नेपाली सञ्चार जगतमा दुर्गानाथ शर्मा एउटा चिरपरिचित नाम हो । टेलिभिजन क्षेत्रका लागि त उहाँ एउटा जिउँदो इतिहास पनि हो । विशेष गरी नेपाल टेलिभिजनकाट प्रसारण हुने विश्व घटनाले उहाँको परिचय फराकिलो बनाइदिएको थियो । सञ्चारजगत्मा लामो अनुभव सँगाल्नुहुने व्यक्तित्व दुर्गानाथ शर्मासँग ०७६ सालको बडादशैं मनारहेका अवसरमा नवकान्तिपुर डटकमका सम्पादक एलपी पौड्यालले भेटघाट गरी गरेका समसामयिक कुराकानीको सार–संक्षेप प्रस्तुत गरिएको छ ।
के गर्दै हुनुहुन्छ आजभोलि ? दशैं कस्तो लाग्दैछ ?
मैले धेरै वर्ष पत्रकारिताको क्षेत्रमा काम गरेँ । त्यसो हुँदा कोही बेला चौबिसै घण्टा जति जस्तै काम गर्नु पथ्र्याे । ४० वर्षको यस्तो व्यस्त जीवन बिताएको मान्छेले अलि फुर्सद हुँदा के गर्छ र उही आराम गर्दैछु । जतिसुकै आराम गरे पनि केही त गर्नै पर्छ, होइन भने मानसिक रूपमा पनि असर पर्ला भनेर मैले ४० वर्ष पत्रकारिताका क्षेत्रमा सिकेका, गरेका र प्राप्त ज्ञान अरूलाई पनि बाँड्नु पर्छ भन्ने लागेकोले अहिले बिहान काठमाडौंस्थित गोल्डेनगेट इन्टरनेसनल कलेजमा बीए दोस्रो वर्षका विद्यार्थीलाई प्रसारण पत्रकारिता पढाउँदै छु ।
तपाईं त मिडिया क्षेत्रको, विशेष गरी नेपालमा टेलिभिजन युग आरम्भ गर्दाको जिउँदो इतिहास हुनुहुन्छ । टेलिभिजन आरम्भ गर्दाको समयदेखि अहिलेसम्मको प्रगतिको साक्षी पनि हुनुहुन्छ । हिजो र आज टेलिभिजनहरूमा प्रविधिका हिसाबले, कार्यक्रमका हिसाबले तथा दर्शकको अभिरूचिका हिसाबले केकति समानता र असमानता देख्नुहुन्छ ?
तपाईंको भनाइ ठिकै छ । नेपालमा हामीले टेलिभिजनको युग आरम्भ गरेकै हो । टेलिभिजन एउटा व्यक्तिको प्रयत्नबाट मात्र हुँदैन । त्यसमा ‘टिम वर्क’ हुनुपर्छ । सुरूमा गीतकार, कलाकार नीर शाहको नेतृत्व प्राप्त भएकोले नै भनौं, हामी सफल भयौं । यो सम्झँदा सुखको र सन्तोषको अनुभूति हुन्छ । हामीसित काम गर्ने रवीन शम्शेर राणा, तपनाथ शुक्ल, विश्वप्रकाश मास्के, मदन शर्मालगायत किरण चित्रकार, जयसिंह शाह, विजय उदय पाल्पाली, राजेन्द्र देव आचार्य, राजु सिलवाल, महाप्रसाद लामिछाने, पवन श्रेष्ठ, गम्भीरकान्त मैनाली जस्ता व्यक्तिहरूको ठूलो योगदान छ । मैले भने नि टेलिभिजन भनेको ‘टिम वर्क’ हो यो टीममा मैले सबैको नाम यहाँ दिन नसके पनि उनीहरूको पनि ठुलो योगदान छ ।
खासगरी सुरूमा रमा सिंह, रीता गुरूङ्, आरती चटौत, दीपा गौतम, अभय कृष्ण श्रेष्ठ, किरण प्रभा तुलाधरको पनि ठूलो योगदान थियो । यसमा प्रकाश के.सी. रविन्द्र शर्मा र बिजय लाल श्रेष्ठको सहयोग पनि महत्त्वपूर्ण छ ।
तपाईंको हिजो र अहिले टेलिभिजनमा प्रविधि र कार्यक्रमका हिसाबले अथवा दर्शकका अभिरूचिका हिसाबले के कस्तो समानता र असमानता देख्नु हुन्छ भन्ने प्रश्न छ मेरो विचारमा अहिले धेरै सुविधा छ हामीले काम गर्ने युगमा नेपालमा टेलिभिजनको स्थापना शून्यबाट सुरू गर्नु परेको थियो । हामीसित टेलिभिजनको प्रविधिको ज्ञान थिएन । हामी धेरैले पहिलो त टेलिभिजन नै हेरेका थिएनौं । हामीसित त्यही किसिमको जनशक्ति थिएन । एक शब्दबाट भन्ने हो भने हामी शुन्यमै थियौंं । तत्कालीन सरकारले निदरलैण्डसको