नेपाली चलचित्र क्षेत्रलाई भुलेकी छैन : विपना थापा

६० को दशकमा नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी नायिका विपना थापा पछिल्लो समय यो क्षेत्रबाट टाढा छिन् । झण्डैं एक सयबढी चलचित्रमा अभिनय गरेकी उनलाई भर्सटाईल नायिकाको रूपमा चिनिन्थ्यो । भारतीय नागरिक डा आशुतोष भारद्वाजसँगको विवाहपछि उनी भारतको मथुरामा रहदै आएकी छिन् । एक छोराको आमा भैसकेकी विपनाले यसबीच नेपाली सिने क्षेत्रमा कमव्याकको लागि विभिन्न चलचित्रबाट अफरहरू आए पनि समय मिलाउन नसकेकोले यो अवसर नजुरेको बताउछिन् । अब चलचित्र खेल्यो भन्नको लागि मात्र चलचित्र गर्नुभन्दा पनि मलाई सुहाउदो र राम्रो स्क्रीप्टसहित राम्रो टीमबाट अफर आएमा र आफ्नो समय मिलेमा चलचित्र खेल्न तयार रहेको उनको भनाइ थियो । यसै सेरोफेरोमा उनीसँग पत्रकार राजु लामिछानेले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
पहिला पहिलाको भनाइ अनुसार हाउस वाईफ तर अहिलेको भनाइ अनुसार आउस मेकर हुँ । हुन त हाम्रो भारतको मथुरामा एउटा कलेज छ, म त्यस कलेजको निर्देशक पनि हुँ । दिनको केही घण्टा त्यता पनि बिताउछु । बाँकी समय घर परिवारसँगै बिताउछु ।



लामो समय नेपाली चलचित्र क्षेत्रमा बिताउनुभयो । चलचित्र क्षेत्रमा निकै व्यस्त रहँदारहँदै त्यो क्षेत्रलाई चटक्कै छोडेर भारत सिफ्ट हुनुभयो । नेपाली चलचित्र क्षेत्रलाई कत्तिको मिस गर्नुहुन्छ ?
मैले नेपाली चलचित्र क्षेत्रलाई मिस गर्दिन भन्दा पनि हुन्छ । सम्झना भनेको त्यसको आउछ, जसलाई हामीले बिर्सिएका हुन्छौं । मैले नेपाली चलचित्र क्षेत्रलाई कहिल्यै बिर्सिएको छैन । आज तपाई पनि भारत आउनासाथ यहाँ बिपना थापा छ भन्ने सम्झिएर मेरोमा आउनुभयो । मलाई यो स्थान नेपाली चलचित्र क्षेत्रले नै दिएको हो । मैले नेपालमै रहेका मेरा सहकर्मीहरू करिश्मा मानान्धर, सरिता लामिछाने लगायतसँग नेपालमा के भैरहेछ भन्ने बारे दैनिकजस्तो कुराकानी गरिरहेकी हुन्छु । विभिन्न अनलाइन पत्रिकामार्फत पनि नेपालमा के भैरहेछ भन्ने पढिरहेकी हुन्छु । त्यसैले मैले नेपाली चलचित्र क्षेत्रलाई भुलेकै छैन ।

अहिले आएर चलचित्र क्षेत्रमैं निरन्तरतता दिनपाएको भए हुन्थ्यो भन्ने लाग्दैन ?
त्यो त लागि नै हाल्छ । सँगै कुनै पनि मान्छेको पारिवारिक लाईफ पनि हुन्छ । एउटा कलाकारलाई आफ्नै क्षेत्रमा कुनै न कुनै रूपमा निरन्तरतता दिने चाहना हुन्छ नै । ममा पनि कलाकारकै रूपमा नभए पनि चलचित्र निर्माण गरेर या निर्देशन गरेर यो कर्मलाई निरन्तरता दिने चाहना आजको दिनमा पनि छ । सायद यो चाहना मर्ने बेलासम्म पनि रहिरहन्छ होला ।

