नेपालको लोक संस्कृतिको पहिचान जोगाउन मात्र होइन, विश्व बजारमा यसको विस्तार गर्न पनि हामी क्रियाशील छौं : कोइराला

एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपालको लोक संस्कृतिको जोगार्न गर्दै नेपालको मौलिक संस्कृतिलाई मुलुकबाहिर पनि चिनाउने उद्देश्य राखी खोलिएको एउटा सामाजिक संस्था हो । सन् २०१२ देखि दक्षिण कोरियामा केन्द्रीय कार्यालय रहेको ‘फेडेरेसन अफ इन्टरनेशनल डान्स फेस्टिवल (फिडाफ)’ को सदस्य भई एभरेष्ट नेपाल कल्चरल ग्रुपले लोक साँस्कृतिक आदान प्रदान गर्ने कार्यक्रममा सक्रिय र उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । सन् २०१८ मा नेपालमा भएको अन्तर्राष्ट्रिय साँस्कृतिक मेलाको व्यवस्थापन उत्कृष्ट भएको ठहर गर्दै हालै दक्षिण कोरियाको छनान शहरमा भएको एक विशेष कार्यक्रममा एभरेष्ट नेपाल कल्चरल ग्रुपलाई संस्थागत रूपमा र यसका अध्यक्ष आरसी कोइराला (रामचन्द्र कोइराला) लाई व्यक्तिगत रूपमा पुरस्कृत गरिएको थियो । यसै मेसोमा संस्थाका अध्यक्ष तथा ‘१०औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०२०’ का संयोजक आरसी कोइरालासँग अनलाइन पत्रिका नवकान्तिपुर डटकमका सम्पादक एलपी पौड्यालले समसामयिक विषयमा गरेको कुराकानीलाई प्रस्तुत गरिएको छ ।

एभरेष्ट नेपाल कल्चरल ग्रुप कुन उद्देश्यले स्थापना गरिएको संस्था हो ? यो संस्था आफ्नो उद्देश्य प्राप्तिका लागि कति सफल भइरहेछ ?
एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धनका साथै नेपाली लोक संस्कृतिलाई विश्वमा परिचित गराउने उद्देश्यले लोक संस्कृतिप्रति समर्पित केही व्यक्तिहरूको समूह मिलेर खोलिएको विशुद्ध सामाजिक संस्था हो । लोक संस्कृति र लोक नृत्यको प्रबद्र्धन गर्नु नै यसको मूल लक्ष्य हो । सन् १९९८ मा स्थापना भएको यस संस्थाले आफ्नो श्रोत, साधन र सामथ्र्यले भ्याएसम्मका कार्यहरू गरिरहेकोे छ । सन् २००२ देखि प्रत्येक दुई–दुई वर्षमा नेपालमा अन्तर्राष्ट्रिय स्तरको लोक सांस्कृतिक मेलाको आयोजना गर्दै आएको छ । लक्ष्यबाट अलिकति पनि विचलित नभई हालसम्म यसलाई निरन्तरता दिन सक्नुलाई पनि सफलताको आधार मान्न सकिन्छ ।



नेपालको लोक संस्कृति र लोक नृत्यको प्रबर्दनमा हालसम्म यस संस्थाले केकति कार्य गर्न सफल भयो ? विश्वका कति मुलुकहरूमा नेपाली टोलीले आफ्नो सहभागिता जनाइसकेको छ ?
एभरेष्ट नेपाल कल्चरल ग्रुपले नेपाली लोक कला संस्कृतिको प्रबर्दनमा उल्लेखनीय काम गर्दै आइरहेको छ भन्दा अन्यथा हुँदैन । किनभने हालसम्म यस संस्थाको नेतृत्वमा विश्वका ८० भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका साँस्कृतिक मेलामा आफ्नो सहभागिता जनाइसकेको छ । नेपाली टोली जहाँ जहाँ पुगेको छ, त्यहाँ त्यहाँ आफ्नो अविस्मरणीय छाप छोड्न पनि सफल भएको छ । संसारभरिका लोक संस्कृति प्रेमीहरू नेपाली लोक नृत्यको आनन्दमा झुमेका छन् । नेपाली टिमले सबैतिर प्रशंसा कमाएको छ ।

