डेढ दर्जन वाणिज्य बैंक बिग मर्जरमा

डेढ दर्जन बाणिज्य बैंक बिग मर्जरमा जाने भएका छन । नेपाल राष्ट्र बैंकले ठूला बैंकको संख्या घटाउने गरी ल्याएको बिग मर्जरका लागि वाणिज्य बैंकले लिखितको प्रतिबद्धता जनाएका हुन ।

आइतबार सम्म राष्ट्र बैंकलाई १५ वाणिज्य बैंकले लिखित प्रतिबद्धता बुझाएका छन् । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनसीसी बैंक, सेन्चुरी बैंक, एनआइसी एसिया बैंक, हिमालयन बैंकलगायतका बैंकले लिखित प्रतिबद्धता बुझाएका हुन ।



त्यसैगरी, राष्ट्र बैंकलाई लिखित प्रतिबद्धता बुझाउने वाणिज्य बैंकमा नेपाल इन्भेस्टमेन्ट बैंक, मेगा बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, सनराइज बैंक, लक्ष्मी बैंक तथा सिभिल बैंकलगायतका वाणिज्य बैंक रहेका छन् । यी बैंकले जोडी खोजेर होइन कि ‘मर्जरमा जान सकारात्मक छौं, जोडी खोजिरहेका छौं’ भन्ने खालको प्रतिबद्धता राष्ट्र बैंकलाई बुझाएका हुन् । ग्लोबल आईएमई बैंकले चाहिँ जोडी खोजेर सम्झौता गरिसकेको छ ।

राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले गत १२ असारमा वाणिज्य बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई डाकेर १९ असारसम्म मर्जरमा जाने गरी लिखित प्रतिबद्धता पेस गर्न निर्देशन दिएका थिए । तर, मर्जर प्रतिबद्धता नै तयार गर्न नसकेका कारण बैंकले तोकिएको समयमा राष्ट्र बैंकलाई लिखित प्रतिबद्धता पेस गर्न सकेको थिएन । राष्ट्र बैंकका प्रवक्ता निरौलाले आइतबारसम्म १५ बैंकको लिखित प्रतिबद्धता आएको बताए ।

राष्ट्र बैंकको निर्देशनअनुसार केही वाणिज्य बैंकले लिखित प्रतिबद्धता बुझाएको र अरू बैंकको पनि प्रतिबद्धता आउने क्रम जारी रहेको प्रवक्ता निरौलाले बताए । गभर्नर डा नेपालको निर्देशनपछि गत १७ असारमा बैंकर्स संघले २८ वटै बैंकका सीईओलाई डाकेर पूर्ण बैठकबाट मर्जरमा जानका लागि मौद्रिक नीति कुर्ने निर्णय भएको थियो ।

बैंकले मर्जरमा जान समिति बनाए सकारात्मक छौं भन्ने खालको प्रतिबद्धता बुझाउने गरी बैठक सकेका थिए । राष्ट्र बैंकले समय छोटो दिएको भन्दै तोकिएको समयमा लिखित प्रतिबद्धता बुझाउन नसकेको बैंकर्सको भनाइ छ । १९ असारसम्म नसके पनि मौद्रिक नीति आउनुअघिसम्म बुझाउने गरी बैंकले तयारी गरिरहेको प्रवक्ता निरौलाले बताए । बैंक मौद्रिक नीति आएपछि आफूलाई उपयुक्त हुने जोडी खोजेर मर्जरको प्रतिबद्धता बुझाउने दाउमा छन् ।

लोकप्रियता हराउने तथा जागिर गुम्ने डरले अधिकांश बैंकले बिग मर्जर नै चाँहादैनन् । तर, राष्ट्र बैंक नै बिग मर्जरका पक्षमा उभिएपछि बैंक दबाबमा परेका छन् । राष्ट्र बैंक भने सकेसम्म फकाउने नमाने फोर्सफुल मर्जरसमेत गर्ने पक्षमा छ ।

गत आर्थिक वर्ष २०७२-७३ को मौद्रिक नीतिमार्फत नै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन खाजेको थियो । तर, अरू वित्तीय संस्थाको तुलनामा वाणिज्य बैंकको संख्या नघटेपछि राष्ट्र बैंकले बिग मर्जरको नीति अघि सारेको हो ।

राष्ट्र बैंकले बैंकको संख्या १४-१५ वटामा झार्न चाहन्छ । नेपालमा विदेशी बैंकहरू पनि आउने विषयमा कुरा भइरहेकाले विदेशी बैंकहरूसँग प्रतिस्पर्धा गर्ने तथा ठूलाठूला परियोजनामा समेत लगानी गर्न सक्ने गरी बैंकलाई बलिया बनाउने अभियानमा राष्ट्र बैंक जुटेको छ ।

विश्व बैंक तथा अन्तर्र्रािष्ट्रय वित्त निगमलगायतका विदेशी संस्थाले लगातार बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन दबाब दिइरहेकाले राष्ट्र बैंकले मर्जरका बैंकहरूलाई लगातार दबाब दिइरहेको छ । राष्ट्र बैंकले असार २७ गते आर्थिक वर्ष २०७६-७७ को लागि मौद्रिक नीति ल्याउँदै छ ।

सम्बन्धित समाचार