अझै पनि चेपा परियारले पुडासैनीको मायाँ मार्न सकेकी छैनन् (भिडियो सहित)

भनिन्छ मानिसको जीवनमा दुःख सुख सरोवर हुन्छ । यस भनाइको अपबाद हुन्, चेपा परियार । उनको जीवनमा सुखले कहिल्यै प्रवेश पाएन । गोरखाको भीमसेन गाउँपालिका ४ मा जन्मिएकी उनको बाल्यकाल पनि दःखमै बित्यो । जव उनी जवान भइन् तव जवानीको उन्मादलाई महसुस गर्न नपाउदै उनको जीवनमा एकाएक आँधीबेरी चल्न थाल्यो । जवानीको एकै भूलले उनले जीवनभर आफुलाई सम्हाल्न सकिनन् ।
के भयो जवानीमा ?

हालै रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र कबड्डी ३ को प्रोमोमा चलचित्रका नायक दयाहाङ् राईले एउटा सम्बाद बोल्छन् ‘प्रेम मर्दको जीवनमा एकपटक हुन्छ, त्यो प्रेम मैले मैयालाई गरिसकें ।’ चेपाको जीवनमा पनि यस्तै भयो । उनले पनि जीवनमा प्रेम एउटैसँग गरिन् । त्यही प्रेमले उनलाई जीवनभर एक्लो मात्र बनाएन, अथाह पीडामा पनि डुबाइदियो ।



कबड्डीकै कथाअनुसार दयाहाङको जीवनमा सोल्टीनीको प्रवेशसँगै उनले अवलम्बन गरेको सिद्धान्त नै डगमगाएको देखिन्छ तर चेपाको जीवनमा त्यस्तो भएन । उनी प्रेम जीवनमा एकजनासँग मात्र हुन्छ भन्ने सिद्धान्तमैं अडिक रहिन् । उनको जवानी देखेर अरू भमराहरू विभिन्न प्रलोभन देखाउँदै उनको नजिक नआएका होइनन् तर उनले ती सबै प्रस्तावहरूलाई अस्वीकार गरिन् र बरू उनले सिङ्गो जीवन एक्लै बिताउने निर्णय लिइन् ।

कथा त्यहाबाट सुरु हुन्छ जतिबेला चेपा १४ वर्षकी मात्र भएकी थिइन् । भर्खरै जवानीमा प्रवेश गरेकी चेपाको मनमा पनि अरूहरूको जस्तै उत्साह र उमङ्ग थियो । उनको पनि आफ्नै खालको सपना थियो । तर उनको सपनाले आकार नपाउँदै भताभुङ्ग भयो ।

चेपाको घर नजिकै बाहुन परिवारहरूको बसोबास रहेको थियो । चेपा आफ्ना बाबुले सिलाएको कपडाहरू बाहुन गाउँका बिष्टहरूकोमा पुर्याउने र त्यो बापतको अन्न लिएर घर फर्कने गर्दथिन् । यसै क्रममा बाहुन जातका राम पुडासैनी (नाम परिवर्तन) उनको यौवनमा पागल भएर उनको पछि लाग्न थाल्छन् । सुरुमा त चेपा राम पुडासैनीसँग डराउँछिन् । उनलाई लाग्छ– ‘आफ्हरूले धोएको भाँडा त जुठो भयो भन्दै आगो पानी हालेर चोख्याउने जातसँग नजिक भएर के गर्ने र ? यो असम्भव छ ।’

रामसँग जात त मिल्दैन थियो नै, उनी विवाहित पनि थिए । त्यसैले पनि चेपा सकेसम्म रामसँग तर्किएर हिड्न थालिन् । रामले भने चेपाको पिछा गर्न छोडेनन् । एकान्तमा फेला पारे उनी जबरजस्ती गर्न पनि पछि पर्दैनथे । चेपाको रूपमा राम यति पागल भएका थिए की चेपा उनीबाट टाढा हुन्छिन् कि भन्ने डरले अन्त हुनलागेको उनको बिहे पनि भड्काइदिन्थे । उनी चेपालाई पनि आफै विवाह गर्ने भन्दै अन्त विवाह नगर्न धम्की पनि दिन्थे । मान्छेको मन न हो, विस्तारै चेपाको मन पनि पग्लियो । राम र चेपाको प्रेम झाङ्गिदै गयो । चेपालाई रामलाई नभेट्दा छटपटी हुन थाल्यो । राम र चेपासँगै मेलापात गर्न थाले । विवाहित रामसँग चेपाको अबैध प्रेमका बारे गाउँघरमा एक कान दुई कान मैदान भयो । प्रेम अन्धो हुन्छ भन्ने कुरा राम र चेपामा पनि लागु भयो । उनीहरू एकविना अर्को अधुरो हुने धारणा बनाउन थाले । मन मिलेपछि शरीर नमिल्ने कुरौ भएन । प्रमिल दिनहरू क्रमशः बित्तै गए ।