तर पनि पछिल्लो समय बिभिन्न चलचित्रमा अफर गर्दा पनि विपनाले चासो दिएन भन्ने कुराहरू आईरहेको छ । किन यस बिषयमा तालमेल मिलेन ?
मैले कहिल्यै पनि मलाई यस्तो चलचित्रबाट अफर आएको थियो, गरिन भन्ने खालका आफ्नो प्रचार गर्ने खालको कुराहरू गरिनँ । मेरो विवाह भयो । बिहे पछि एउटा बच्चा भयो । वास्तविक जीवनमा मैले एक असल छोरीको भूमिका निभाएँ । पर्दामा विभिन्न खालका भूमिकाहरू निभाए । विवाहपछि कसैको श्रीमती भएँ, कसैको बुहारी भएँ । त्यसको साथसाथै म एउटा आमा पनि भएँ । छोरी, बुहारी र श्रीमतीभन्दा पनि मेरो लागि ठूलो रोल एउटा आमाको थियो । एक सफल आमाको वास्तविक भूमिकालाई निभाउँनको निम्ति मैले सबै कामलाई थाती राखेको हो ।

छोरा कति वर्षका भए ?
मेरो छोरा कुशाग्रह नौ वर्ष पूरा भएर दश वर्ष लाग्यो ।

यसको मतलव अब कुनै चित्तबुज्दो भूमिकाको लागि कुनै चलचित्रको लागि अफर आयो भने गर्न कुनै समस्या छैन ?
मलाई कलाकारकै रूपमा चिनेर मेरो परिवारले मसँग नाता जोड्नुभएको हो । मलाई चलचित्र गर्न मेरो परिवारले कहिल्यै रोकेन । कतिपयले विपनाले भारतीय राजनितिक परिवारसँग बिहे गरेर चलचित्र खेल्न पाइन भन्नुहुन्छ । तर त्यस्तो होइन । मेरो परिवार एकदम शिक्षित परिवार छ । मलाई बिहेपछि पनि चलचित्र क्षेत्रलाई निरन्तरता दिन परिवारले त आग्रह गर्दै आएको थियो । मेरो सासुआमाले त ‘विपनाको एक दिन शुटिङ हेर्ने हो’ भनेर भनिरहनुहुन्थ्यो । आज वहाँ स्वर्गीय भइसक्नुभयो । मैले परिवार र छोरालाई समय दिंदा चलचित्र क्षेत्रलाई समय दिनै भ्याइनँ ।
जहाँसम्म अब राम्रो भूमिका पाए चलचित्र गर्नुहुन्छ भन्ने तपाईको प्रश्न छ मलाई भूमिका राम्रो र नराम्रो भन्ने कुराले खास अर्थ राख्छ जस्तो लाग्दैन । मैले तँ त साह्रै बिग्रिस् नी बद्री भन्न चलचित्रमा साह्रै खराब भूमिका निभएकी थिएँ । सँगै माइली भन्ने चलचित्रमा युवतीहरूलाई समाजमा जागरण पैदा गर्ने खालको भूमिका पनि गरेकी थिएँ । त्यसैले राम्रो भूमिकामा अफर आए मात्र गर्ने भन्ने हुँदैन । एक कलाकारले जस्तो खालको भूमिकालाई पनि न्याय गर्नेे प्रयास गर्नुपर्छ । मेरो समय मिलेको खण्डमा म जस्तो भूमिकामा पनि आफूलाई उतार्न तयार छु । तत्काललाई बाबुको विदा मिलेकै समयमा मात्र मैले समय दिन सक्ने अवस्था छ ।

सिने क्षेत्रमा कमव्याककै कुरा गर्दा चलचित्र निर्माण या निर्देशनमार्फत पनि सिने क्षेत्रमा कमव्याकको कुनै सम्भावना छ ?
भोलिको दिनमा के हुन्छ म भन्न सक्दिनँ, तर पनि कुनै न कुनै रूपमा नेपाली चलचित्र क्षेत्रमा सहभागिता हुने मेरो पनि योजना छ । अर्को वर्षबाट बाबुलाई पनि होस्टेलमा राख्ने योजना छ । त्यसपछि कुनै न कुनै रूपमा नेपाली चलचित्र क्षेत्रसँग जोडिन्छु ।

