‘निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन होस्’

जगदीशनर्सिङ केसी, सभापति, नुवाकोट काङ्ग्रेस

नेपाली काङ्ग्रेस नुवाकोटले पत्रकार शालीकराम पुडासैनी आत्महत्या प्रकरणको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनु पर्नेमा जोड दिएको छ । नुवाकोट काङ्ग्रेसले एक विज्ञप्ति प्रकाशित गर्दै चितवनको होटेलमा झुण्डिएको अवस्थामा फेलापरेका पत्रकार पुडासैनीको सत्यतथ्य छानबिन हुने कुरामा आशङ्का पैदा हुँदैगएको विज्ञप्तिमा उल्लेख गरेको छ । यसै सेरोफेरोमा रहेर नुवाकोट काङ्ग्रेस पार्टी सभापति जगदीशनर्सिङ केसीसँग नवकान्तिपुरका संवाददाताले गरेको कुराकानीको सम्पादित अंशः

तपाईले व्यक्तिगत रूपमा शालीकरामको हत्या-आत्महत्या प्रकरणमा कस्तो धारणा बनाउनुभएको छ ?
यो हत्या हो वा आत्महत्या भन्ने यकिन भइनसकेको अवस्थामा र केस अदालतमा विचाराधीन रहेका अवस्थामा मैले बोल्नु राम्रो होइन यद्दपि अहिलेसम्म बाहिर आएका तथ्यहरू सुन्दा–बुझ्दा, सामाजिक सञ्जालमा आएका भिडियोहरूआदि हेर्दा तथा कानुनविदहरूका तर्कहरू सुनेर आत्मसमीक्षा गर्दा यो घटना आत्महत्याभन्दा हत्या नै हो भन्ने लाग्छ । घटनाको प्रकृति र देशैभरि रविका पक्षमा उल्र्लेको मानव सागर हेर्दा पनि कुनै न कुनै रूपमा रविलाई फसाउँन गरिएको घृणित खेल पो हो कि जस्तो देखिन्छ । भिडियो फुटेजलाई आधारमान्दा पनि आशङ्का गर्ने ठाउँहरू प्रशस्त छन् । त्यसैले म व्यक्तिगत रूपमा पनि र नुवाकोट काङ्ग्रेसको तर्फबाट पनि यस घटनाको सत्यतथ्य छानबिनका लागि एउटा न्यायिक आयोग गठन होस् भन्ने चाहन्छु ।



अहिलेसम्मको घटनाको प्रकृति हेर्दा र सामाजिक सञ्जालमा आएको विषयवस्तुहरूलाई नियाल्दा यहाँलाई प्रहरी अनुसन्धान सही दिशामा छ भन्ने लाग्छ ?
एउटा जिम्मेवार पार्टीको जिल्ला सभापति भएका नाताले अनुसन्धानलाई प्रभावित हुने गरी मैले बोल्न मिल्दैन, किनकि प्रहरीले अनुसन्धान गरिरहेको अवस्था छ । तथापि घटनास्थलको अवस्था हेर्दा र अहिलेसम्म प्रहरीले जुटाएको दशी प्रमाणलाई आधार मानेर हेर्दा शङ्का गर्ने ठाउँहरू छन् । यसका केही कारणहरू छन् । जस्तो, प्रहरीले तत्काल घटनास्थल शिल नगर्नु, ,होटेल मालिकलगायत होटेलका कर्मचारीलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान नर्गनु र प्रहरीसँग सुरक्षित छ भनिएको भिडियो काँटछाट गरेर प्रहरीबाटै बाहिर लिक भई सामाजिक सञ्जालमा आउनु आदि कारणहरूले अनुुसन्धानको परिणाम सही आउला भन्ने लाग्दैन मलाई ।

घटना राजनीतिकरण हुँदै गएको हो ? के लाग्छ यहाँलाई ?
अहिलेसम्मको प्रहरीले गरेको अनुसन्धान हेर्दा, विभिन्न कोणहरूबाट कानुनविदहरुको तर्क आइरहँदा र घटनालाई लिएर देशभरिका जनताहरू सडकमा आएको देखेर अबचाहिँ यो घटना राजनीतीकरण हुँदै छ कि भन्ने लाग्छ । प्रहरी प्रशासनले गरेको अनुुसन्धानप्रति जनताको विश्वास देखिँदैन । त्यसैले दोषी उम्कने र निर्दोश फस्ने हो कि भन्ने आशंकाले जनताहरू स्वतःस्फुर्त रूपमा सडकमा आएका हुन् भन्ने लाग्छ ।

सञ्चारकर्मी रवि लामिछाने र पत्रकार युवराज कँडेललाई सञ्चार गृहबाटै प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएको छ । यस विषयमा तपाईको धारणा ?
यो प्रहरीले गरेको व्यवहार घोर आपत्तिजनक, भत्सर्ना योग्य र अत्यन्त निन्दनीय पनि छ । सञ्चारगृहभित्र अनुमति नलिई प्रवेश गरी आफ्नो कार्यकक्षबाटै रवि लामिछाने र युवराज कँडेललाई फिल्मीशैलीमा गिरफ्तार गर्नु सरकारको सञ्चार माध्यमहरूप्रतिको ठाडो हस्तक्षेप हो । ‘प्रहरी अनुसन्धानलाई सघाउन म तयार छु र मेरो आवश्यकता परेमा जुनसुकैबेला उपस्थित भई अनुसन्धानमा सघाउँछु’ भनिरहँदा लामिछानेलाई किन त्यसरी गिरफ्तार गरियो ? हो यसैमा राजनीति छ । सुनियोजित तवरले रविलाई फँसाउन खोजेको स्पष्ट प्रतिबिम्बित हुन्छ । रविले गरेका राम्रा कामका कारणले आज स्वतःस्फूर्त रूपमा जनताहरू सडकमा निस्केका हुन् । एउटा सञ्चारकर्मीको पछाडि लाखाँैको जनसागर उर्लिंदा अब राजनीति दलले पनि सोच्ने बेला आएको छ । यद्दपि अहिलेलाई यत्ति भनौं कि शालीकरामको परिवारले पनि न्याय पाउनु पर्छ र निर्दोष कोही फँस्ने अवस्था पनि आउनु हुँदैन । त्यसका लागि विश्वसनीय र निष्पक्ष छानबिन हुनुपर्दछ ।

सम्बन्धित समाचार