निःसन्देह रूपमा एभरेष्ट नेपाल कल्चरल ग्रुपले नेपाली मौलिक साँकृतिक पहिचानलाई संसारका धेरै ठाउँमा पु¥याउन मद्दत गरेको देखियो । यस ग्रुपको अबको कार्यदिशा के हो ?
हजुर, एभरेष्ट नेपाल कल्चरल ग्रुपले नेपाली कला संस्कृतिलाई विश्व सामु परिचित गराइ एउटा अलग प्रकारको छाप छोड्न सफल भएको छ । यसमा लाग्ने हामी सबैका लागि यो खुसीको कुरा हो । अबको कार्यदिशा भनेको सांस्कृतिक आदन्- प्रदानको माध्यमबाट नेपालको परिचानलाई अझ फराकिलो पार्दै नेपालमा साँस्कृतिक पर्यटकहरू भित्र्याउन जोड दिनु हो । हामीले यसको प्रचुर सम्भावना देखेका छौं ।

सन् २०२० लाई नेपाल सरकार नेपाल भ्रमण वर्षका रूपमा मनाउँदै छ र २० लाख पर्यटकलाई नेपाल भित्र्याउने महत्वाकांक्षी लक्ष्य पनि बनाएको छ । यही वर्ष तपाईहरूको सक्रिय पहलमा फेडेरेसन अफ इन्टरनेशनल डान्स फेस्टिवल (फिडाफ) ले नेपालमा आफ्नो १० औं संस्करणको साँस्कृतिक मेलाको आयोजना पनि गर्दैछ । के यस साँस्कृतिक मेलाले भ्रमण वर्ष सफल बनाउन पनि केही मद्दत गर्छ ?
हामी फेडेरेसन अफ इन्टरनेशनल डान्स फेस्टिवल (फिडाफ) को स्थापना कालदेखि सदस्य रहेका छौं र फिडाफसँगको सहकार्यमा यस संस्थाले विगत २० वर्षदेखि हरेक दुई–दुई वर्षमा नेपालमा अन्तर्राष्ट्रिय स्तरको लोक साँस्कृतिक मेला आयोजना गर्दै आएको छ । यसलाई निरन्तरता दिंदै अब १० आंै अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०२० नेपालमा आयोजना हुँदै गर्दा संयोगबस् नेपाल सरकारले अघिसारेको नेपाल भ्रमण वर्ष २०२० पनि यही अवधि पर्न गएको छ । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न हाम्रो पनि सक्रिय भूमिका रहने छ र यस साँस्कृतिक मेलाकै कारणले पनि भ्रमण वर्षलाई सफल बनाउन ठूलो मद्दत गर्ने छ भन्ने हामीलाई लागेको छ । बढीभन्दा बढी कलाकारहरू र साँस्कृतिक पर्यटकहरूलाई भित्र्याउन हाम्रो विशेष पहल रहने छ ।

