रुद्रगंगा नेचुरल वाटर प्रालिले रसुवा पानी बजारमा ल्याएको हो । रसुवा जिल्लाको गोसाईँकुण्ड–६ धुन्चेमा उत्पादन भएको यो पानी शुक्रबार राजधानी काठमाडौँमा आयोजित विशेष समारोहमा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले रसुवा पानीको सार्वजनिक गरेकी हुन् ।
हिमाली पानी विश्वका मानिसलाई खुवाउने र देशलाई चिनाउने उद्देश्यसहित ‘रसुवा’ नामको पानी उत्पादन थालिएको कम्पनीका अध्यक्ष गणेशबहादुर भण्डारीले बताए । यस उद्योगबाट उत्पादित पानी नेपाली बजारमा मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री गर्ने योजना रहेको उनले बताए ।
पानीको बजारीकरण गर्नको लागि कम्पनीले कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ब्राण्ड एम्बास्डर बनाएको छ ।
साउनको अन्तिम सातादेखि पानी बजारमा लैजाने तयारी भएको र मूल्य निर्धारणको लागि काम पनि भइरहेको भण्डारीले बताए । २ वर्ष अघिदेखि निर्माण शुरु भएको रसुवा पानी उद्योग २०७६ वैशाखमा निर्माण सम्पन्न भएको हो । उद्योग स्थापना गर्ने क्रममा १० करोड रूपैयाँ लगानी भएको र बजारीकरणको क्रममा थप ५ करोड रूपैयाँ लगानी गर्न लागिएको उनले बताए ।
अन्तर्राष्ट्रिय बजारमा लैजाने भएकोले पानीको बोटलको डिजाइन, लेबलिङ उच्चस्तरको बनाएको कम्पनीले जनाएको छ । कम्पनीले लोपउन्मुख जनावर रेडपाण्डा संरक्षणमा सहयोग गर्ने भन्दै पानीको बोटलमा रेडपाण्डा तस्बिर राखेको छ । सफा बोटलको भित्र गोसाइँकुण्डको ताल र पृष्ठभूमिका हिमाल देखाएको छ । हाल कम्पनीले ३३० मिलिलिटर, ५०० मिलिलिटर, १ लिटर र १८ लिटरका बोटलमा पानी बजारमा ल्याएको छ । कम्पनीले पानीको मूल्य भने सार्वजनिक गरेको छैन ।
काठमाडौँबाट १७० किलो मिटर दूरीमा रहेको पानी उद्योगले दैनिक ५० हजार लिटर पानी प्रशोधन गरी प्याकिङ गर्नेछ । उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब ७० जनाले रोजगार पाएका छन् । रसुवा पानी तत्कालै देशभरका बजारमा पुग्ने र जापान, हङकङ र चीन पठाइनेछ । आगामी दिनमा युरोप, अमेरिका, अष्ट्रेलियालगायत विश्वभर नै बजार विस्तार गर्ने लक्ष्य रहेको रुद्रगंगा नेचुरल वाटर प्रालिका अध्यक्ष भण्डारीले बताए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री विना मगरले नेपालको पानी निर्यात गर्न सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने नेपाली उत्पादन निर्यात गर्ने काम निकै कठिन भएको बताए । छिमेकी देशहरूमा भन्दा नेपालमा कुनै पनि बस्तु उत्पादन लागत कम्तिमा ३० प्रतिशत बढी रहेको, श्रमिकको उत्पादकत्व ज्यादै कम भएको र पूर्वाधारको अवस्था नाजुक नै रहेको बताए ।
नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपालको बैदेशिक व्यापार घाटा सबैभन्दा ठूलो समस्याको रूपमा देखिएको जनाउँदै रसुवा पानी जस्ता उत्पादन निर्यात गर्न चेम्बर अफ कमर्श सक्दो सहयोग गर्ने जनाउँदै नेपाल सरकारले पनि यस्ता उत्पादन निर्यातमा सहयोग गर्नुपर्ने बताए ।
कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पहिला सामाजिक कार्यको मात्र प्रचार प्रसारमा सहयोग गर्दै आएकोमा अब नेपालको आर्थिक विकास र उत्पादन वृद्धिमा सहयोग पुर्याउने उदेश्यले राम्रा उत्पादनको ब्राण्ड एम्बेस्डर बन्न लागेको बताए । रसुवा पानी उत्पादनको उदेश्य राम्रो लागेको र गुणस्तरीय पनि भएकोले आफूहरूले लिनु पर्ने फि पनि नलिइ ब्राण्ड एम्बेस्डर बनेको आचार्यले बताए ।