शक्तिशाली भूकम्प : १९ जनाको मृत्यु, ३ सयभन्दा बढी घाइते मृतकको संख्या बढ्न सक्ने

पाकिस्तानमा शक्तिशाली भूकम्प जाँदा धनजनको ठूलो क्षति भएको अनुमान गरिएको छ । मंगलबार साँझ राजधानी इस्लामाबाद र पाकिस्तान प्रशासित काश्मीरमा शक्तिशाली भूकम्प गएको हो । अधिकारीहरूका अनुसार भूकम्पका कारण तीन बालिकासहित १९ जनाको मृत्यु भएको बताइएको छ । भूकम्पबाट पाकिस्तान प्रशासित काश्मीरमा ठूलो क्षति पुगेको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार ५।८ रेक्टरस्केलको भूकम्प गएको र भूकम्पको केन्द्रबिन्दु पञ्जाब प्रान्तको झेलम सहरबाट करिब पाँच किलोमिटर टाढा रहेको बताएको छ ।

पाकिस्तान प्रशासित काश्मीरको मिरपुर जिल्लाका एसपी इरफान सलिमले भने, ‘भूकम्पले १९ जनाको मृत्यु भएको छ । जसमा तीन जना बालिका रहेका छन् ।’ उनले भूकम्पका कारण थप सयभन्दा बढी घाइते भएको प्रारम्भिक विवरण रहेको जानकारी दिएका छन् ।



भूकम्प साँझको समयमा गएका कारण उद्धार तथा राहतका कार्यमा कठिनाइ उत्पन्न भएको छ । भूकम्पमा घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै भनेका छन्, ‘सेना प्रमुखले सेनालाई प्रशासनसँग मिलेर भूकम्पपीडितको उद्धार, राहत तथा सहयोग गर्न आदेश दिएका छन् । सेनाको मेडिकल टिम प्रभावित क्षेत्रमा गइसकेको छ ।’ दिल्लीसहित भारतका केही भूभागमा समेत भूकम्पको झट्का महसुस गरिएको थियो । भूकम्पले पाकिस्तानमा आठदेखि १० सेकेन्डसम्म हल्लाएको पाकिस्तानी सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

डिभिजनल कमिसनर चौधरी मोहम्मद तैयबले भूकम्पका कारण १९ जनाको मृत्यु भएको र मृत्यु हुनेमध्ये ३ जना बालबालिका रहेको जनाएका छन् । उनले ३ सयभन्दा बढी घाइते भएको पनि जानकारी दिएका छन् । घाइतेमध्ये १ सय जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए ।

पाकिस्तान प्रशासित काश्मीरका युवा, खेलकुद तथा संस्कृतिमन्त्री चौधरी मोहम्मद सइदले राज्यमा संकटकाल घोषणा गर्दै सबै सरकारी तथा गैरसरकारी अस्पतालमा घाइतेको उपचारको व्यवस्था मिलाइएको जानकारी दिएका छन् । घाइतेमध्ये सबैभन्दा बढी मिरपुरको अफ्जालपुर, जाट्लान र न्यु सिटीका सर्वसाधारण रहेको बताए ।

आजाद काश्मीरका प्रधानमन्त्री राजा फारुक हैदर भूकम्पलगत्तै फर्किएका छन् । उनी सोमबारदेखि लाहोरमा थिए । भूकम्पले धनजनको क्षतिपछि भ्रमण छोट्याएर फर्किएका हुन् । उनले उद्धार, राहत तथा पुनस्र्थापनाको काम तीव्र गतिमा सञ्चालन गर्न निर्देशन दिएका छन् ।

पाकिस्तान भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रमा पर्छ । सन् २०१५ को अक्टोबरमा पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण करिब ४ सयको मृत्यु भएको थियो । यस्तै, ८ अक्टोबर २००५ मा गएको भूकम्पमा परी करिब ७ हजार ३ सयको मृत्यु भएको थियो भने लाखौं घरबारविहीन बनेका थिए ।

सम्बन्धित समाचार