नेपालमा पत्रकारिताको थालनी साहित्यिक पत्रकारिताबाट भएको हो : कार्यपत्र

काठमाडौंको अनामनगरमा शुक्रबार ‘साहित्यिक पत्रिकाका भावी रणनीति र स्थायित्वका आधार’ विषयक कार्याशाला गोष्ठी सम्पन्न भएको छ । शमी साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यशाला गोष्ठीको सभापतित्व प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले गरेका थिए ।

कार्यशालामा शमी साहित्य प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीधर गुरागार्ईले छलफलका लागि कार्यपत्र प्रस्तुत गरेका थिए भने रचना साहित्यिक पत्रिकाका प्रधानसम्पादक रोचक घिमिरे, अभिव्यक्ति साहित्यिक पत्रिकाका प्रधानसम्पादक नरेन्द्रराज शर्मा, साहित्यकार मोमिला जोशीलगायतले कार्यपत्रमाथि आ–आफ्नो धारणा राखेका थिए ।



कार्यक्रममा लिखित विचार प्रस्तुत गर्दै टिप्पणीकार रोचक घिमिरेले नेपालमा पत्रकारिताको थालनी नै साहित्यिक पत्रकारिताबाट भएको जिकीर प्रस्तुत गर्दै नेपालमा साहित्यिक पत्रिकाले जेठो पत्रकारिताको गौरवपूर्ण आसन हासिल गरे पनि व्यवहारमा भने त्यस्तो नभएको तथा सरकारले पनि साहित्यिक पत्रकारिता र खबर पत्रकारिताबीच ठूलो विभेद गरेको दुखेसो पोखे । कार्यक्रममा अर्का टिप्पणीकार नरेन्द्रराज शर्माले पनि साहित्यिक पत्रकारिता गर्दाका आफ्ना लामा तर कटु अनुभवहरू प्रस्तुत गर्दै राज्यले साहित्यिक पत्रकारितालाई हेर्ने दृष्टिकोण नै सकारात्मक नभएको टिप्पणी गरे ।

लक्ष्मीधर गुरागाईद्वारा प्रस्तुत कार्यपत्रमा शमी साहित्य प्रतिष्ठानको सङ्क्षिप्त परिचय र भावी कार्यदिशा, साहित्यिक पत्रिकाका भावी रणनीति र स्थायित्वका आधार विषयक कार्याशाला गोष्ठीको औचित्य र आवश्यकता, साहित्यिक पत्रकारिताप्रति सरकारको अनुदार सोचमा परिवर्तनको खाँचो, मुलुकमा ठूला ठूला परिवर्तनहरू भए पनि साहित्यिक पत्रिकाहरू यथास्थितिमा रहेका लगायतका विषयहरू उठाउँदै तिनीहरूको समयसापेक्ष समाधानको खोजी गर्न राउण्ड टेबलमा छलफलका लागि राखेका थिए ।

कार्यशालामा भैरव रिसाल, ऋषिराम बराल, पद्मावती सिंह, कृष्ण धरावासी, लक्ष्मणप्रसाद गौत्तम, माया ठकुरी, चेतनाथ धमला, नरेन्द्रराज पौडेल, अच्युतरमण अधिकारी, हिरण्यकुमारी पाठक, बाबा बस्नेतलगायतका स्रष्टाहरू र साहित्यानुरागीहरू तथा पत्रकारहरूको ठूलै उपस्थिति थियो ।

सम्बन्धित समाचार