सरकारबाट ५ हप्ताको टेलिभिजन तालिमको कार्यक्रमको सुविधा उपलब्ध गराएको थियो । त्यसमा रेडियो नेपाल रत्न रेकर्डिङ संस्थानलगायत मन्त्रालयको र सूचना विभागका गरी १६ जना त्यो तालिमका लागि छानिएका थिए । म त्यसबेला रेडियो नेपालमा समाचार लेख्ने र उद्घोष गर्ने गरेकाले मन्त्रालयले मलाई पनि रोज्यो । त्यो टिमका धेरैले टेलिभिजनमा कामै गरेनन् तर केहीले गरे र तिनको योगदान ठूलो छ । जुन बेला नेपालमा टेलिभिजन नै थिएन, त्यसैले जन्मदै नजन्मेको संस्थामा कसरी काम गर्ने भन्ने भएकोले होला तालिमबाट फर्किएपछि सबै आ–आफ्ना कार्यालयमा काम गर्न थाले ।
२०३८ सालतिर राजा वीरेन्द्रले तत्कालीन राष्ट्रिय पंचायतको अधिवेशनमा नेपालमा टेलिभिजनको स्थापनातर्फ अध्ययन गर्ने कुरा गरेपछि यसको तयारी सुरू भएको हो । त्यसबेलाको प्रविधि पनि हामीसित थिएन । प्रविधिको जोहो गर्ने जनशक्तिलाई तालिम दिने कार्यक्रम समाचार अनि इन्जिनियरिङ र प्रसारणको खाका तयार पार्नेदेखि प्रसारणको ठूलो काम थियो । सरकारले नीर शाहको नेतृत्वमा दुई सदस्य भएको एउटा कार्यदल त गठन गयो तर काम हुन सकेको थिएन ।
हामीसित क्यामराहरू थिएनन् दृश्य सम्पादन गर्ने अनुभवी व्यक्ति र उपकरण थिएन समाचार पढ्ने मान्छे तयार भइसकेका थिएनन् । म र रमा सिंह त्यसबेला रेडियो नेपालमा समाचार पढ्ने हुँदा हामी दुईलाई केही अनुभव थियो । धेरै वर्षसम्म रमा र मैले नै समाचार पढ्ने गथ्र्यौं, पछि आएर अरू पनि आएका हुन् ।
एक पटकको एउटा घटना तपाईलाई सुनाइदिउँ– सार्कको दोस्रो शिखर सम्मेलन १९८७ मा भारतको बेङलोरमा हुँदैथ्यो । म लगायत अरू प्राविधिक साथीहरू रिपोर्टिङका लागि गएका थियौं । फर्कने दिन नेपालमा पञ्चायती व्यवस्थाको रजत जयन्ती मनाइँदै थियो । हाम्रो बेलुकीको उडान थियो । राजा वीरेन्द्रबाट विमान मै सबैलाई ‘स्याम्पेन’ खुवाउने हुकुम भयो ।
मैले पनि अब केही छैन, घर गएर सुत्ने त हो भनेर निकै ‘स्याम्पेन’ खाएँ । काठमाडौँ उत्रँदा त मलाई लिन भनेर लय संग्रौला आएका रहेछन् । उनले मेरो सुटकेश अघि नै झिकेका रहेछन । मलाई देख्ने बित्तिकै ल दाई तपाई त घर होइन, सिंहदरबार जानु पर्छ भने मैले किन भनेर सोध्दा आज रमा सिंह बिरामी भएर कार्यालय आउनु भएन । आज समाचार पढ्ने मान्छे नै छैनन् भनेर भ्यानको ढोका खोल्दै अब १५ मिनेट बाँकी छ हामी ७, ८ मिनेटमा सिंहदरबार छिर्न सक्छौं राजेन्द्रजीले बुलेटिन तयार गरेर राखि दिनु भएको छ, भने ।
यस्तो अवस्थामा अर्को उपाय पनि केही छैन, जे त होला भनेर सम्पादक राजेन्द्र आचार्यलाई ठीक छ भाई ! भनेर सोधे उनले पनि सबै ठिक छ, दाइलाई त फरक पर्दैन भने । मैले त्यो बेलुकी रक्सी खाएर समाचार पढेँ, तर कतै बिगारिन र मेरो बोली पनि लरखराएन । भोलीपल्ट मेरो साथी हिजो समाचार पढ्दा आँखा अलि राता थिए नि, कि झ्याप लगाएर त पढिनस् भन्थे ।
मैले यहाँ त्यो कुरा उल्लेख गर्नुको कारण सुरूका दिनमा हामीले कसरी काम ग¥यौं भन्ने हो । नेपालमा टेलिभिजन स्थापना हुनुमा यहाँका सबै कर्मचारीको मेहनत, अठोट र जाँगरले ठूलो काम गरेको छ भन्नु नै हो ।
नेपालमा टेलिभिजन आरम्भ गर्दाका कुनै अविस्मरणीय पक्ष ?
