गृहप्रवेश : ऐतिहासिकताको कलेवरमा प्रस्तुत एउटा प्रेम कथा

विषय–प्रवेश
जङ्गबहादुर राणाका कान्छा भाइ धीरशमशेरका चौथो पुस्ता, शेरशमशेरका नाति तथा बुधशमशेर तथा मोहनकुमारी राणाका कान्छा छोरा डायमनशमशेर राणा (१९७५–२०६७) एउटा सम्भ्रान्त परिवारसँग जोडिएका व्यक्तित्व हुन् । राणा परिवारसँग सम्बन्धित भएर पनि नेपाली साहित्यमा एउटा विशिष्ट पहिचान बनाउन सफल राणाको औपन्यासिक यात्राको थालनी वसन्ती (२००६) बाट भएको हो । वसन्तीलाई उनको पहिलो ऐतिहासिक उपन्यास मानिन्छ । राणाका वसन्ती, सेतो बाघ, सत्प्रयास तथा गृहप्रवेश ऐतिहासिक पृष्ठमूमिमा लेखेका उपन्यास हुन् भने प्रतिबद्ध, अनिता तथा धनको धब्बा सामाजिक उपन्यास हुन् । विवेच्य उपन्यास गृहप्रवेश (२०५९) ऐतिहासिक पृष्ठमूमिमा लेखिएको उनको पछिल्लो कृति हो । संयोग नै मान्नु पर्छ, उनले उपन्यास लेख्न आरम्भ गरेको पहिलो कृति वसन्ती र उनको उपन्यासलेखनको अन्तिम बनेको कृति गृहप्रवेश दुबै ऐतिहासिक पृष्ठभूमि बोकेका कृति बन्न पुगे ।

वस्तुतः गृहप्रवेशलाई ऐतिहासिक पृष्ठभूमि बोकेको एउटा सुन्दर साहित्यिक कृति मानिन्छ यद्यपि यस कृतिलाई ऐतिहासिक तथ्यले भन्दा औपन्यासिक कला सौन्दर्यको ओजले झपक्क थिचेको अनुभव हुन्छ । उपन्यासकारले विवेच्य कृतिको शीर्षक चयन गर्ने कुरादेखि विषयवस्तुको आरम्भ गर्ने, उत्कर्षता प्रदान गर्ने र समापन गर्ने सबै कुरामा आफ्नो कलापूर्ण चेतनाको विवेकपूर्ण प्रयोग गरेका छन् । ऐतिहासिक घटनाक्रम र तिथिमितिलाई नखल्बल्याई उपन्यासकार राणाले आफ्ना अघिल्ला कृतिहरूमा भन्न छुटेका र जीवनको उत्तरार्धसम्म आइपुग्दा मनन् गरेका कुरालाई गृहप्रवेशमार्फत् अभिव्यक्ति प्रदान गरेका छन् । उपन्यासभित्रका ऐतिहासिक तथ्यहरूको विश्लेषण गर्नु भन्दा कलात्मक सौन्दर्यलाई प्रस्तुत गर्नु यस लेखको अभीष्ट हो ।



गृहप्रवेश एउटा प्रेम कथा हो
वास्तवमा गृहप्रवेश सेर्बू र जङ्गबहादुरबीचको प्रेम कहानी हो । नुवाकोट जिल्लाको बुङताङ गाउँकी एउटी अनपढ पखिनी केटीले एकदिन जङ्गलमा अचानक एउटा युवकलाई सुतिरहेको अवस्थामा भेट्छे र एउटै हेराइमा ऊ त्यस केटाको मोहजालमा फँस्न पुग्छे । हार्दिकताको आदान–प्रदान गर्न भाषागत कठिनाइ बाधक बन्दैन, बरू थप रोमाञ्चक बन्दछ । सेर्बू त्यस युवकप्रति आकर्षित मात्र हुन्न मानसिक रूपमा उसलाई वरण गर्न पुग्दछे । तर प्रसङ्ग त्यतिमा नै सकिँदैन । वास्तविक रूपमा आफ्नो प्रेमीलाई प्राप्त गर्न भने सेर्बूले अनेक सङ्घर्ष गर्नु पर्दछ । आफ्नो प्रेमी दरबारिया भएको सङ्केत पाएपछि पे्रम प्राप्तिकै लागि ऊ कर्रा शिविर पुग्छे, सुसारेका रूपमा दरवार प्रवेश गर्छे, आफ्नो प्रेमी जङ्गबहाुरलाई शक्तिशाली बनाउन सहयोगी भूमिका खेल्दछे र अन्ततः ऊ आफ्नो उद्देश्यमा सफल पनि हुन्छे । त्यति मात्र होइन, प्रकारान्तरले ऊ आफ्नो प्रेमी जङ्गबहादुरको रक्षा कवच पनि बन्दछे ।

