अमेरिका । रोबोटिक्सको क्षेत्रमा पछिल्ला केही वर्षमा धेरै परिवर्तन आएको छ । पहिला रोबोट केवल एक मेसिन थियो जसले मानिसले दिएको निर्देशनअनुसार काम गथ्र्यो । तर, हाल रोबोट पनि मानिसले जस्तै सोच्न सक्षम भएको छ । यसका लागि कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) ले निकै ठूलो भूमिका निर्वाह गरेको छ । तर, हाल कृत्रिम बौद्धिकताको विषयमा निकै विवाद बढिरहेको छ । एआई अथवा कृत्रिम बौद्धिकतामा आधारित रोबोटले मानिसको रोजगारी खोस्ने आशंका बढेको छ ।
अक्सफोर्ड विश्वविद्यालयका एक अध्येताका अनुसार आगामी दुई दशकमा अमेरिकामा ४७ प्रतिशत रोजगारी अटोमेटिक हुनेछन् । अर्थात्, यसको लागि मानिसको नभई रोबोटको प्रयोग हुनेछ । यसका कारण समस्यामा पर्न सक्ने केही सम्भावित रोजगारी यसप्रकार छन् ः
डाटा म्यानेजमेन्ट र अकाउन्ट
एआई रोबोटले सबैभन्दा पहिला डाटा म्यानेजमेन्टको क्षेत्रमा आफ्नो कब्जा जमाउनेछ । यदि कसैले एक्सेल सिट भर्ने काम गर्छ भने उसको रोजगारी समस्यामा पर्ने देखिएको छ । किनकि, अध्ययन प्रतिवेदनका अनुसार रोबोटले यस्ता रोजगारीलाई सबैभन्दा पहिला आफ्नो बनाउनेछ । रोबोटले एक्सेल सिट र डाटा म्यानेजमेन्टको काम तीव्र गतिमा कुशलतापूर्वक गर्न सक्छ । डाटा प्रोसेसिङको काम मेसिनको तुलनामा मानिसले त सायदै गर्न सक्छ । त्यसैले रोबोटलाई अकाउन्टिङको काममा लगाउने सम्भावना बढी छ र यसले मानिसको धेरै रोजगारी खोस्न सक्छ ।
हेल्परर सेल्सपर्सन र सप्लाई
हाल हेल्पर, सेल्सपर्सनको रुपमा काम गरेकाहरु अब सतर्क हुने बेला आएको छ । अब रोबोटले सेल्सपर्सनको पनि जागीर खोस्ने भएको छ । कतिपय देशमा त रोबोटले सप्लाईको काम त सुरु नै गरिसकेको छ । त्यस्तै, रोबोटलाई सेल्सपर्सनको रुपमा राख्ने ट्रेन्ड पनि सुरु भइसकेको छ । कतिपय एयरपोर्टमा एआई रोबोटले यात्रीलाई स्वागत गर्नुका साथै सहयोग पनि गर्ने गरेको छ ।
रिपोर्टर, पत्रकार, लेखक, उद्घोषक
हाल चीनमा रोबोटले समाचारवाचन गर्ने गरेको छ । रचनात्मक लेख लेख्नु सजिलो नभए पनि कुनै घटनाको रिपोर्ट लेख्नु त सजिलै छ । त्यस्तै, कुनै पनि टेक्स्ट पढ्नु पनि रोबोटको लागि सहज छ । हाल अमेरिकामा सृजनात्मक लेख लेख्न सक्ने रोबोटको पनि निर्माण गरिँदै छ । यसमा सफल हुने अमेरिकाको विश्वास छ ।
डाक्टर
हाल विश्वभरको जनसंख्या करीब ७ अर्ब ३० करोड छ । यो सन् २०३० सम्ममा ८ अर्ब ५० करोडको हाराहारीमा पुग्ने अनुमान छ । अहिले नै सफल शल्यक्रिया गर्ने गरेकाले रोबोटले केही डाक्टरको जागीर खोसिसकेको अवस्थामा आगामी दिनहरुमा मेडिकलको क्षेत्रमा पनि कृत्रिम बौद्धिकताको विकास तीव्रतर हुँदै जाने र रोबोटले प्रभुत्व जमाउने देखिएको छ ।
कार्यालयीय कर्मचारी
केही समयपछि रोबोटले कार्यालयमा काम गर्ने कर्मचारीको पनि रोजगारी खोस्नेछ । किनकि, मानिसको तुलनामा रोबोटले कार्यालयको काम छिटो र छरितो ढंगले सम्पन्न गर्नेछ भने उसलाई घुस दिनु पनि सायद आवश्यक पर्नेछैन । पुस्तकालयदेखि कल सेन्टरमा प्राविधिक सहयोगका लागि पनि रोबोटलाई राख्ने सम्भावना छ । हाल विश्वका केही कम्पनीले कलसेन्टरमा रोबोटलाई राखेका छन् । अर्थात् ती कम्पनीका ग्राहकले मानिससँग नभई रोबोटसँग कुरा गर्दछन् ।
यसरी प्रविधि र कृत्रिम बौद्धिकताको क्षेत्रमा तीव्र गतिमा भइरहेको विकासले कार्यसम्पादनमा अन्तर नदेखिए पनि मानिसको रोजगारी भने धेरै कटौती हुने सम्भावना रहेको छ । किनकि, तत्तत् कार्य क्षेत्रमा मानिसको सट्टा रोबोटले काम गरिरहेका हुनेछन् ।
गत वर्षमात्रै प्रविधि कम्पनी गूगलले उदाहरणका लागि आफ्नो गूगल असिस्टेन्टको प्रयोग गरेको थियो । कम्पनीले गुगल असिस्टेन्टले कल सेन्टरलाई सम्हाल्ने र ग्राहकसँग कुशलतापूर्वक कुरा गर्न सक्ने प्रमाणित गरेको थियो ।