हिमाली जिल्ला म्याग्दीमा दुई हजार १५० घरधुरी बाढीपहिराको उच्च जोखिममा छन् ।
जिल्लामा रहेको कूल दुई हजार २९७.०६ वर्ग किमी क्षेत्रफलबाट ३७ लाख ४५ हजार ६९० घनमिटर मलिलो माटो बग्ने गरेको कारण ग्रामीण क्षेत्रमा ठूलो परिमाणमा भूक्षय र पहिरा जाने गरेको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले जनाएको छ ।
भिरालो जमीन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजीकबाट सडक विस्तारलगायत विभिन्न कारणले गर्दा जिल्लाका अधिकांश बस्ती पहिरोका जोखिममा रहेको कार्यालय प्रमुख कृष्ण घिमिरेले बताए । “जिल्लालाई बाढीपहिराबाट जोखिम मानिन्छ, विनियोजित बजेट पर्याप्त छैन”, घिमिरेले भने । उनले केही बस्ती ठूला पहिरोको जोखिममा भएकाले स्थानान्तरको आवश्यकता रहेको जानकारी दिए । विनाश मैत्री सडक, बस्तीमाथिको क्षेत्रमा विकास निर्माणका गतिविधि, नदीखोलाको कटानीले आधा दशक अगाडिसम्म सामान्य पहिरालाई उचित रोकथामको अभावले जोखिम बढेको घिमिरेको भनाइ छ ।
जिल्लामा १८ भन्दा बढी ठूलो पहिरा र सयौँको सङ्ख्यामा रहेका मध्यम तथा साना पहिराले करीब ९०० र बाढीले एक हजार २५० घरधुरी जोखिममा परेको जनाइएको छ । पहिराले एक हजार ३४.१ हेक्टर क्षेत्रफल ओगटेको कार्यालयले जनाएको छ । उपल्लो कलीगण्डकी जलाधार क्षेत्रमा पर्ने साबिकको धौलागिरि अञ्चलका चार जिल्लासहित स्याङ्जा हेर्ने गरी पर्वतमा कार्यालय स्थापना गरिएकाले म्याग्दी जस्तो जोखिमपूर्ण जिल्ला कम प्राथमिकतामा परेको जिल्लाका सरोकारवाला निकायले बताएका छन् । साबिकका ४१ मध्ये ३७ गाविस बाढीपहिराको जोखिममा रहेको छ ।
त्यस्तै कालीगण्डकी कटानका कारण उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरुङतातोपानी बजार, बेगखोला, रघुगङ्गा गाउँपालिकाको पिप्लेको चमेरे, बेनी नगरपालिकाअन्तर्गत पर्ने गलेश्वरबजार, बेनीबजार, आनन्दबगरलगायत तटीय क्षेत्रमा रहेका बस्ती जोखिममा छन् । उता म्याग्दी खोलाले जिल्लाकै दोस्रो व्यापारिक केन्द्र दरवाङबजार, रातोढुङ्गा, सिम, ताराखेत, बाबियाचौर, अर्मन हाँडेभिर, निस्कोटको खोप्टी गाउँ, तातोपानी, बगरफाँट, सिङ्गा, बेनी मङ्गलाघाट बजार जोखिमको सूचीमा राखिएको छ । प्राकृतिकसँगै मानवसिर्जित समस्या नै विनाश प्रमुख कारण भएको उनले बताए ।
ग्रामीण क्षेत्रमा सामुदायिक वन तथा मापदण्ड विपरीत धमाधम सडक विस्तारले बाढीपहिराको जोखिम हरेक वर्ष थपिँदै गएको प्राविधिकको भनाइ छ । जिल्लामा रहेका ठाडो तथा सहायक खोला राहुघाट खोला, घट्ठेखोला, फूलबारी रितुमखोल, घट्ठे खोलाको कटानले समेत जोखिम बढाएको छ । एक साताअगाडि म्याग्दीको माथिल्लो क्षेत्रमा भएको भीषण वर्षाले म्याग्दी खोलामा बाढी आउँदा तटीय क्षेत्रमा जोखिम बढेको थियो ।
“नगर क्षेत्रभित्र बर्सेनी क्षति पु-याउने गरेको छ, ठूला पहिरा रोकथाम गर्न असम्भव जस्तै देखिन्छ”, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले भने । उनका अनुसार नगरस्तरीय विपद् व्यवस्थापन समितिमार्फत विपद्को पूर्वतयारी शुरु गरिएको उनले बताए । जिल्लाका अन्य स्थानीय तहले समेत विपद् व्यवस्थापनमा सक्रियता देखाए पनि पर्याप्त बजेटको अभावले समस्या भएको बताइएको छ । स्थानीय तहमा विपद् व्यवस्थापनमा पर्याप्त बजेट विनियोजन गर्नसमेत जनप्रतिनिधिले माग गरेका छन् ।