एशियामा शुरु भएका विभिन्न दर्शनसँग माक्र्सवादको समानता एवं असमानताका बारेमा पहिलोपटक छलफलको थालनी भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलको संयुक्त आयोजनामा आजदेखि शुरु भएको माक्र्सवाद र एशियाली दर्शन अन्तर्राष्ट्रिय दुईदिने सम्मेलनमा यससम्बन्धी बहस शुरु भएको हो ।
सम्मेलनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले एशियाली चिन्तनको मध्यभागमा नेपाल रहेकाले धेरै दर्शनको शुरुआत यही भूमिबाट भएको बताए । ‘माक्र्सले एशियाली दर्शनको अध्ययन गर्ने अवसर पाउनुभएन, बाँकी दर्शनको अध्ययन गरेपछि तयार पारेको माक्र्सवादी दर्शन सत्यको नजिक छ, माक्र्सवाद प्राचीन दर्शनसङ्गत छ’, उनले भने ।
नेपालमै विकास भएको चर्चा गरिने किचकवध, चारकोशे झाडीकोबीचको विराट राजाको दरबार जस्ता स्थलको अझै उत्खनन् हुन नसकेको बताउदै नेता खनालले जनकपुर र लुम्बिनीबाट पनि दर्शनको विकास भएकाले यसको महत्व अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्नुपर्ने विचार राखे ।
चितवनको वाल्मीकि आश्रम, पश्चिम नेपालको सिञ्जा सभ्यता र मुस्ताङको पाँच हजार वर्ष पुरानो ‘सिल्क रोड’ को सभ्यता, उपत्यकामा विकास भएको शैव र किरात सभ्यतालाई प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा उपयोग गर्न सकिनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पहिलोपटक आयोजना गरिएको यो विषयको सम्मेलने विश्वलाई सन्देश दिन सक्नुपर्ने बताए ।