अन्तर्राष्ट्रिय स्तरको यस्तो महत्वपूर्ण मेलाको आयोजना गर्दा वा नेपालबाहिर सहभागी हुन विदेश जाँदा एभरेष्ट नेपाल कल्चरल ग्रुपलाई नेपाल सरकारबाट कुनै सहयोग हुन्छ वा हुँदैन ?
नेपाल सरकारको सम्बन्धित निकायमा विराजमान हुनुहुने प्रभुहरूलाई यस्तो मेला ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भने जस्तै होला । वास्तवमा यस्तो मेला नेपाल सरकारले आफ्नै पहलमा गर्नु पर्ने हो तर यस्तो मेला आयोजना गर्नुभन्दा बीबीसी र सिएनएनमा विज्ञापन बजाएर जिम्मेवारी पूरा भएको देखाउन नै उनीहरू अभ्यस्त देखिन्छन् । यस्ता साँकृतिक आदान प्रदान गर्ने कार्यक्रमले नेपाललाई र नेपालको प्राकृतिक सौन्दर्यलाई संसारभरि प्रचार गरेर बढीभन्दा बढी पर्यटकहरू नेपाल भित्र्याउन मद्दत पुग्ने थियो तर नेपाल सरकारका सम्बन्धित निकायमा बस्ने प्रभुहरूलाई यसबारे जानकारी नै छैन । त्यसैले प्रभुहरूको निगाहबाट सहयोग पाउने सम्भावना नै रहेन । जेजति भएको छ, एभरेष्ट नेपाल कल्चरल ग्रुपको अथक प्रयास र संस्कृति प्रेमी प्रायोजकहरूको पहलबाट मात्र सम्भव भएको छ ।

सरकारको सहयोग विना यति ठूलो साँस्कृतिक मेलाको आयोजना गर्न कसरी सम्भव हुन्छ । ठूलै खर्च हुँदो हो । होइन ? कि बाहिरबाट सहयोग प्राप्त हुन्छ ?
यति ठूलो मेलामा सम्बन्धित निकायले सहयोग नगर्दा दुःख लाग्छ, तर पनि मेला आयोजना गरिरहेकै छाैं । स्थानीय आयोजक र केही प्रायोजकको सहयोगबाट नै अहिलेसम्म मेला आयोजना गर्दै आइरहेका छौं । स्थानीय आयोजकले सम्बन्धित ठाउँको सम्पूर्ण खर्च ब्यहोर्नु हुने हुनाले मेला आयोजना गर्न अहिलेसम्म सम्भव भएको हो । बाहिरबाट आउनु हुने सम्पूर्ण कलाकार समूहहरू आफ्नै खर्चले आउने भएकोले हामीलाई आर्थिक बोझ हुँदैन तर नेपालमा रहँदा यातायात, आवास तथा अन्य व्यवस्था मिलाउन हामी मद्दत गरिदिन्छौं । नेपालको अनुरोधमा यहाँ आएर उहाँहरूले कार्यक्रम प्रस्तुत गरिदिनुहुन्छ । नेपाली दर्शकहरूले आफ्नै भूमिमा बसेर संसारभरिको कला र संस्कृतिको मौलिक परम्पराको अवलोकन र आश्वादन गर्न पाउनु हुन्छ । यसले हामीलाई सन्तुष्टि र ऊर्जा दिन्छ ।

संस्थागत र व्यक्तिगत पहल र प्रयासबाट मुलुकले गर्व गर्ने कार्यक्रम गरिरहनुभएको छ । सन् २०१८ मा नेपालमा भएको अन्तर्राष्ट्रिय साँस्कृतिक मेला भब्य र सभ्य रूपमा सम्पन्न गर्न सफल हुनुभएकोमा एभरेष्ट नेपाल कल्चरल ग्रुप र व्यक्तिगत रूपमा तपाई पनि ‘बेस्ट फेस्टिबल एक्टिभिटी २०१८’ बाट हालै पुरस्कृत हुन पनि सफल हुनुभयो । राज्यकोषबाट कुनै सहयोग नपाउँदा नपाउँदै पनि पुरस्कृत हुन पाउँदा कस्तो महसुुस गरिरहनुभएको छ ?
राज्यले केही देला, राज्यले सम्मान गर्ला भनेर यो पेशामा लागेकै होइन । म मात्र होइन, यस सस्थासँग आबद्ध कलाकारहरू र पदाधिकारीहरू पनि त्यो अपेक्षाले लागेका होइनन् । विशुद्ध कला र संस्कृतिका क्षेत्रमा केही गर्ने चाहना र समर्पित भावनाले मात्र यो सम्भव भएको हो । संस्थागत पहलमै अहिलेसम्म गर्दै आएको क्रियाकलापलाई हेरेर फेडेरेसन अफ इन्टरनेशनल डान्स फेस्टिवल (फिडाफ) ले एभरेष्ट नेपाल कल्चरल ग्रुप तथा संस्थाको संस्थापक अध्यक्ष मलाई ‘बेस्ट फेस्टिभल एक्टिभिटी २०१८’ को अवार्डबाट सम्मानित गरेको हो । राज्यले बेवास्ता गर्याे त के भो, अन्तर्राष्ट्रिय सस्थाले हाम्रो कामको मूल्याङ्कन गर्दै सम्मानित गरेको छ । कुनै काममा प्रतिबद्ध भएर लागेपछि ढिलो चाँडो त्यसको फल प्राप्त हुन्छ भन्छन्, हामीले पनि कर्मको फल पाएका छौं र खुसी पनि भएका छौं । यस अवार्डले हामीलाई थप जिम्मेवार पनि बनाएको छ । अब हुने सांस्कृतिक मेला पहिलेभन्दा पनि भव्य बनाउन हाम्रो पहल हुने छ ।