प्रेम प्राप्तिका लागि गरिएका अनेक प्रयत्न र संघर्षपछि सेर्बूले जङ्गबहादुरलाई पाउन सफल हुन्छे । आफ्नो प्रेमी जङ्गबहादुरलाई पाउने उद्देश्यकै लागि मात्र ऊ दरबार प्रवेश भएकी हो नत्र दरबार प्रवेश गर्ने उसको कुनै उद्देश्य देखिँदैन । सेर्बूले जङ्गबहादुरलाई प्राप्त गर्ने क्रममा मात्र दरबारभित्रका घात–प्रतिघात र षडयन्त्रहरूले उपन्यासमा प्रस्तुति पाएकोले यस कृतिमा ऐतिहासिक पक्ष सेर्बूको प्रेम कहानीका अगाडि दुर्बल मात्र बनेको छैन, जङ्गबहादुरको दरबारसँगको सम्बन्धका कारण पृष्ठभूमि मात्र बनेर आएको देखिन्छ । अतः गृहप्रवेशमा सेर्बू र जङ्गबहादुरको प्रेम कहानी साहस, समर्पण र निष्ठाको अद्धितीय नमूना बनेर प्रस्तुत भएको छ ।

उपन्यासको शीर्षक चयन गराइले पनि यस उपन्यासलाई सेर्बूको प्रेम कहानी हो भन्ने कुरालाई बल पु¥याउँदछ । उपन्यासको आरम्भ पनि सेर्बू र जङ्गबहादुरबीचको अनौठो प्रकारको भेटबाट भएको छ भने जङ्गबहादुरले महारानी बनाएर सेर्बूलाई गृह (थापाथली दरबार) प्रवेश गराएसँगै कथानक समापन भएको देखाइएको छ । उपन्यासको आरम्भ र अन्त्यका बीच प्रेम प्राप्तिका लागि सेर्बूले गरेको संघर्षले एउटा उचाइ पाएको छ । होला, जङ्गबहादुर उच्च महत्वाकाङ्क्षी र बहादुर पनि थिए । तर उपन्यासमा सेर्बूले जङ्गबहादुरलाई पाउन गरेको संघर्षपूर्ण यात्राका अगाडि प्रधानमन्त्रीको पद पाउन जङ्गबहादुरले देखाएको पराक्रम शौर्यहीन लाग्दछ । सेर्बूले जङ्गलमा भेटेर मनपराएको युवक जङ्गबहादुर नभएर अरू कुनै बहादुर भइदिएको भए नेपाल दरबारको प्रसङ्ग र यहाँभित्रका दाउपेच र षडयन्त्रको सन्दर्भ आउने नै थिएन । सेर्बूले जङ्गलमा भेटेको युवक संयोगले जङ्गबहादुर भएकोले मात्र विषयवस्तुले दरबारमा प्रवेश पाएको हो । सेर्बूकै सद्भाव र सहयोगी भूमिकाका कारण जङ्गबहादुरले प्रधानमन्त्रीको पद हासिल गरेको देखाइएकोले यो सिङ्गो उपन्यास नै त्याग र बलिदानको एउटा रोमाञ्चक प्रेम कहानी बन्न पुगेको छ ।