चलचित्रमा धेरै खालका भूमिकामा देखिनुभयो । अहिले सोच्दा कुन चलचित्रमा मैले यो भूमिका दमदारसँग निभाएँ भन्ने लाग्छ ?
मलाई मन परेका धेरै चलचित्रहरू छन् । मलाई श्रीकृष्ण श्रेष्ठले निकै माया गर्नुहुन्थ्यो । अहिले वहाँ स्वर्गीय भइसक्नुभयो । मलाई वहाँले आलु नायिका भनेर नाम राखिदिनु भएको थियो । आलु भनेको हामी नेपालीहरूको लागि यस्तो तरकारी हो जुन जेसँग पकाउन पनि मिल्छ । जुन भूमिकामा पनि मिल्ने जोसँग पनि जोडी मिल्ने भएकोले मलाई वहाँले आलु नायिकाको उपमा दिनुभएको थियो । मैले आफूले आफैंलाई एउटा नायिका भन्दा पनि एउटा कलाकारको रूपमा चिनाउन चाहन्थें । त्यसैले मलाई मेरा प्रत्येक चलचित्र विशेष नै लाग्दथे र लाग्छन् पनि ।

यस्तो कुनै रोल थियो जो तपाईले चाहेर पनि गर्न पाउनुभएन ?
मलाई विश्वेश्वरप्रसाद कोइरालाको कुनै कृतिमाथि चलचित्र बन्यो भने त्यसमा काम गर्छु भन्ने लागेको थियो । त्यसैगरी नायिका करिश्मा मानन्धरको जीवनीमा कुनै चलचित्र बन्यो भने वहाँको भूमिका गर्ने रहर थियो । वहाँको संघर्षको समयदेखि एक सफल आमा र अहिले आएर विद्यालयमा पढिरहनुभएको छ, यो सबैलाई समेटेर चलचित्र निर्माण गर्ने हो भने त्यो नयाँ पुस्ताको लागि त्यो निकै उपयोगी हुन्छ भन्ने लाग्छ । अहिले पनि वहाँको जीवनीमा कुनै चलचित्र बन्छ भने मलाई त्यो चलचित्र गर्न मन लागेको छ । यो उमेरमा आएर पनि वहाँले विद्यालय गएर सिक्नको लागि कुनै उमेर चाहिदैन भन्ने उदाहरण दिनुभएको छ । नेपालका दुर्गम भेगका महिलालाई पनि उहाँ सकारात्मक सन्देश दिइरहनुभएको छ भन्ने लाग्दछ ।

नायिका थापासँग अन्तर्वार्ताको क्रममा पत्रकार राजु लामिछाने

धेरै नायकहरूसँग काम गर्नुभयो । कुन नायकसँग काम गर्दा सहज अनुभव हुन्थ्यो ?
मलाई त सबैसँग सहज नै लाग्थ्यो । रमेश र दिलिप धेरै नै नजिकका साथी थिए । उनीहरूसँग सधै जस्तो झगडा भइरहन्थ्यो । सुशील क्षेत्रीलाई म दाई मान्थें । वहाँ चलचित्रप्रति धेरै इमान्दार हुनुहुन्थ्यो । वहाँलाई गाई हिरो भनेर पनि चिनिन्थ्यो । राजेश हमाल निकै प्रोफेशनल हुनुहुन्थ्यो । मसँग त काम कसरी राम्रो हुन्छ भन्ने किसिमले सरसल्लाह पनि गरिरहनुहुन्थ्यो । श्रीकृष्ण श्रेष्ठ पनि निकै राम्रो कलाकार हुनुहुन्थ्यो । वहाँ पनि समग्र चलचित्र कसरी राम्रो बनाउन सकिन्छ भन्ने बारे हरसमय चनाखो भइरहनुहुन्थ्यो । रमित ढुंगानादेखि नयाँ पुराना सबै कलाकारसँग मलाई काम गर्न सहज नै लाग्थ्यो ।

