सम्पादकीय
काठमाडौं, १४ कात्तिक ।
एकदलीय पञ्चायत व्यवस्थामा कुनै नेता वा नेतृत्वलाई अलिअलि व्यङ्ग्य गर्न पनि जाईजात्राको दिन पर्खनुपथ्र्यो । त्यही एक दिन थियो जुनदिन सञ्चारका माध्यमहरू व्यङ्ग्यात्मक लेख रचना र कार्टुनका माध्यमद्वारा समाजका विकृति, विसङ्गति र असन्तुष्टिहरू पोख्ने गर्थे र त्यस्तो लेख रचना र कार्टुन हेर्ने, पढ्ने दर्शक–पाठकको सङ्ख्या पनि निक्कै ठूलो हुन्थ्यो । त्यो एक दिनबाहेक वर्षभरि नै शासकको सोचविपरीत एक इन्च दायाँ–बायाँ भए दण्डित हुनुपथ्र्यो । पछि नाटक र प्रहसनको माध्यमबाट पनि जनताका गुनासाहरू र असन्तुष्टिहरूलाई प्रकट गर्न थालियो । गाईजात्रे नाटकको आकर्षणले दर्शकको भीड थामिनसक्नु हुन्थ्यो ।
पछिल्लो समय ३६५ दिन नै गाईजात्रामय छन् । अब नेतालाई व्यङ्ग्य गर्न, असन्तुष्टि प्रकट गर्न गाईजात्राको दिन नै कुरिरहनु पर्ने बाध्यता छैन । हरेक दिन प्रकाशित हुने पत्रपत्रिका र सामाजिक सञ्जालमा असन्तुष्टि र विरोधका ध्वनिहरू मुखरित भइरहेका हुन्छन् । विभिन्न बिम्ब प्रयोग गरेर नेताहरूका फोटाहरू पनि प्रकाशित भइरहेका हुन्छन् तर नेता र नेतृत्वको संवेदना गैंडाको छालाजस्तो बाक्लो भइसकेकोले होला, उनीहरूलाई त्यस्ता व्यङ्ग्यहरूले खास्सै कुनै असर पार्दैन । फेरि यस्ता व्यङ्ग्यहरू परोक्ष रूपमा हुने भएकोले पनि नेताहरूलाई बुझपचाउन सजिलो भइदिन्छ । तर हालै प्रज्ञा भवनमा सिस्नुपानी नेपालले २०७६ सालको तिहारको अवसर पारेर गरेको देउसी कार्यक्रमको भने मुक्त कण्ठले प्रशंसा गर्ने पर्ने भएको छ, तारिफ गर्नै पर्ने भएको छ ।
देउसी कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा उनका मन्त्रिमण्डलका धेरै सदस्यहरू, प्रधानन्यायधीश, पूर्वप्रधानमन्त्रीहरू, प्रहरी प्रमुख, विभिन्न पार्टीका शीर्ष नेताहरू, उच्च पदस्थ कर्मचारीहरू, व्यापारी घरानालगायत धेरै गन्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सबै वर्ग, तह र तप्काको प्रतिनिधित्व भएको जस्तो देखिने उक्त कार्यक्रममा मुलुकले भोगिरहेको पीडा र विकसित भइरहेको विसङ्गतिपूर्ण अवस्थालाई सङ्केत गर्दै र ती घटनाका नाइकेहरूलाई कलात्मक रूपमा सिस्नोपानी लगाएको देख्दा दर्शकहरू खुसी र आनन्दले थप्पडी बजाइरहेका थिए भने सिस्नोपानी खानेहरू पनि भित्र पीडा भए पनि बाहिर मुस्कुराइरहेका देखिन्थे । देउसीमा राष्ट्रपतिको राजा शैली, प्रधानमन्त्री र प्रचण्डको दुई जिब्रे बोलीदेखि समसामयिक सबै विवादास्पद विषयहरूलाई बढो कलात्मक रूपमा प्रस्तुत गरिएको थियो । सिस्नुपानी देउसी २०७६ को व्यानरमुनि विभिन्न कलाकारहरूद्वारा प्रस्तुत व्यङ्ग्यमा हास्यमिश्रित देउसीमा आम नेपालीको कष्टपूर्ण भोगाइ र नेताहरूको विलासी जीवन र गैह्रजिम्मेवारी चरित्रलाई मुख्य विषय बनाइएको थियो ।
