डेंगुको महामारी, सरकारी वेवास्ता

केही साता यता नेपालका विभिन्न भागमा डेंगु अनियन्त्रित रुपमा देशव्यापी फैलिरहेका छन् । प्रत्येक वर्ष मनसुनको समयमा देखा पर्ने यो रोगले यसपटक भने महामारीकै रुप लिइरहेको छ।

वैशाखदेखि भदौ महिनासम्म ४२ भन्दा बढी जिल्लाहरुमा ४ हजार ६ सय एघार जनामा डेंगु संक्रमण पाइएको छ। यति धेरै संख्यामा संक्रमण देखिनु नेपालमा डेंगु पत्ता लागे देखिकै सबैभन्दा पहिलोपटक हो ।



यो तथ्याङ्क ठूला अस्पतालमा उपचार गराउन जाने बिरामीको संख्यामा मात्रै आधारित भएकाले संक्रमितहरुको संख्या अझै बढी हुन सक्छ । डेंगु भाइरस सर्ने लामखुट्टे कात्तिक–मङ्सिर महिनासम्ममा नै सक्रिय रहने भएकोले डे‌ंगुको संक्रमण अझै बढ्ने खतरा छ ।

के हो त डेंगु ?

डेंगु रोग एक प्रकारको किटजन्य भाइरल सरुवा रोग हो । यो डेंगु भाइरसको संक्रमणबाट लाग्ने गर्छ । डेंगु भाइरस बिशेष गरि एडिज जातको लामखुट्टेमा बस्ने गर्छ। प्राय डेंगु भाइरस भएको संक्रमित एडिज एजिप्टी र एडिज एल्बोपिक्टस भन्ने लामखुट्टेले स्वस्थ मानिसमा टोक्दा यो रोग सर्ने गर्छ ।

संक्रमित मानिस वा बांदरबाट स्वस्थ मानिसमा लामखुट्टेकै टोकाइबाट मात्र यो रोग सर्ने गर्छ, तर यो मानिसबाट मानिसमा सिधै कहिल्यै पनि सर्दैन। डेंगु भाइरसअन्तर्गत पर्ने एउटा भाइरस हो । यसको डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी चारओटा फरक सेरोटाइपहरु हुन्छ । यी चारमध्ये डेन–२ नेपालमा धेरै पाउने र अलि जोखिमपूर्ण खालको हुन्छ ।

संक्रमित लामखुट्टेले टोकेको ३ देखि ८ दिन सम्ममा लक्षणहरु देखा पर्न थाल्छ । यसलाई मेडिकल भाषामा इन्कुबेसन पिरिएड भनिन्छ ।

डेंगु भाइरसबाट संक्रमित बिरामीहरुमा सामान्यतया उच्च ज्वरो आउने, टाउको दुख्ने, हाड तथा जोर्नीहरु दुख्ने, शरीरमा सानो सानो, रातो बिबिराहरु देखिने जस्ता लक्षणहरु देखा पर्छन् । यसको लक्षण पंहेलो ज्वरो र जापानिज इन्सेफलाइटिससँग मिल्दोजुल्दो हुने गर्छ ।

डेंगु रोग केही समयमा आफैँ निको हुने खालको भाइरल संक्रमित रोग हो। तर, कहिले काहिँ यो गम्भीर हुन्छ । डेंगुको कुनै पनि सेरोटाइप (डेन–१,२,३,४) ले पहिले नै संक्रमण भएर निको भएको मानिसमा फेरि पहिलेको भन्दा फरक सेरोटाइपबाट संक्रमण भयो भने गम्भीर बन्न सक्छ ।

पहिले पटक संक्रमण भएको मानिसमा संक्रमित सेरोटाइपको एन्टिबडी संक्रमित मानिसको रगतमा हुने गर्छ र अर्को पटक पहिलोकै सेरोटाइपले संक्रमण गर्दा त्यसलाई एन्टिबडीले मरिदिन्छ। तर अर्को फरक किसिमको सेरोटाइपले संक्रमण गर्दा एन्टिबडीको कमप्लिकेसन भएको बिरामीको मृत्यु पनि हुन सक्छ । यसको मृत्युदर ५ देखि १० प्रतिशातसम्म रहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार डेंगु सरुवा रोगको रूपमा दिन प्रति दिन बढ्दै गइरहेको छ । विश्वको आधा जनसंख्या डेंगुको उच्च जोखिममा रहेको जनाइएको छ। यसको संक्रमण ट्रोपिकल र सब–ट्रोपिकल क्षेत्रको ग्रामिण भन्दा शहरी तथा अर्ध–शहरी भएको ठाँउमा बढी देखिने गर्दछ ।

सम्बन्धित समाचार