बिचरा चराको जीवन नै समाप्त हुन पुग्छ ।
यदि सत्तापक्ष एउटा टाउको र प्रतिपक्षलाई अर्को टाउको मान्ने हो भने दुबैको पेट देश हो । विषयुक्त फल जुन टाउकोले खाए पनि त्यसको दुष्परिणाम् देशले नै भोग्ने हो ।
अहिले दुईतिहाइको सुविधाजनक बहुमत पाएको पाटी नेकपा सत्तामा र आफूलाई लोकतन्त्रको धरोहर मान्ने पाटी नेपाली काँग्रेस प्रतिपक्षमा छन् । दुबैतिर खारिएका, अनुभवी र स्वप्नद्रष्टा नेताहरूको पनि कमी छैन । तर उनीहरूको व्यवहार हेर्दा लाग्छ– उनीहरूले अझै धेरै कुरा सिक्न बाँकी छ । र, यिनीहरूको दम्भमिश्रित व्यवहारले मुलुक र लोकतन्त्र नै दुर्घटनामा पर्ने सम्भावना बढ्दो छ ।
सत्तापक्ष विना होमवर्क परीक्षा दिन बस्छ र परिणाम्चाहिँ उत्कृष्ट आओस् भन्ने ठान्छ । तयारीविना परीक्षामा बसेको देखेर कसैले उनीहरूको कार्य क्षमतामाथि प्रश्न गरे रिसले मुर्मुरिन्छ र धारे हात लगाएर सराप्न थाल्छ । दुईतिहाईको बलमा ऊ चाहन्छ– गुठी विधेयक, मिडिया काउन्सिललगायतका विधेयकहरूको सबैले स्वागत गरून् । तर हिजोे माइतीघर क्षेत्रमा गुठी विधेयकका विरूद्धमा उल्र्लेको जनसागरले सरकारलाई पर्याप्त होमवर्क नभएको आभास दिलाएको हुनुपर्छ । अनि कुनै विषयमा हल्का टिप्पणी गर्ने बानीलाई पनि सुधार्न सङ्केत गरेको हुनुपर्छ ।
प्रतिपक्षको सशक्त भूमिका देखिएन भन्ने जनगुनासो सुनेर आफ्नो उपस्थिति देखाउनकै लागि सत्तापक्षले गरेका राम्रा कामको पनि नजरअन्दाज गरी विरोध गर्नु मात्र पनि प्रतिपक्षको धर्म वा भूमिका होइन । सत्तापक्षका अलोकप्रिय कार्यको विरोध गर्नै पर्छ । प्रतिपक्षले आम जनताको बोली बोल्ने हो, उनीहरूका पीरमर्का र अप्ठ्याराहरूलाई सदन र सरकारमा अभिव्यक्ति दिने हो तर सशक्त भूमिका निर्वाह गर्ने बहानामा संसदीय मान्यता र परम्परालाई प्रतिपक्षले पनि भूल्नु हुन्न ।
जनता समयअनुसारको विकास र समृद्धि चाहन्छन् । अब त आफ्नो देश पनि गर्व गर्न लायक होस् भन्ने चाहन्छन् । अब नेपालीहरू भीजाको लागि विभिन्न दूतावासमा होइन, विकास र समृद्धिको नमूना हेर्न नेपाल आउन युरोपियन र अमेरिकीहरू भीजाका लागि नेपाली दूतावासमा लाम लागेको हेर्न चाहन्छन् । नेपाली युवाहरू रोजगारीका लागि खाडी जान लाइन लागेको होइन, खाडी गएका युवाहरू नयाँ जोस र जाँगर बोकेर नेपाल फर्केको हेर्न चाहन्छन् । नेपाली जनताको यो चाहना गलत हो र रु जनताले यो अपेक्षा अहिले नगरेर कहिले गर्ने रु व्यवहारमा रूपान्तरण हुन नसक्ने आदर्शको के अर्थ छ र रु सीमित व्यक्तिहरूबाहेक पहिलेका र अहिलेका जनताको आर्थिक सामाजिक अवस्थामा के तात्विक अन्तर छ र ? मुखले चाहिँ नेपाली जनता सार्वभौम छन् भन्ने तर व्यवहारमा चाहिँ सधैं होच्याउने कार्य गरिरहने हो भने र उनीहरूका सानामसिना गुनासाहरूको पनि यथोचित सम्बोधन नगर्ने हो भने जनता सरकार वा प्रतिपक्षका को छ भनेर बिर्सनेछन् र पुनः अर्को आँधी–हुरी ल्याउन जाग्रित हुन सक्नेछन् ।
अतः यो समय सत्तापक्ष र प्रतिपक्ष दुबै अत्यन्त संसमित र सन्तुलित भएर चल्ने समय हो । जनताका अपेक्षाहरू अनन्त होलान् तर प्राथमिकता निर्धारण गरेर चल्ने हो भने सरकारमा जो भए पनि जनताको साथ र समर्थन रहिरहने छ । एउटा प्यासीे बटुवाका लागि महासागरको नक्सा देखाउनेभन्दा एक घुड्को पानी पिलाउने व्यक्ति महान् हुन्छ । मुलुक त्यो महान् व्यक्तिको खोजीमा छ ।