उमा र देवदूतको प्रेम प्रसङ्ग पनि प्रेमको आदर्शलाई एउटा उचाइमा पु¥याउन र गगनसिंहको हत्या जङ्गबहादुरबाट भएको होइन भनेर भनाउन प्रक्षेपण गरिएको एउटा रोमाञ्चक साहित्यिक प्रयास हो । यहाँ उपन्यासकार राणाले एक तीरले दुई शिकार गरेका छन् । कुर्सी र शक्ति हत्याउन रगतको खोला बगाउने संस्कृति मौलाएको अवस्थामा उमाले आफ्नो प्रेमी देवदूतलाई ‘प्राणनाथ ! हिँड्होस् माथि महारानीको दर्शन गर्न जाऊँ । तपाईलाई प्रधानमन्त्रीको पद हामी सिफारिस गरिदिन्छौं’ (राणाःपृ.१५९) भन्दा पनि देवदूतले ‘प्रिया, प्रधानमन्त्रीको पद नै जीवनको लक्ष्य होइन, मलाई तिमी पाए पुग्छ’ (राणाःपृ.१५९) भन्नुबाट हार्दिक प्रेमका अगाडि प्रधानमन्त्रीेजस्तो गरिमामय पद पनि केही होइन भन्ने देखाएर उपन्यासकारले एकातिर प्रेमको विराट रूप प्रस्तुत गरेका छन् भने अर्कोतिर गगनसिंहको हत्यामा जङ्गबहादुरको संलग्नता नभएको कुरालाई देवदूतले उमालाई लेखेको पत्र (राणाः पृ.१४४) बाट प्रष्ट पार्न चाहेका छन् ।

गृहप्रवेश जङ्गबहादुरको चरित्रलाई उजिल्याउने साहित्यिक प्रयास हो
इतिहासमा कोतपर्वका नाइके जङ्गबहादुर नै भएको र शक्ति प्राप्तिका लागि उनैद्वारा गगनसिंहको हत्या गरिएको वा गराइएको हो भनिए पनि उपन्यासमा कोतपर्व हुँदा जङ्गबहादुरले हतियार उठाएकै छैनन् । बरू उमा र देवदूतको प्रेमका बीच गगनसिंह बाधक बनी उभिएकोले (राणाःपृ.१३६) जङ्गबहादुरकै साहिँलो भाइ बद्रीनरसिंहबाट गगनसिंहको हत्या भएको हो भन्ने कुरा ‘लहरो तान्दा पहरो गर्जेको देख्यौ ? (राणाःपृ.१५८) भन्ने वाक्य बद्रीनरसिंहको मुखबाटै भनाएर पुष्टि गर्न खोजिएको छ । अर्थात् कोतपर्वमा जुन रगतको खोला बग्यो, त्यसमा जङ्गबहादुरको प्रत्यक्ष संलग्नता नभएको कुराको साहित्यिक आग्रह गर्दै तर परिस्थिति भने जङ्गबहादुरका पक्षमा गएको देखाइएको छ । राज्यलक्ष्मीदेवीको कृपा पात्र गगनसिंह मारिएपछि पुतलीको सहयोगमा जङ्गबहादुर नेपालका प्रधानमन्त्री तथा प्रधानसेनापति बनेका छन् ।
(राणाःपृ.१६०)

उपन्यासमा जङ्गबहादुरको भूमिकालाई हेर्दा इतिहासकारहरू केही पूर्वाग्रही बनेर जङ्गबहादुरको चरित्रलाई धमिल्याउन खोजेको आभास दिन्छ । आफ्ना मामा माथवरसिंह थापालाई चाहिँ कान्छी महारानी तथा गगनसिंहको चेपुवामा परेर हत्या गरेको र कान्छी महारानी र वीरध्वज बस्नेत मिलेर प्रधानमन्त्री बनेका जङ्गबहादुरलाई नै सिध्याउने षडयन्त्र गरेको पोल खुलेकाले जङ्गबहाुरकै एक कर्णेलद्वारा बस्नेत काटिएको कुरा उपन्यासमा स्वीकार गरिएको छ । अन्यथा उनले जे गरे आफ्नो दुस्साहसपूर्ण कार्य गर्ने क्षमताका कारण दरबारलाई रिझाएरै गरे भन्ने देखिन्छ । यसरी नेपालको इतिहासमा खलनायक भनेर चिनिने जङ्गबहादुरको चरित्रलाई यस उपन्यासले केही हदसम्म माथि उठाउने अथवा केही उजिल्याउने प्रयास भने अवश्य गरेको छ ।

