बैंकिङ कारोबारमा संलग्नमध्ये करिब १ करोड नेपालीका २ वटा बैंक खाता रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको नेपालमा वित्तीय पहुँचको स्थितिसम्बन्धी अध्ययनले यस्तो देखाएको हो ।
नेपालका बैंक वा वित्तीय संस्थाहरूमा २ करोड ७८ लाख ६७ हजार निक्षेप खाता खोलिएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या २ करोड ९६ लाख छ । यसरी हेर्दा बैंक वा वित्तीय संस्थामा पैसा जम्मा गर्न खोलिएका खाताको संख्या कुल जनसंख्याको ९४।१ प्रतिशत हुन आउँछ ।
तर, यस्ता खातामध्ये केही खातावाल दोहोरिएको अध्ययनले देखाएको छ । राष्ट्र बैंकको अध्ययन अनुसार बैंक वा वित्तीय संस्थामा निक्षेप खाता खोल्नेमध्ये दोहोरो खाता भएका भएका र विदेशी नागरिकको खाता संख्या घटाउँदा १ लाख ८० हजार नेपालीको व्यक्तिगत बचत खाता रहेको छ । सम्बन्धित व्यक्तिको तीनपुस्ते विवरणको आधारमा दोहोरो खातावालाको संख्या अनुमान गरिएको अध्ययनमा उल्लेख गरिएको छ ।
बैंकमा खाता खोल्ने नेपालीको संख्या बढेको छ । अहिले नेपालको कुल जनसंख्याको ६०।९ प्रतिशत नेपालीले बैंक वा वित्तीय संस्थामा निक्षेप खाता खोलेका छन् ।
पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार तीव्र गतिमा भइरहेको अध्ययनले देखाएको छ । विगत ४ वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या दोब्बर भई २०७६ साउनमा ८ हजार ८ सय ५ पुगेको छ । २०७५ असारमा बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या ६ हजार ६ सय ५० थियो । यस्तै अहिले बैंक वा वित्तीय संस्थाको एक शाखाले ३३ हजार मानिसलाई बैंकिङ सुविधा दिइरहेको अध्ययनले देखाएको छ ।
शाखा विस्तारसँगै यी संस्थाहरूमा निक्षेप र कर्जा खाताको संख्या उल्लेख्य बढ्दै गएको छ । २०७६ असार मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूमा गरी १४ लाख ४० हजार कर्जा खाता रहेको छ । २०७५ असार मसान्तमा यस्तो संख्या १३ लाख १ हजार थियो ।
सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुर्याउने राष्ट्र बैंकको योजना सफलताको नजिक पुगेको छ । गत भदौ मसान्तसम्ममा ७ सय ३९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । अझै पनि १४ स्थानीय तहमा बैंकको शाखा पुगेको छैन । सुदूरपश्चिम प्रदेशका ६ स्थानीय तहमा बैंकको शाखा पुगेको छैन । प्रदेश ५ का सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ ।