टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको छ।
नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा लामिछानेले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै तदनुरूप मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा प्रतिवेदन प्रस्तुत गरेपछि सो मुद्दा दर्ता भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले रवि लामिछाने, उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै उनीहरू तीन जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा १८५ अन्तर्गत मुद्दा चलाउन सिफारिस गरेको थियो।
सीआईबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्नो अनुसन्धान पूरा भएको जानकारी पत्रकार सम्मेलन गरेर दिएका थिए।
प्राप्त जानकारी अनुसार लामिछानेलाई मुद्दा दर्ता गरिँदा उनका हजारौँ समर्थकले प्रहरी कार्यालय र भरतपुरको चौबीसकोठीमा नाराबाजी गरेका थिए। तीमध्ये महिलाहरूको सङ्ख्या उल्लेख्य थियो।
तीन जनालाई बिहान सवा नौ बजेतिर नै जिल्ला अदालत लगिएको थियो। मुद्दा भने दिउँसो दर्ता भएको हो।
लामिछानेको समर्थनमा प्रदर्शन गर्नेहरूमा कलाकार र पत्रकारहरू पनि भएको बताइएको छ ।
चितवनबाहेक अन्यत्र पनि लामिछाने निर्दोष रहेको र उनलाई फसाइन लागेको दाबी गरेर प्रदर्शन हुने गरेको छ।
केही दिनअघि नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले लामिछानेलाई हिरासतमै भेटेका थिए।
उनलाई भेट्न नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडु पनि गएका थिए।
दोस्रो पटक थपिको पाँचदिने म्याद सकिएपछि आइतवार बिहान लामिछानेसहित अन्य दुई जनालाई अदालतमा उपस्थित गरिएको थियो।
अब के हुन्छ ?
मुद्दा दर्ता भइसकेपछि अब चितवन जिल्ला अदालतले अभियुक्तहरूको थुनछेक बयान लिनेछ। बयानका आधारमा उनीहरूलाई थुनामा राख्ने, धरौटीमा वा साधारण तारेखमा छोड्ने निर्णय हुनेछ। आत्महत्या दुरुत्साहनको अभियोग प्रमाणित भएमा अभियुक्तहरूलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ।
गत वर्ष भदौदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध (संहिता) ऐनले आत्महत्या गर्न बाध्य पार्नेलाई सजायको व्यवस्था गरेको हो।
— युबराज घिमिरे (@yuba_ghimire) २०१९ अगस्ट २५