–मनाेज राज रेग्मी
काठमाडौं, २९ असाेज ।
महात्मा बुद्धको सबैभन्दा महत्वपूर्ण एवं सर्वोत्तम उपदेशहरूको यदि सार निकाल्ने हो भने ‘आफ्नो प्रकाश आफै बन’ भन्ने हुन्छ । हामी सबैलाई आफ्नो मार्ग स्वयम् नै चुन्नु पर्दछ, त्यसलाई स्वयंले नै आलोकित गर्नु पर्दछ र त्यसमा स्वयम् नै चल्नुपर्दछ । कोही अरूको लागि चल्न सक्दैन र कुनै पनि व्यक्ति अरूको लागि दीपक बन्न सक्दैन । द सिक्रेट लाइफ अफ वाटरमा मैसे इमोटोले लेखेका छन् ‘यदि तपाई उदास, कमजोर, निराश, सन्देह वा सङ्कोचले घेरिएको महसुस गर्नुभएको छ भने आफूतिर फर्कनुस्, हेर्नुस्, वर्तमानमा तपाई कहाँ हुनुहुन्छ, के हुनुहुन्छ र किन हुनुहुन्छ ? तपाईंले आफूलाई पाउनु हुन्छ कमलको फूल जस्तै जो हिलोमा पनि पूर्ण सुन्दरताको साथ फक्रिएको हुन्छ ।’
आफ्नो पथ–प्रदर्शक स्वयं नै बन्नुपर्दछ र त्यही दीपकको ज्योतिमा जीवनपथमा अग्रसर हुनुपर्दछ, अगाडि बढ्नुपर्दछ । विभिन्न अवसरहरूद्वारा भरिएको छ मानव जीवनपथ । प्रत्येक मोड, प्रत्येक गल्ली, पाइला पाइलामा हाम्रो कदम कदममा अवसरहरू रहेका छन् । आवश्यकता यति मात्र हो कि त्यसलाई हेरेर समेट्न सक्ने, आत्मसात गर्न सक्ने, जीवनमा त्यसलाई सदुपयोग गर्ने, त्यसको प्रयोगद्वारा आफ्नो जीवनलाई सुन्दर बनाउने, अग्रगामी दिशातिर अघि बढ्ने गर्न सक्नुपर्दछ । यो सत्य हो कि सत्य, शान्त र स्थिर दिमागले नै राम्रोसँग काम गर्न सक्दछ । यदि हाम्रो मन, मस्तिष्क बेचैन छ भने हामीले केही गर्न सक्दैनौं । न हामीले त्यो गर्न सक्छौं जुन हामीले गर्न चाहन्छौं र न त त्यो जुन अरूले अपेक्षा गरिरहेका हुन्छन् ।
समस्या जस्तो सुकै होस् यदि हामी व्यवस्थित भएनौं भने समस्याहरू बढ्दै जान्छन् । लेखक एकहार्ट टोल भन्दछन्– ‘हाम्रो भित्री दुनियाँ जति सुल्झेको हुन्छ हाम्रो बाहिरी दुनियाँ पनि त्यति नै व्यवस्थित हुन्छ ।’ मनुष्यले जस्तो आशा गर्दछ त्यस्तो नै बन्दछ । यो उक्ति सत्प्रतिशत सही लाग्दछ । आशा अनुसार नै हाम्रो चाहना हुन्छ । चाहना भएपछि सोंचाई, विचार र कार्य सबै त्यही दिशामा बदलिन्छ र मनुष्य त्यही अनुरूप बन्दै जान्छ ।
आशा त मनुष्यको जीवन हो, प्राण हो, आधार हो । जब हामी निराशामा उल्झिन्छौं तब अध्याँरो नै अध्याँरो देखिन्छ तर जब हामी आशाले पूर्ण हुन्छौं तब चारैतर्फ प्रकाश नै प्रकाश देख्न शुरू गर्दछौं । आशामा एक जीवन्तता, एक संसार, एक गति छ, एक प्रवाह छ, एक लक्ष्य छ, एक गन्तव्य छ । हामीले आशाको डोरीलाई कहिल्यै छोड्नु हुँदैन ।
आशाको एउटा पक्ष हो सकारात्मक दृष्टि । जुन घटना घटेको छ वा घट्नेवाला छ त्यसमा सकारात्मकता अनुभूति गर्न सक्नु नै आशावादी व्यक्तिको गुण हो । यद्यपि यो सबैको लागि सम्भव छ तर पनि प्रत्येक व्यक्ति यस्तो दृष्टिकोण अपनाउन सक्दैनन वा भनौं अपनाउन चाहँदैनन् । यदि हामीले चाह्यौं भने हामीले के गर्न सक्दैनौं र ?
यस दृष्टिकोणलाई अपनाएर वा बुझेर जीवनको मूल्य र उद्देश्यलाई बुझ्ने ज्ञान विकसित गर्न सकिन्छ । सूफी कवि रूमी भन्दछन् ‘कुनै पनि ऐना फेरि कहिल्यै फलाम बनेन, कुनै रोटी फेरि कहिल्यै गहुँ बनेको छैन, कुनै पाकेको अंगूर फेरि अमिलो भएको छैन । आफूलाई परिपक्व बनाउनुहोस् र परिवर्तनको खराब नतिजाको बारेमा आशङ्का नगर्नुहोस् । उज्यालो बन्नुहोस् । यसकारण स्वयंलाई बदल्नुहोस्, आफ्नो प्रकाश बन्नुहोस् र अरूलाई पनि प्रकाशित गर्नुहोस् ।’