नेपालमा टेलिभिजन आरम्भ गर्दाको अविस्मरणीय क्षणहरू धेरै छन् । एउटा त मैले तपाईंलाई भनिसकेँ । अर्को सुरूमा राजा वीरेन्द्रको अष्ट्रेलिया भ्रमण हुने घोषणा हुँदा हामी सिंहदरबारको दुई कोठामा सीमित थियौं । हामीसित उपकरण थिएनन् के गर्ने ? सरकारले हामीलाई पत्याएकै थिएन् । रकम दिएन निर शाहले नेपाल बैंकसित कसरी हो ९० लाख रूपैयाँ ऋण लिएर अनि हामीले राजाको भ्रमणको कार्यक्रम बनाउन थाल्यौं । हामी अस्तित्व नै नभएकाले होला, परराष्ट्रले हामीबाहेक अरूको भीसाको प्रवन्ध गरेछ । त्यसैले नीर शाह, हङकङ गएर क्यामेरा किनेर सिड्नी आउने, म र श्याम चित्रकार उनकै भिएच क्यामरा लिएर सिड्नी जाने भनेर हामीले ‘भूउपग्रह’ को समय बुकिङ गर्यौं र काठमाडौंको केही महत्वका स्थानमा स्थानीय रूपमा प्रसारण गर्ने प्रविधि जुटायौं । यस कार्यमा हामीलाई त्यसबेला अमेरिकी दूतावासमा काम गर्ने श्रेष्ठ थरका दुई व्यक्तिले केही उपकरण ल्याएर यो काम पूरा गर्न मद्दत पनि गरेका थिए ।
श्याम चित्रकार र म सिड्नी पुगेर एक दिनमा एउटा “गिल्मसेस अफ अष्ट्रेलीया” भन्ने वृत्तचित्र तयार ग¥यौं । यसमा हामीलाई त्यहाँको टेलिभिजनले सम्पादन कक्ष र पुराना फुटेजहरू उपलब्ध गराएर ठूलो मद्दत गरेको थियो । दिनभरि खाना नखाई काम गर्दा गर्दै विमानस्थलको ‘क्यानभेरा’ जाने समय भैसके छ । हामी आज म क्यानभेरा पुगिएन भने भोलिको ११ बजे राजाको सवारी कसरी कभर गर्ने भन्ने चिन्तामा थियौं । अस्ट्रेलिया टेलिभिजनको त्यो सम्पादक मित्र अत्यन्तै सहयोगी फेला परे । उनले केही नखाई काम गरे । उनले नै हामीलाई आफ्नो मोटरमा एयरपोर्ट पु¥याई दिने भनेकोले हामी ढुक्क थियौँ । तर आधा घण्टा जति ढिलो भइसकेको थियो । स्वच्छ हृदयले र इमान्दारीका साथ गरेको काम कहिल्यै खेर जाँदैन भन्ने हाम्रा बुढापाकाले उखान जस्तै ३५ मिनेट ढिलो गरेर एयरपोर्टको काउन्टरमा हतासिदै पुग्दा, काउन्टरका अधिकारीहरूले तपाईहरू नआत्तिनु होस् विमान अझै आधा घण्टा ढिलो छ भने पछि हामीले सन्तोषको सास फे¥यौं । त्यसपछि रेष्टुराँ पसेर मित्र सम्पादकसहित श्याम र मैले केही स्यानवीच खाएर ढुक्क भयौं । त्यस पछिका घटनाहरू पनि चाख लाग्दा छन् । अरू कुनैबेला बताउँला ।
अबको टेलिभिजन यात्रा कता जाला ?
