नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ असार ।
काठमाडौें महानगरपालिका र आन्दोलनरत सिसडोलबासीबीच हालै सहमति भएपछि उपत्यकामा पाँच दिनदेखि थुप्रिएको फोहर उठ्न् थालेको छ । काठमाडौं महानगरपालिका र सिसडोल ब्यवस्थापन सङ्घर्ष समितिबीच प्रभावित क्षेत्रको ४२ रोपनी जग्गा अधिग्रहण गर्ने, स्थानीयबासीको स्वस्थ्य बिमा गर्ने र सिसडोल क्षेत्रमा सिर्जित समस्या समधान गर्ने सहमति भएपछि फोहर उठ्न थालेको हो । सहमति कार्यान्वयनका लागि काठमाडौें महानगरपालिकाको फोहर मैला व्यवस्थापन समितिका अध्यक्ष विकास डंगोलको संयोजकत्वमा १३ सदस्यीय समिति पनि बनेको छ । समितिले १५ दिनभित्रमा अध्ययन गरेर नेपाल सरकारलाई प्रतिवेदन पेस गर्ने काठमाडौें महानगरपालिकाका प्रवक्ता ईश्वरमान डँगोलले जानकारी दिए ।
पाँच दिनदेखि फोहर उठ्न नसक्दा काठमाडौें महानगरपालिकाका सडक र गल्ली फोहरको थुप्रोले हिड्न नै नसकिने गरी दुर्गन्धित भएका थिए । ‘सहमति भएलगतै हामीले फोहोर उठाउन थालेका छौं’ वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने ।
सिसडोलमा फोहर फाल्न बन्द गर्नुपर्ने र सिसडोल डम्पिङ साइटबाट उठेको समस्याको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवस्थापन गर्नुपर्ने माग राखेर स्थानीयले अवरोध गरेका थिए । काठमाडौं महानगरपालिकाको पहलमा नुवाकोट १ का प्रदेश सांसद बद्री मैनाली र ककनी गाउँपालिका–३ का वडा अध्यक्ष चन्द्रबहादुर बलामीलाई बोलाएर सहमती गरिएकोमा स्थानीयले सो सहमति नमान्ने भन्दै अबरोध गरेपछि प्रहरीले स्कटिङ्घ गरेर फोहर बोकेका गाडी डम्पिङ्ख साइटमा लैजान खोज्दा झडपसमेत भएको थियो । झडपमा ११ जना घाइते समेत भएका थिए ।
स्थानीयको पिडा महसुस गरेको छु : मेयर शाक्य
सिसडोल क्षेत्रका स्थानीयसँगको छलफलमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीयको पिडा आफुले पनि महसुस गरेको र त्यसको स्थायी समाधानका लागि आफू क्रियाशील रहेको बताएका छन् ।
.