राणा शासकहरूमाथि लाग्ने गरेको आरोपको कलात्मक खण्डन हो गृहप्रवेश
१०४ वर्ष लामो राणाकालीन शासन व्यवस्थालाई इतिहासमा प्रजातन्त्रविरोधी, शिक्षाविरोधी, विकासविरोधी, हुकुमी शैली भएको, जनताको करमा रजाइँ गर्ने तर तिनै जनतालाई दासजस्तै ठान्ने तथा महिलाहरूको हक अधिकारप्रति अनुदार भएको आदिआदि आरोप लगाइएको छ ।

उपन्यासकार डाइमनशमशेर राणा पनि जङ्गबहादुर राणाकै बंशज भएका र राणाशासकहरूलाई गाली गर्दा त्यसको केही अंश आफ्नो भागमा पनि पर्ने भएकोले राणाहरूमाथि लागेकोे दागलाई केही हदसम्म पुछ्ने प्रयास गर्नु आफ्नो पनि दायित्व महसुस गरी उपन्यासकार राणाले गृहप्रवेशमा केही बौद्धिकताको प्रयोग गरेका छन् । त्यसैले उनले राणाहरू इतिहासमा लेखिएजस्तै निरङ्कुश थिएनन्, बरू जङ्गबहादुरकै पालादेखि राणाहरूभित्र पनि प्रजातन्त्रको हावा चल्न थालेको थियोे र जनतालाई शक्तिशाली बनाउने तथा शिक्षाको उज्यालो सबैको पहुँचमा पु¥याउनु पर्छ भन्ने भावना पनि त्यतिबेला नै जागृत भइसकेको थियो भन्ने देखाउन उपन्यासकारले केही ऐतिहासिक पात्रहरूमा विलक्षण प्रतिभा र अद्भूत कल्पना शक्ति हालिदिएका छन् । उदाहरणका लागि, भीमसेन थापालाई जेलमै रहेका बेला बेलायत भ्रमण गरेको सपना देखाइन्छ र बेलायतमा जस्तै शासन व्यवस्था, त्यहाँको जस्तै विकास र त्यहाँको जस्तै नारी सम्मानको परिकल्पना गराइन्छ । यसरी राणाहरू शक्तिमा आउनुअघि भीमसेन थापाको पालादेखि नै नेपालको दरबारमा प्रजातान्त्रिक हावा चल्न थालेको सन्दर्भ उठाइएको छ ।