अबको टेलिभिजन यात्रा झन सुगम हुँदै जान्छ । हामीले काम गर्दा १५ किलोको क्यामारा र झण्डै त्यतिनै गह्रौं क्यासेट केबुल्स र ब्याट्री बोकेर दौड्नु पथ्र्याे भने अहिले हाम्रो हत्केलामा एउटा संसारै छ । मोबाइल नबोक्ने मानिस बिरलै होलान् आज संसारमा । त्यसबाट तपाईं सबै काम सरल तरिकाबाट गर्न सक्नुहुन्छ यो प्रविधिको विकास रोकिने छैन, बढ्नेछ ।
तपाईंले नेपाल टेलिभिजनबाट चलाएको ‘विश्वघटना’ आज पनि मानिसहरू बिर्सन सकेका छैनन् । मलाई पनि लाग्छ– दुर्गानाथ शर्मालाई सेलिब्रिटी ‘दुर्गानार्थ शर्मा’ बनाउनमा त्यस कार्यक्रमको पनि ठूलो भूमिका थियो । अझै कुनै त्यस्तै लोकप्रिय कार्यक्रम सञ्चालन गरौंजस्तो लाग्दैन ?
तपाईंले भन्नु भएको जस्तै नेपाल टेलिभिजनको विश्व घटना कार्यक्रम समयानुकुल र सबैको रूचि समेटिएको कार्यक्रम थियो । आजसम्म मानिसहरू त्यो कार्यक्रम सम्झिरहन्छन् भन्न पाउँदा मलाई पनि गर्व लाग्छ । हो, तपाईंले भन्ने मलाई सेलेब्रेटी बनाउन त्यो कार्यक्रमको ठूलो सहयोग छ । म जता गए पनि मलाई ऊ विश्व घटना आयो भन्दा एकप्रकारको सन्तोष अनुभूति हुनु स्वाभाविकै हो । अब त्यस्तो कार्यक्रम बनाउन धेरैले प्रस्ताव त गरेका छन् तर अब बूढो भइयो नाति–नातिना खेलाएर बस्नु नै ठीक लाग्छ । कसले गरोस् दुःख !
एउटा व्यक्तिगत प्रश्न । तपाईका मागी विवाह हो कि प्रेम विवाह हो ? बिहेको उमेरमा भएका कुनै रोमाञ्चक घटना ?
यो तपाईंको प्रश्न मागी कि प्रेम विवाह चाहिँ सबै टेलिभिनजमा, अखबारका अन्तर्वार्तामा सामान्य पाइयो । मेरो विवाह दुवै हो । हामीले पहिले केही समय प्रेम गर्यौंर कमाउन सक्ने भएपछि मागी विवाह गर्यौं ।
तपाईले जीवनमा गर्न चाहेको तर गर्न नसकेको कुनै कुरा वा योजना छ ?
जीवनमा गर्न चाहेका तर गर्न नसकेका थुप्रै कुरा छन् तर मैले जति गर्न सके मलाई त्यसैमा सन्तोष छ । मान्छेले धेरै खोज्नु पनि हुँदैन, मेरो काठमाडौंमा एउटा घर होस्, राम्रो परिवार होस् र जीवन सुखमय ढंगले बितोस् भन्ने योजना सबैको हुन्छ । मेरो पनि थियो । ती सबै पूरा भएका छन् । घर छ, दुईटा छोरा योग्य छन्, राम्रो काम गरिरहेका छन् । दुबै बुहारीहरू पढे लेखेका र कुलीन–कुशल खानदानका छन्, सबैभन्दा ठूलो कुरा– मसित अत्यन्तै मायालू र मलाई असाध्यै माया गर्ने चार जना नाति–नातिना छन् । मेरो यही संसार मेरा लागि स्वर्ग हो ।
आज आएर आफ्नो जीवनलाई आफैंले मूल्याङ्कन गर्नुपर्दा कस्तो महसुस गर्नुहुन्छ ? वास्तवमा जीवन भनेको के रहेछ त ?
शायद तपाईंलाई माथिल्लो प्रश्नको जवाफले नै यो प्रश्नको उत्तर दियो होला । मैले ४० वर्ष काम गरेर सम्पत्ति जोड्न सकिनँ तर इज्जत प्रतिष्ठा कमाएको छु, वास्तवमा जीवन भनेकै संघर्ष र त्यसपछिको सुख हो । मेरो जीवनसित ठ्याक्कै मिल्छ । मैले काम गर्दा इमानदारीपूर्वक परिश्रमका साथ काम गरेँ । अहिले मलाई सन्तोष छ । मैले केही गर्न पर्दैन । मेरा दुई छोराले नै गर्छन् । जेठो छोरो अमेरिकामा सेटल भइसकेको छ, कान्छो काठमाडौँ छाड्न मान्दैन, ऊ पनि त्यहाँ सेटल भइसकेको छ जीवन भनेकै यही सुखी परिवार होइन र ? धनसम्पत्ति भनेको त मरेर जाँदा पनि लग्न पाइन्नँ । मेरा छोरालाई राम्रो शिक्षा दिएर एउटा कुशल संस्कार दिएको हुनाले उनीहरू अहिले कमाएर खान सक्ने, परिवार पाल्न सक्ने भएका छन, अब मलाई के चाहियो र ?