दशैंको आगमन र मुल्यवृद्धिको राजनीति

दशैं आउँन एक महिनाको अवधि पनि बाँकी छैन । राष्ट्रिय जनगणना २०६८ अनुसार काठमाडौ उपत्यकाको जनसंख्या १६ लाख ९९ हजार २ सय ८९ रहेको छ । यो तथ्याङ्क ८ वर्ष पुरानो हो । ८ बर्षको अवधिमा उपत्याकाको जनसंख्या दुई गुणा भन्दा बढी थपिएको अनुमान छ । रोजी रोटीको लागि ७७ जिल्लाकै व्यक्तिहरू बस्ने ठाउको रूपमा रहेको उपत्यकामा कति जनसंख्या छ भनेर यकिन गर्न सक्ने अवस्था छैन । हामी सबैको ठूलो पर्वको रूपमा बडादशैंलाई लिने गरिन्छ । दशैंमा रोजगारीको लागि उपत्यकामा रहेका सबै व्यक्ति घर फर्किने हुँदा दशैं सुरू हुनु एक महिना पुर्व नै टिकटको चिन्ताले आम नागरिकलाई सताउने गर्दछ र यसपाली पनि यो कार्य पुन: सुरू भएको छ ।

१२ असोजमा घटस्थापना रहेको हुँदा दशैं आउन १५-२० दिन मात्रै रहेको छ । तर यातायात व्यवसायीहरूले भदौ १ देखि टिकट बुकिङ गर्ने जनाएका छन् । यातायात व्यवस्था विभागले राष्ट्रिय यातायात व्यवसायी महासंघसँग छलफल गरी त्यस्तो निर्णय गरेको हो । छलफलमा महासंघले भाडा समायोजन गर्नुपर्ने माग यो पटक पनि उठाएको थियो । भाडा बढाउने विषयमा लामो समयदेखि बहस र चलखेल भएको आरोप आउन थालेपछि सरकारले २०६५ फागुनमा लागत र अपेक्षित आम्दानीलाई आधार मानी वैज्ञानिक भाडादर निर्धारण गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार प्रत्येक आर्थिक वर्षको सुरूमा बजार मूल्य सर्वेक्षण गरी गाडी कर्जा, चालक एवं सहचालकको तलब र पेट्रोलको मूल्यको आधारमा भाडादर समायोजन गर्ने भनिएको थियो ।



महासंघले यही निर्णय लागू गर्न सरकारलाई दबाब दिइरहेको छ तर पेट्रोलियम पर्दाथको मुल्य घट्दा भने यातायात व्यवसायीले भाडा घटाउने गरेको नजिर अहिलेसम्म पनि देखिएको छैन । त्यसैले स्वचालित रूपमा मुल्य घटाउने र बढाउने कार्यलाई कार्यान्वयनमा ल्याउन सकेमात्र यसले सर्वसाधारणलाई सहज बनाउने थियो ।

तस्विरमा लेखक उद्धव सिलवाल

गतवर्ष पनि दशैंको अग्रिम बुकिङ अगाडि महासंघले सरकारलाई यस्तै दवाब दिएको थियो । सरकारले १० प्रतिशत गाडी भाडा बढाएपछि मात्रै महासंघले टिकट बुकिङ खुला गरेको थियो । प्रत्येक वर्षको टिकट खुल्ने समयमा भाडा बढाउने बिषयमा हुने बार्गेनिङलाई आम नागरिकले सकारात्मक रूपमा लिने गरेका छैनन् । दशंैको समयमा करिव २५-२६ लाख मानिस घर फकिर्ने गरेको अनुमान छ । तर यातायात व्यवसायी महासंघले दशैंको लागि नयाँ गाडी थप्ने तर्फ कुनै गृहकार्य नै गरेको समेत देखिदैन । अघिल्लो वर्ष जस्तै यो वर्ष पनि यातायात व्यवसायी महासंघ आम नागरिकलाई सेवा दिनेभन्दा पनि आफनो भाडा बढाउने विषयमा केन्द्रित भएका हो कि भन्ने आभास देखिन थालेको छ ।