पहिले पहिले मुलुकमा देखिने विसङ्गति, बेथिति र दरिद्रताको कारकतत्वका रूपमा पञ्चायती व्यवस्था र राजतन्त्रलाई मानिन्थ्यो । आज मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था र जनताको छोरा छोरी नै देशको सर्वोच्च शासकीय पदमा पुगेको अवस्था छ तर पनि आम जनताले फरक महसुस गर्न सकिरहेका छैनन् । नेताहरू-जनप्रतिनिधिहरू विलासी र आफ्नो दायित्वबाट विमुख भइरहेका देखिन्छन् । नातावाद र कृपावादको विकृत रूप मौलाइरहेको छ । सानालाई ऐन र ठूलालाई चैन हुने प्रवृत्ति संस्थागत भइरहेछ । यी र यस्तै विषयहरूले देउसीमा प्रस्तुति पाएका थिए । विभिन्न भाकामा सिस्नोपानी नेपालले प्रस्तुत गरेको देउसीनामको हास्य–व्यङ्ग्यात्कम कार्यक्रममा भन्न र सुनाउन बाँकी खास्सै केही रहेको देखिएन । शीर्ष नेताहरूले यसलाई विना डाइजिन पचाइदिने हुन कि केही प्रभाव पनि पर्ने हो त्यो भने हेर्न बाँकी छ । जे भए पनि जनताका मनमा कुण्ठाका रूपमा रहेका तमाम विषयवस्तुहरूलाई निडर र निर्भीक भएर सम्बन्धित व्यक्तिहरूकै अगाडि राख्न सक्नु ठूलो कुरा हो । यस साहसप्रति सिस्नुपानी नेपाललाई सलाम गर्ने पर्छ । उनीहरूको कार्यको मुक्त कण्ठले प्रशंसा गर्ने पर्छ ।
सत्तामा पुगेकाहरू शक्ति र स्वार्थको मातले अत्यन्त असहिष्णु भएका हुन्छन् । उनीहरू जनताको समस्या र भोगाइहरूबाट पनि बेखबर बनेका हुन्छन् । नेताका वरिपरि भन्किने झिँगाहरूले जनतालाई आफ्ना पीडा र बेदना बोकेर नेताहरूको नजिक पुग्नै दिंदैनन् । सत्तामा पुगेर अहंकारी बनेका नेता र नेतृत्वलाई यस्ता कार्यक्रमहरूले केही मात्र भए पनि झकझक्याउने काम गरेको हुन्छ । आफ्ना व्यङ्ग्यात्मक प्रस्तुतिका माध्यमबाट सिस्नोपानी नेपालले विगत केही वर्षहरूदेखि नेता र नेतृत्वलाई सिस्नुपानी लगाउँदै आएको छ । नेपाली जनताका आवाजहरूलाई कलात्मक रूपमा नेता र नेतृत्वसम्म पु¥याउने कार्य गरेकोमा सिस्नोपानी नेपाललाई धन्यवाद दिनै पर्छ ।
सिस्नुपानी नेपालको देउसी कार्यक्रममा नेताहरूले देखाएको धैर्य र सहिष्णुतालाई पनि तारिफ नगरी रहन सकिन्न । उनीहरूले आफ्नै नाङ्गो ढाडमा सिस्नुपानीले झ्यामझ्याम हान्दा पनि हाँसीहाँसी सहिरेको देखियो । यो धैर्यता र सहनशीलताका लागि उनीहरू पनि प्रशंसाका पात्र बनेका छन्, सलाम गर्न योग्य बनेका छन् । विगतलाई एकछिन बिर्सने हो भने प्रज्ञा भवनमा रहुञ्जेल भए पनि उनीहरूले दर्शक श्रोतालाई लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्षको अनुभूति दिलाएका छन् । यो एउटा अनुकरणीय पक्ष हो ।
शीर्ष नेताहरूले सिस्नुपानीको प्रस्तुतिलाई जनताको आवाजका रूपमा स्वीकार्न पनि सक्नुपर्छ । भाषा र शैली नमिल्ला तर सिस्नुपानीले उठाएका आवाज प्रत्येक नेपालीले उठाउन सक्ने मनको आवाज हो । सिस्नोपानी त केवल माध्यम मात्र हुन् । नेतृत्वले आफ्नो आचरणमा परिवर्तन गर्न सकेन भने र देश विकासको कामभन्दा स्वार्थको भुमरीमा मात्र अल्झिरहे भने परिणाम् दुर्भाग्यपूर्ण हुने छ । कुनै पनि राज्यसत्ता गफ र त्रासले मात्र टिकाउन सकिन्न भन्ने सत्यलाई नेतृत्वले बोध गर्न जरुरी छ । अन्यथा पूर्वराजा ज्ञानेन्द शाहले सङ्केत गरेजस्तै परिवर्तनकारी शक्तिले आफ्नो आचरणमा परिवर्तन र देश विकासको काम गर्न सकेनन् भने उनीहरूले ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ ।