नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असार ।
नेपाल विद्युत् प्राधिकरणको बब्यौता रकम चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १४ अर्ब २४ करोड ६८ लाख ५३ हजार ९७३ रुपैयाँ रहेको छ । प्राधिकरणले लामो समयदेखि विद्युत् महसुल उठाउन नसक्दा उक्त बक्यौता देखिएको हो । उद्योगी ब्यवसायी र राजनीतिज्ञ पनि बक्यौता रकम नतिर्नेको सूतिमा रहेका प्राधिकण स्रोतले बतायो ।
त्यस्तो बक्यौता रकम सबैभन्दा बढि सडकबत्तीबाट उठनुपर्ने देखिएको छ । सडकबत्तीको मात्रै ४ अर्ब ८४ करोड ८९ लाख ४१ हजार ७२७ रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ । सडकबत्तीको महसुल नगरपालिका तथा गाउँपालिकाले बुझाउनुपर्ने हो । तर विगत लामो समयदेखि नै नगर र गाँउपालिकाले महसुल बुझाएका छैनन ।
प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले सडकबत्तीको महसुल अर्थ मन्त्रालयले भुक्तानी गर्ने जानकारी दिए । महसुल नर्तिर्नेमा ट्रंक लाइन र डेडिकेटेड लाइन रहेका छन । डेडिकेटेड लाइनका केही ग्राहकले भुक्तानी गरिसकेका छन् भने केहीको बाँकी रहेको तथा अधिकांशको अदालतमा मुद्दा सुनुवाइ हुन बाँकी रहेकोले पनि ढिलाई भैरहेको प्राधिकरणले बताएको छ ।
ट्रंक लाइनको करिब ७० वटा उद्योगको महसुल उठन सकेको छैन । सबैभन्दा बढी जगदम्बा स्टिलको झुक्तानी हुन बाँकी रहेको छ । प्राधिकरणले घरेलु ग्राहकबाट ४ अर्ब ५७ करोड ११ लाख ४१ हजार ४५६ रुपैयाँ बक्यौता संकलन हुन बाँकी रहेको जनाएको छ ।
त्यस्तै, औद्योगिक क्षेत्रबाट २ अर्ब ९२ करोड ७५ लाख १३ हजार ३६८ रुपैयाँ, विद्यालय तथा संघ संस्थाको १ करोड ८५ लाख ८९ हजार ७७८ रुपैयाँ, व्यापारिक क्षेत्रको ३९ करोड ७८ लाख १३ हजार ५५७ रुपैयाँ, गैरव्यापारिक क्षेत्रको २८ करोड ५४ लाख १५ हजार १३५ रुपैयाँ, मनोरञ्जन क्षेत्रबाट १७ लाख ५३ हजार ८३४ रुपैयाँ, सिँचाइ तथा स्यालो ट्युवेलबाट १९ करोड ५४ लाख ७५ हजार ९६५ रुपैयाँ, खानेपानी संस्थाहरूबाट ७ करोड ७३ लाख ५७ हजार ३१९ रुपैयाँ, यातायात क्षेत्रबाट १९ लाख २४ हजार ९३४ रुपैयाँ, मन्दिरहरूबाट १६ करोड ५८ लाख ९६ हजार ५७० रुपैयाँ, सहकारी संस्थाहरूबाट २ करोड ४४ लाख ७५ हजार ७७२ रुपैयाँ, अल्पकालीन प्रयोगबाट १ करोड ४४ लाख ९३ हजार २३४ रुपैयाँ विद्युत् महसुल असुल गर्न बाँकी रहेको छ ।
प्राधिकरणको आन्तरिक क्षेत्रबाट मात्रै नभई बाह्य अर्थात् नेपालबाहिर विद्युत् निर्यात गरेको महसुल पनि असुल गर्नुपर्ने देखिएको छ । यसअन्र्तगत १ करोड ४९ लाख ३ हजार ६८३ रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ । त्यस्तै, चोरी-गैरकानुनी रूपमा विद्युत् प्रयोग गरेबापत १५ लाख ९७ हजार ७६६ रुपैयाँ र कालो सूचीका रहेका ग्राहकबाट ४९ करोड ७६ लाख ४७ हजार ९०१ रुपैयाँ गरी १४ अर्ब २४ करोड बढी बक्यौता असुल गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले ट्रंक र डेडिकेटेड लाइनमा रहेका कुन ग्राहकले कति विद्युत् प्रयोग गरे र कति कहसुल तिर्नुपर्ने हो भन्ने वास्तविक विवरण ल्याउन समिति गठन भैसकेको जानकारी दिए ।