जब मानिस जन्मन्छ, त्यसपछि जीवनको अन्त्यसम्म उसलाई लुगा अर्थात् कपडाको जरुरत पर्छ । लगाउने लुगा, ओढ्न सिरक, ओच्छ्याउने डसना, कोठामा पर्दा, जाडोमा न्यानोे लुगा र गर्मीमा पातला पहिरन, त्यतिमात्र होइन पुछपाछ गर्ने टालो अनि मर्दा घाटसम्म लैजान कात्रो र पिताम्बर । कपडा सभ्यता हो, संस्कृति हो, पहिचान हो र आवश्यकता पनि हो ।
टेक्सटाइल क्षेत्रका विज्ञहरु भन्छन्– एक व्यक्तिले वर्षमा चलनअनुसारको मूल्य अनुसार सरदर १५ हजार रुपैयाँ लत्ताकपडामा खर्च गर्छन् । नेपालमा ३ करोड जनसंख्या छ । नेपालको जनसंख्यालाई चाहिने कपडाको मूल्य लगाउँदा सालिन्दा ४ खर्ब ५० अर्ब रुपैयाँ हुन्छ ।
टेक्सटाइलमा वार्षिक ४ खर्ब रुपैयाँ भन्दा माथि व्यापार हुने आन्तरिक बजार छ नेपालको । तर विडम्वना सरकारी तथ्यांकमा नेपालमा वार्षिक मात्र ६० अर्ब रुपैयाँको कपडा कारोबार भएको देखिन्छ । त्यसमध्ये ४० अर्ब रुपैयाँ भारतलगायत अन्य देशबाट आयात भएको देखिन्छ । ४० अर्ब रुपैयाँको कपडा आयात हुँदा राज्यलाई १० अर्ब रुपैयाँ भन्सार शुल्क प्राप्त हुन्छ ।
नेपालमा साना ठूलो गरी २ सय ५० कपडा उद्योग सञ्चालित छन् । आन्तरिक कपडा उत्पादनबाट १० अर्बको आपूर्ति भइरहेको छ । ४० अर्ब रुपैयाँको आयात १० अर्ब रुपैयाँको आन्तरिक उत्पादन र १० अर्ब रुपैयाँ राजश्व । वैधानिकरुपमा जम्माजम्मी ६० अर्ब रुपैयाँको कपडा कारोवार भएको देखिन्छ ।
३ करोड जनसंख्या भएको देशमा वार्षिक रुपमा मात्र ६० अर्ब रुपैयाँको कपडा व्यापार । सुन्दा र गमेर बुझिल्याउँदा उदेकलाग्दो छ । ४ खर्ब रुपैयाँ र ५० अर्ब रुपैयाँको व्यापार हुनुपर्ने ठाउँमा मात्र ६० अर्ब रुपैयाँको कारोबार देखिन्छ वैधानिक तथ्यांकमा । यो सरकारी तथ्यांकले प्रतिव्यक्ति वार्षिक मात्र दुई हजार रुपैयाँ कपडामा खर्च गरिरहेका छन् जुन पत्याउन गाह्रो हुन्छ ।