त्यसो त खाद्य संस्थानले दशैंको लागि खसी बोका ल्याउने प्रक्रिया सुरू गरीसकेको जनाएको छ । घटस्थापना लगत्तै खसी बोकाको बिक्री सुरू गर्ने संस्थानले बताएको छ । खाद्य संस्थानले काठमाडौंका लागि एक हजार खसी र दुई हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । उसले दसैंका लागि हेटौंडाबाट पाँचसय र दाङबाट पाँचसय खसी काठमाडौंका लागि खरिद गर्न लागेको हो । योसँगै मुस्ताङबाट दुई हजार च्याङ्ग्रा पनि खरिद गर्ने तयारी संस्थानले गरेको छ । दसैंमा मासुको आपूर्ति सन्तुलनमा ल्याउने उद्देश्यले हरेक वर्ष बजारलाई नियन्त्रणमा राख्नको लागि खाद्यले खसी, बोका र च्याङ्ग्रा खरिद गर्दै आइरहेको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।

योसँगै वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गरी ७३ ठाउँमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । चाडबाडमा उपभोक्तालाई सस्तो मूल्यमा खाद्य वस्तु उपलब्ध गराउन सहुलियत पसल संचालनमा ल्याएको मन्त्रालयले जनाएको छ । सहुलियत पसलमा साल्ट ट्रेडिङ कर्पोरेसस लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान सहितले छुटसहित सामग्रीहरू राख्ने गर्छन र यो वर्ष पनि राखेका छन् । सहुलियत पसललाई बजार मूल्यको इन्डिकेटरको रूपमा लिइने गरिन्छ ।

यता चाडपर्व नजिकिन थालेपछि बजार अनुगमन गर्ने कार्य सुरू हुन बाँकी छ । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि बजार अनुगमनको कार्य सुरू हुने हुँदा दशैं तिहारको बेलामा मात्रै बजार अनुगमन गर्नु भन्दा पनि अनुगमनको कार्यलाई सधैं भरी गर्न सक्ने पारीपाटी विकास गर्न सके आम नागरिक चर्को मुल्यवृद्धि र गुणस्तरहिन सामान लिनुपर्ने बाध्यताबाट मुक्त हुने थिए । चाडपर्व सुरू हुनु पुर्व नै बजारमा मूल्य बढीसकेको छ । मूल्यवृद्धि अहिलेको सबैभन्दा ठुलो समस्या बनेको छ । दाल ,चामल, नुन, तेल लगायतका पर्दाथको मूल्य महिनामा नभएर दिनदिनै बढिरहेको छ । मूल्यवृद्धिले आम नागरिकको जनजीवनलाई अस्तव्यस्त बनाइदिएको छ । आकाशिंदोे मूल्यवृद्धिलाई थेक्न सक्ने अवस्था सर्वसाधारणले गुमाइसकेका छन् । आम्दानीको अनुपातमा मूल्य बढ्दो प्रतिसत धेरै माथि पुगीसकेको छ ।

दशैंको बेला आम नागरिकको भावनालाई बन्धक बनाएर धेरै चोटि भाडा बडाउनेसम्मका खेल नभएका पनि होइनन् । यसपाली पनि भाडा बढाउने विषयले केही दिन चर्चा पाए पनि अहिले यो सन्दर्भ सेलाइसकेको छ । आम नागरिकलाई मारमा पार्ने गरी दशैंको मुखमा भाडा बढाउने कार्य कति जायज होला त्यसको पनि मुल्याङ्कन गर्नुपर्छ । बजारमा कृत्रिम मूल्यवृद्धिले पनि प्रश्रय पाउनु हुन्न । बजारमा वस्तु तथा सेवाको अभाव सृजना गरी कालोबजारी गर्ने समूह हावी हुने पुरानै परिपाटी दोहोरिने संभावना देखिएको छ । त्यसलाई निरूत्साहित गर्नुपर्ने खाँचो देखिएको छ । चाडपर्वको बहाना देखाई उपभोक्तालाई आहात पार्ने काम सधैको लागि रोक्न सके मात्र दशैंको आगमन र मूल्यवृद्धिको राजनीति अन्त्य हुने थियो ।

सम्बन्धित समाचार