सम्पादकीय
काठमाडौं, ७ कात्तिक ।
कुनै पनि सभ्य समाजमा हुनै नसक्ने, सुन्दा पनि अपत्यारिलो नरसंहारको क्रुर लीलालाई १२ वर्षसम्म राज्य संयन्त्रकै पहलमा लुकाइयो । मुलुकमा लोकतन्त्र छ । जनताको छोराछोरी मुलुकको कार्यकारी पदमा छन् । जसको मत प्राप्त गरेर जनताका छोरा–छोरी राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद बनेका छन्, तिनै सरल र इमान्दार मतदाताहरूलाई जिउँदै ग्यासच्याम्बरमा हालेर मारियो । छातीमा ज्वालामुखी दबाएर सरकार यत्रो वर्ष किन मौन बस्यो ? कसको पद जोगाउन सिङ्गो सरकारी संयन्त्र दुरूपयोग भयो ? अब जनताले सरकारलाई कसरी विश्वास गर्ने ? प्रश्न गम्भीर छ ।
द्वन्द्वकालमा कुनै पुरुषले बाटोमा हिड्ने कुनै महिलामाथि छड्के नजरले हेर्दा पनि आँखा घोचिदिनेदेखि भाटे कार्वाहीसम्म गर्नेहरू अहिले सत्तामा पुगेका छन् । सत्तामा पुगेपछि उनीहरू नै अर्काका स्वास्नी, छोरी, बुहारी र भाञ्जीहरू छानीछानी मोजमस्ती गर्दै हिडिरहेका छन् । सभामुखदेखि मन्त्री, सांसद सबै स्त्रीलम्पट देखिए । आग्रह वा पूर्वाग्रह राखिएका केहीबाहेक अरू कसैलाई पनि कार्वाहीको दायराभित्र ल्याइएन । कठघरामा पुगेकाहरूलाई पनि सत्ता र शक्तिको दुरुपयोग गरेर उन्मुक्तिको ढोका खोल्ने प्रयत्न जारी छ भनिन्छ ।
लोकतान्त्रिक व्यवस्थामा फरक विचार राख्नेहरूलाई पनि सम्मान गरिन्छ । फरक फरक विचार र राजनैतिक सिद्धान्त बोकेर पनि एउटै छातामुनि रमाउन सक्नु नै लोकतन्त्रको सौन्दर्य पनि हो । तर फरक आस्था राखेकै भरमा प्रहरीकैे नियन्त्रणमा रहेको कुनै निहत्था नागरिकमाथि नौ नौ गोली बर्साइन्छ तर पनि सरकारका बेखबर छ वा खबर पाएर पनि मौन छ भने जनताले कोमाथि विश्वास गर्ने ?
बलात्कारका घटना, भ्रष्टाचारका घटना, अपहरणका घटना, जग्गा मिचेका वा हडपेका घटना तथा मुलुककै सीमास्तम्भ हराएका घटना सामान्यजस्तै भए । भूकम्प पीडितहरूका आँसु, तुइनमा झुण्डिएर स्कुल जान बाध्य कलिला बालबालिकाहरूको व्यथा, घरबाहिर निस्केकी चेली बाटैमा बलात्कृत हुनुपर्दाको पीडा आदि सुनिदिने, बुझिदिने तथा समाधान गर्न पहल गरिदिने कुनै विश्वासिलो निकाय देखिएन । ‘जबसम्म केही हुँदैन, तबसम्म मात्र सुरक्षित’ हुने अवस्था विद्यमान छ । नेताहरू या त विदेश सयरमा निस्केका छन् या त लिङ्गे पिङ वा लुँडो खेलको उद्घाटनमा व्यस्त छन् । अराजकता र बेथितिबाट थिचिएका र पिल्सिएका निरीह जनता गुहारका लागि जाने ठाउँ नै रहेन ।
नेपाली जतना राष्ट्रपतिको विलासी जीवनशैली र स्वभावबाट निराश छन्, प्रधानमन्त्रीको बेकामे टुक्काबाट निराश छन्, मन्त्री र सांसदको अमर्यादित व्यवहारबाट निराश छन्, वषौंदेखि जघन्य अपराध लुकाउने र मद्दत गर्ने निकायबाट निराश छन्, दुई तिहाइको सरकारबाट केही परिवर्तनको आशा बोकेका जनता सरकारको कार्यशैली देखेर निराश छन्, आफ्नै छोरा–छोरी, ज्वाइँ, बुहारी तथा अन्य नातेदारहरूलाई मात्र योग्य देख्ने रवैयाबाट निराश छन् । यो निराशा सघन हुँदै गयो भने यसले अर्को ठूलो दुर्घटना निम्त्याउन सक्छ ।
राज्य वा सरकार नै जनताप्रति वा जनताका समस्याहरूप्रति असंवेदनशील भए जनता न्याय र सुरक्षाका लागि कहाँ जाने ? सुरक्षाको जिम्मेवारी पाएकाहरू नै भक्षकका रूपमा प्रस्तुत भए जनताले कसलाई विश्वास गर्ने ? यदि हजारौं हजारले शाहदत प्राप्त गरी पाएको लोकतन्त्रमा पनि फटाहा, लुटेरा, हत्यारा, दलाल, भ्रष्टाचारी, बलात्कारी र व्याभिचारीहरूकै बोलबाला हुन्छ भने हिजोको व्यवस्थाभन्दा आजको व्यवस्था ठीक हो भनेर कसरी औचित्य प्रमाणित गर्न सकिएला ? र, हिजो बगेको रगत ठीक थियो भनेर जनतालाई कसरी मनाउन सकिएला ? अनि आलमजस्ताको त्रासको छायामा बसेका हजारौं गरिब र मजदुरहरूलाई लोकतन्त्रको प्रत्याभूति कसरी गराउन सकिएला ? तर जसरी भए पनि सरकारको नजर र न्यायको स्पर्श सबैका लागि समान हुन्छ भन्ने कुराको विश्वास जगाउन सक्नु सरकारकै दायित्व हो ।