यही प्रयोजनका लागि उपन्यसासमा पुतलीलाई आचार्य चाणक्यजस्तै बहुमुखी प्रतिभा भएकी विदुषीका रूपमा प्रस्तुत गरिएको छ । ऊ प्रजातन्त्रको व्याख्या गर्छे, जनतालाई शक्तिसम्पन्न गराउने धारणा राख्छे, शिक्षाको ज्योति फैलाउने कुरा गर्छे, जनताबाट उठाइएको करको दुरूपयोग गर्न नहुने अर्ति दिन्छे, महिलालाई बाहिरी आभूषणका पछि नदौडन र ज्ञान र विवेकले आन्तरिक क्षमतालाई वृद्धि गर्न सचेत गराउँछे (राणाःपृ.१७१–१७५) । अझ उपन्यासमा एउटा माहात्मा पात्रको सिर्जना गरी उनीमार्फत् ‘महाराज ! तिमीजस्ता राष्ट्रविभूतिले हिड्ने बाटो (राजनैतिक प्रणाली) यो होइन । विपरीत दिशा (बहुदलीय प्रजातान्त्रिक व्यवस्था) तिर लाग । जनतालाई पढाऊ । मौलिक अधिकार देऊ । चाँडो आमचुनाव गराएर जनतालाई राज्यसत्ता हस्तान्तरण गर्नु बेस’ (राणाःपृ.१७८) जस्ता गम्भीर राजनैतिक कुराहरू भनाइएको छ । आजका चतुर राजनीतिज्ञले बोल्न नसक्ने भाषा त्यसबेलाको एउटा सन्यासीले कसरी सोच्न र बोल्न सक्यो होला ? यो जोसुकैलाई स्वभाविक रूपमा लाग्नसक्ने जिज्ञासा हो । यी सबै अभिव्यक्तिकको साहित्यिक प्रयोजन भनेको आफ्नो जीवनको उत्तरार्धसम्ममा उपन्यासकारले प्रजातान्त्रिक परिवर्तनलाई नेपालीहरूले जीवन पद्दतिकै रूपमा अङ्गिकार गरेको देख्नु र त्यसप्रति आफ्नो पनि आन्तरिक अभिरूचि थियो भन्ने धारणा देखाउँदै राणाहरूप्रति लाग्ने गरेका आरोपहरूलाई साहित्यिक रूपमा खण्डन–मण्डन गर्दै भावी पुस्ताहरूमा राणाहरूप्रति सोच्ने शैलीमा क्रमिक परिवर्तन गराउनु नै हो भन्ने देखिन्छ ।

गृहप्रवेश सेर्बूको कथा हो
उपन्यासको आरम्भदेखि अन्त्यसम्म नै सेर्बू एकछत्र रूपमा छाएकी छे । ऊ गतिशील पनि छे । नुवाकोटको बुङताङ गाउँकी एउटी अपढित र गँवार केटी स्वअध्ययनबाटै सामान्य साक्षर मात्र बन्दिन, राजनीतिक पण्डित नै बन्दछे । ऊ मिसिल पनि पढ्ने र बुझ्ने हुन्छे । उसले सेर्बूबाट नौली र कोठामेचे पुतली हुँदै पुतली महारानीसम्मको यात्रा तय गर्दा थुपै्र चुनौतीहरूको सामना गरेकी छे र क्रमशः सफलता पनि प्राप्त गरेकी छे । ऊ रामदासजस्ता वर्ग शत्रुहरूबाट बँचेकी छे, अलच्छिनाको कलङ्क लाग्दा पनि हरेश खाएर पलायन भएकी छैन, दरबारमा हुने गरेको षडयन्त्रबाट जोगिएकी छे, आफ्नो प्रेमीको जीवन बचाएकी छे र अन्ततः विजयश्रीको प्रसादका रूपमा पुतली महारानीको पद प्राप्त गर्न सफल भएकी छे ।

तस्विरमा लेखक लक्ष्मीप्रकाश पौड्याल

जङ्गबहादुर सेर्बूकै तपस्याको फल (प्राप्ति) मात्र हो । इतिहासमा नायक वा खलनायक जुन रूपमा हेरिए पनि जङ्गबहादुरको नाम बहुचर्चित भएकोले उपन्यासमा पनि जङ्गबहादुरलाई नायकका रूपमा हेरिनु सेर्बूको भूमिकालाई नजरअन्दाज गर्नु मात्र हो । उपन्यास पढिरहँदा पाठक जङ्गबहादुरको पराक्रमबाट भन्दा सेर्बूको संघर्ष, गतिशीलता र भोगाइबाट बढी रोमाञ्चित बन्न पुग्दछ । जङ्गबहादुरसँग उसको भेट होला कि नहोला, भेट भइहाले पनि चिन्ला कि नचिन्ला, अथवा चिने पनि स्वीकार गर्ला कि नगर्ला जस्ता कौतुहलताले पाठकलाई हल्लिन नदिई समाइ राख्दछ । त्यसैले गृहप्रवेश सेर्बूको कथा हो, सेर्बूको प्रेम र उत्सर्ग कथा हो । उपन्यासमा जङ्गबहादुरको भन्दा सेर्बूको पकड बलियो छ । जङ्गबहादुरलाई प्रदान गरिएको प्रधानमन्त्री तथा प्रधानसेनापतिको पद पनि सेर्बूमार्फत् कान्छी महारानी राज्यलक्ष्मीले दिएको उपहार जस्तै बनेको छ । सेर्बू जङ्गबहादुरकी प्रेमिका मात्र होइन, रक्षा–कवचसमेत् बनेकी छे । उसले कान्छी महारानी र वीरध्वज बस्नेतको षडयन्त्रको सूचना जङ्गबहादुरसम्म पु¥याउन विलम्ब गरेकी भए ऊ पुतली महारानी बन्नु अगावै विधवा हुने थिई । यसरी सेर्बूकै सुझबुझ र साहसका कारण आफ्नो लक्ष्यसम्म पुग्न सफल भएकीले यो उपन्यासलाई सेर्बूको कथा हो भन्न सकिन्छ । स्वयम् उपन्यासकारले पनि सेर्बूले गृहप्रवेश गरेका आधारमा उपन्यासको नामकरण गरेर इतिहासमा कुनै विशेष स्थान र महत्व नपाएकी पात्र सेर्बू अर्थात् पुतलीको कथालाई महत्व दिएका छन् । अतः गृहप्रवेशलाई ऐतिहासिकताको कलेवरमा प्रस्तुत गरिएको सेर्बूको कथा हो भन्दा बढी सान्दर्भिक होला जस्तो देखिन्छ ।

निष्कर्षः

गृहप्रवेश ऐतिहासिक कलेवरमा कल्पना–शक्तिको यथोचित प्रयोग गरी रचना गरिएको नेपाली साहित्यको सुन्दर प्राप्ति हो । ऐतिहासिक पात्रको गरिमामय ओजको दवाब नहुने हो भने यो कृति सेर्बू र जङ्गबहादुरबीचको रोमाञ्चक प्रेम कहानी हो जुन ऐतिहासिक तथ्यबाट प्रमाणित भए वा नभए पनि एउटा मौलिक र स्वैरकाल्पनिक कथाका रूपमा स्थापित हुन सक्दछ । क्रियाशीलता, गतिशीलता र संघर्षशीलता आदि भूमिकाका आधारमा यस प्रेम कहानीमा सेर्बूको चरित्र नै सबै भन्दा बढी जमेको लाग्दछ । दोस्रो प्रमुख पात्रका रूपमा भने जङ्गबहादुरको भूमिका सशक्त नै देखिन्छ ।

उपन्यासकार राणाले गृहप्रवेश उपन्यासमार्फत् ऐतिहासिक र मौलिक गरी दुईप्रकारका दृष्टिकोणहरू प्रस्तुत गरेका छन् । ऐतिहासिक कोणबाट राजा राजेन्द्रविक्रम शाहका पालामा दरबारभित्र हुने गरेका घात–प्रतिघातको शब्दचित्र प्रस्तुत गर्दै जङ्गबहादुरको उदयलाई समयको मागका रूपमा चित्रण गरेका छन् तथा इतिहासले लगाएका कतिपय निर्मम आरोपहरूलाई साहित्यिक रूपमा खण्डन पनि गरेका छन् भने मौलिक कोणबाट प्रजातान्त्रिक मूल्य र मान्यताप्रति आफ्नो गहिरो अभिरूचि रहेको सन्दर्भलाई बल दिँदै सेर्बू र जङ्गबहादुरबीचको प्रेम कहानीलाई उचाइ प्रदान गरेका छन् । (उमा र देवदूतबीचको प्रेम कहानी पनि उल्लेखनीय नै छ ।) यी दुई विचारहरूलाई प्रस्तुत गर्ने क्रममा सेर्बूको प्रेम, समर्पण, संघर्ष र प्राप्तिका अगाडि ऐतिहासिक पक्ष गौण बनेको छ । तर, उपरोक्त तर्कहरूले गृहप्रवेशलाई ऐतिहासिक उपन्यासको कोटिबाट अलग्याउने प्रयास गरिएको भने किमार्थ होइन ।

सम्बन्धित समाचार