तपाईको श्रीमान डा. आशुतोष भारद्वाज त राजनीतिमा पनि सक्रिय हुनुहुन्छ । घर परिवारलाई कत्तिको समय दिनुहुन्छ ?
एक त राजनीतिज्ञ, अर्को वहाँ त डाक्टर पनि । यो दुबै क्षेत्रमा भएपछि टाइम दिन त धेरै गाह्रो हुन्छ । तर पनि मेरो नेचर त सबैलाई थाहा छ, म जबरजस्ती टाइम लिन्छु । आज हामीलाई टाइम दिनुहोस्, आज यो ठाउँमा जाउँ, आज हस्पिटल नजानुस् भन्ने जस्ता कुराहरू गरिरहन्छु । कर गरी गरी समय मिलाउछु । तर पनि वहाँ धेरै नै व्यस्त हुनुहुन्छ ।

वहाँ त धेरै समय नेपालमा पनि बिताउनुभयो । नेपालीहरू यहाँ आउदा उहाँ कस्तो व्यवहार देखाउनुहुन्छ ?
आज कोही नेपाली हाम्रोमा आउदै हुनुहुन्छ भनेपछि जति धेरै व्यस्थ भए पनि ड्राइभरहरूलाई भनेर घरमा यो कुरा लैजाउ, त्यो लैजाउ भनेर भन्नुहुन्छ । वहाँले फोन गरेरै कुन ड्रिङ्स पिउनुहुन्छ, के के खान रूचाउनुहुन्छ भन्ने सोधेरै तयार गर्न लगाउनुहुन्छ । कोही नेपाली आउदै हुनुहुन्छ भनेपछि अघिल्लो दिनदेखिनै वहाँ निकै एक्साईटेड हुनुहुन्छ । समय मिलाउन थाल्नुहुन्छ । तपाईले पनि देखिहाल्नुभयो, तपाईहरू आएपछि कति समय घरमा दिइरहनुभएको छ । जो कोही नेपाली आएपछि वहाँ निकै फ्रेस हुनुहुन्छ ।

भारतको मथुरामा बस्नुहुन्छ । मथुरा त धार्मिक स्थलको रूपमा पनि निकै चर्चित छ । भगवान् श्रीकृष्ण यहीं जन्मिएका थिए भने राक्षसको प्रतीक मानिने कंश पनि यहीं जन्मिएका थिए । कुनै पनि मान्छेमा कृष्णको र कंश दुबैको गुण रहन्छ भनिन्छ । तपाईको श्रीमान्मा कृष्णको गुण के के छन् र कंशको गुण के के छन् ?

करिव ८ वर्ष नेपालमा बिताएको भएकोले आशुको क्यारेक्टर सबैलाई थाहा थियो । वहाँलाई कृष्ण र कंशको भन्दा पनि रामको प्रतीक मान्थे मेरा साथीहरूले पनि । बिहेपछि पनि आशुलाई चिन्नेहरूले मलाई सोझो रामजस्तो मधेशीलाई बिहे गरिस् भन्थे । मेरो माइत पनि वहाँलाई राम जस्तो ज्वाइँ भन्छन् । तर मैले भन्नुपर्दा वहाँ न राम, न कृष्ण, न कंश । वहाँको त भोले बाबा भक्ति भएर मस्त रहने शिवको जस्तो क्यारेक्टर छ । वहाँ जति आफ्नो प्रोफेशनमा समय दिनुहुन्छ त्यति नै भोले बाबाको भक्तिमा समय दिनुहुन्छ । नेपालमा पनि र यहाँ पनि घरको पूजाआजा गर्ने काम महिलाले बढी गर्छन् तर मेरो घरमा रहेको मन्दिरमा प्रत्येक दिन वहाँले नै पूजा गर्नुहुन्छ । बार अनुसार छुट्टाछुट्टै कपडा लगाइदिने विभिन्न प्रकारले पूजा गर्ने गर्नुहुन्छ । धर्मकर्ममा वहाँको निकै रूचि रहन्छ ।
(यो अन्तर्वार्ता करिब छ महिनाअगाडि भारतको मथुरामा लिएको भए पनि आज पनि यो सान्दर्भिक नै लागेर प्रकाशित गरिएको हो । –सम्पादक)

सम्बन्धित समाचार