तर जब चेपा गर्भवती भइन्…

प्रायः हामीहरूले हेर्ने चलचित्रमा नायिका गर्भवती भएपछि कहानीले अर्को मोड लिएजस्तै चेपा गर्भवती भएपछि उनीहरूको कहानीले अर्को मोड लिनपुग्छ । चेपा गर्भवती नहुँदासम्म रामका परिवारले पनि उनीहरुको सम्बन्ध बारे खास्सै चासो राखेको थिइन तर जब रामको बच्चा चेपाको पेटमा हुर्किदै गरेको परिवारले थाहा पायो, उनीहरुले आफ्नो इज्जत, मान प्रतिष्ठा र कथित् जातभातका कुरा देखाउदै रामलाई चेपाबाट टाढा हुन दबाव दिन थाल्यो । पारिवारिक रूपमा असहमति भएपछि अन्ततः राम र चेपा भागेर भारत जाने तयारी गरे तर आँट गर्न सकेनन् । चलचित्रमा जस्तो प्रेमका खातिर रामले घर परिवार छोड्न सकेनन् । उनीहरूबीचको प्रेम एउटा अपुरो र अधुरो प्रेमकहानीमा सीमित बन्न पुग्यो । कुनै बियोगान्त चलचित्रजस्तै ।

अन्तरजातीय प्रेमको पीडा

उमेरले ५८ वसन्त पार गरिसकेकी चेपा परियारले आफ्नो जीवन कहानी लेखकलाई सुनाउदै गर्दा लाग्थ्यो कसैले निर्माणाधीन चलचित्रको स्क्रिप्ट सुनाइरहेको छ । के मान्छेको जीवनमा पनि यतिसम्म उतारचढाव र थिचोमिचो सहन सक्ने क्षमता हुन्छ ? जीवनमा एउटै मान्छेको भागमा यतिसम्म अन्याय अत्याचार र दुःख सहन लेखेको हुन्छ ? उनको जीवन भोगाइका सबै कथाव्यथालाई शब्दचित्रमा उतार्न म आफैं पनि असमर्थ छु ।

यी सवै अव्यक्त कथाव्यथाकी साक्षी र भोक्ता दुवै थिइन् चेपा परियार । आधा जिन्दगी अन्याय र थिचोमिचोमै विताएकी चेपाले अब भने छोराको पहलमा न्याय पाउने आशा गर्न थालेकी छन् । बाबुको पहिचान नपाएका उनका छोरा सविन अहिले ३२ वर्षका भइसकेका छन् । उनी पनि आफूमाथि भएको अन्याय र जन्मदिने आमाले प्रेमका नाममा जीवनभर भोग्नुपरेको पीडाको मूल्य दिलाउन चाहन्छन्, न्याय दिलाउन चाहन्छन्् । चेपाको त दिन ढलिसकेको छ, रामको साथको अपेक्षा त छैन तर पनि बर्षौदेखि विना पति सन्तानको जन्म दिएको भनी लागेको कलंक मेटाई छोरालाई आधिकारीक रूपमा बाबु चिनाएको दिन हेर्न व्यघ्र छिन् । छोराले बाबुको नाम पाएको दिन चेपाको मनले सन्तोषको सास फेर्ने थियो ।
आजभोलि सविनको दिनर्र्चा नै न्यायको ढोका ढकढक्याउने भएको छ । ‘काम गरी खानु पर्ने मान्छे, बाबुको नामबाट पाउने पर्ने आधारभुत अधिकारकै खोजिमा भौतारिनु पर्दा खल्लो महसुस त हुन्छ नै तर पनि अन्याय सहेर बस्दा हुने पीडा झनै बयान गरी साध्य हुँदोरहेछ’ सविन सुनाउँछन् ।

गाँउघरतिरका छिमेकीहरूको साथ र सहयोगले पनि सविनलाई हौसला मिलेको छ । उनी भन्छन्– ‘आफू अनपढ भएकोले नै लामो समयसम्म अन्याय सहेर बस्नुपरेको हो तर अब भने आमा र म आफैलाई न्याय दिलाएरै छाड्छु । यो अभियान र जिम्मेवारी पूरा नगरी आराम गर्ने छैन ।’

हेर्नुस भिडियो

सम्बन्धित समाचार