सन् २०२० मा नेपालमा हुने भनिएको अन्तर्राष्ट्रिय साँस्कृतिक मेलामा कुनकुन देशका कति कलाकारहरू र डेलिगेट्सहरू आउने अनुमान गर्नुभएको छ ? कार्यक्रमको फर्मेट कस्तो छ ?
१०औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०२० मा इस्टोनी, बङ्लादेश, श्रीलङ्का, मलेसिया, इजरायल, ग्रिस, मेक्सिको, इन्डिया, डेन्मार्क, कोरिया, इजिप्ट गरी विश्वका १२ देखि १५ राष्ट्रका ३०० सयभन्दा बढी कलाकारको साँस्कृतिक समूह नेपाल आउँदैछन् । नेपाल त आयोजक नै भइहाल्यो । काठमाडांै, पोखरालगायत नेपालको विभिन्न ठाउँहरूमा मेलाको आयोजना गर्दैछौं र मेलाको तयारीमा हामी जुटिसकेका पनि छौं ।

यसपटक नेपाल पर्यटन बोर्डसँग पनि समन्वय र सहकार्य गर्ने योजना छ कि ?
नेपाल पर्यटन बोर्डसँग मात्र हैन, सम्बन्धित मन्त्रालयदेखि स्थानीय निकायसम्म सहकार्यका लागि हामी तयारी छौं र प्रस्ताव लिएर जाने छौं पनि । पहिले नपाएको सहयोग यसपटक पाउने प्रबल सम्भावना पनि देखेका छौं । नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय साँस्कृतिक मेलाले नेपाल भ्रमण वर्षको प्रबद्र्धनमा पनि सघाउ पुग्ने भएकोले पनि सहयोग पाउने सम्भावना बलियो बनेको छ ।

अन्त्यमा केही भन्नु छ कि ?
लोक संस्कृति देशको पहिचान र परिचय दुबै भएकोले लोक संस्कृतिको सम्बद्र्धन तथा प्रबद्र्धनमा सबै एकजुट भएर लाग्न अनुरोध गर्न चाहन्छु । पहल हाम्रो संस्थाले गरे पनि देशको ख्याति बढ्ने कुरामा सरकारले पनि साथ र सहयोग गरे परिणाम् अझ राम्रो आउने थियो । देशको ख्यातिसँगै हरेक नेपालीको छाती गर्वले चौडा हुने भएकोले देशको प्रतिष्ठा बढ्ने कुरामा कसैले पनि दुईमत राख्नु राम्रो होइन । मुलुकले नै यस्ता कुरामा पहल कदमी गरे सबैको साथ, सहयोग र समर्थन हुने कुरामा हामी विश्वस्त छौं ।

सम्बन्धित समाचार