नेपाल भ्रमण वर्षलाई कसरी सफल बनाउने ?

भ्रमण वर्ष २०२० सुरु हुन डेड महिना मात्रै बाँकी छ । भ्रमण वर्षभरिमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । तर पर्यटक कसरी ल्याउने, आएका पर्यटकलाई कहाँ राख्ने, कति आउँन सक्छन् भन्ने बारेमा भने भगवान भरोसा नै रहेको देखिन्छ ।

२० लाख पर्यटकको लक्ष्य भेट्न दैनिक साढे ५ हजारदेखि ६ हजारको वरिपरिमा पर्यटक आउनु पर्छ । आर्थिक वर्ष २०७५-०७६ मा १२ लाख पर्यटक मात्रै नेपाल भित्रिएका थिए । यो भन्दा अघि दैनिक ३ हजार २ सय पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ । त्यसोत पछिल्लो विवरण अनुसार सन् २०१९ को १० महीनामा नेपाल आउने पर्यटकको संख्या आठ प्रतिशतले मात्र बढेको छ । सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म ९ लाख ७५ हजार ५५७ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१८ को सोही अवधिमा ९ लाख ३ हजार ५३९ जना पर्यटकले नेपाल आएका थिए । यस्तो अवस्थामा नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक कसरी आउन सक्छन भन्ने विषय महत्वपूर्ण रहेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय विमान कम्पनीको नेपालमा सेवा बन्द हुनु, केहीको कटौती हुनुले भ्रमण वर्षमा कति पर्यटन आउलान भनेर आकलन गर्न सकिने अवस्था छैन ।



भ्रमण वर्षलाई सफल बनाउने हो भने बाह्रैं महिना पर्यटक ल्याउने वातावरण सृजना गर्न सक्नुपर्छ । विमानस्थलको स्तरोन्नति पनि आफनै ठाउँमा रहेको छ । साहसिक पर्यटकिय गतिविधि, बन्जीजम, प्याराग्लाइडिङ जस्ता विषयमा विकास हुन सकेको देखिंदैन । नेपालको आकाश विश्वकै महगो आकशमा पर्ने गर्छ । नेपाल आउने प्लेन टिकट विश्वकै महँगो शहरको रूपमा रहेको छ । यस्तो अवस्थामा पर्यटक उल्लेख्य मात्रामा आउने सम्भावना कम छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१८ मा हवाईमार्गबाट नौ लाख ६९ हजार २८७ र स्थलमार्गबाट दुई लाख तीन हजार ७८५ गरी कुल ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेको देखिन्छ ।

तस्विरमा लेखक उद्धव सिलवाल

त्यस्ता पर्यटकहरु भारत,अमेरिका,श्रीलंका, बेलायत , फ्रान्स , भियतनाम, थाइल्यान्ड,दक्षिण कोरिया र जापनबाट नेपाल आएको तथ्यांकले देखाएको छ । नेपालको वन जङ्गल, हिमश्रृखला, हावापानीको काण पर्यटक आउने गर्छन् । लोन्ली प्लानेट तथा विजिनेस इन्साइडर जस्ता पर्यटन सर्वेक्षण सञ्जालका नतिजामा घुम्नै पर्ने देशमा नेपाल ३० औ स्थानमा रहेको कारण पनि पर्यटक आउने क्रम जारी रहेको छ । तर यतिले मात्रै पुग्न सक्ने अवस्था भने देखिंदैन ।

चर्चामा नरहेका अधिकांस पर्यटकीयस्थलको प्रचार प्रसार हुन सकेको छैन । आन्तरिक पर्यटकलाई आफनै देशभित्र घुम्ने वातावरण सृजना हुन सकेको छैन । केही दिनअघि मात्रै कर्णालीको यात्रामा घुम्न निस्केकी एक युवतीको केही अनलाइन संचार माध्यमले समाचार नै बनाए । यो भनेको अझै पनि देशभित्रै एक्लै निर्धक्कसँग घुम्न सक्ने अवस्था छैन भनेको हो । जबसम्म देशभित्र जो कोही जहिले पनि घुम्न सक्ने अवस्था सृजना हुन सक्दैन, तबसम्म आन्तरिक पर्यटकको विकास हुन सक्दैन । अहिले एक थरीका ब्यक्ति घुम्नको लागि विदेश जानेसम्मको अवस्था आइसकेका हुँदा त्यस्ता ब्यक्ति र समुदायलाई स्वदेशमै घुम्ने वातावरण सृजना गर्न सकेमा देशभित्रको रकम देशमै रहने अवस्था सृजना हुने थियो ।

नेपाल भ्रमणमा जाऔँ भन्ने सन्देशमूलक कार्यक्रमलाई विस्तार गर्न सकिएको छैन । पर्यटकको स्वागत सत्कारमा अझ पनि कन्जुस्याइँ हुने गरेको छ । विमानस्थलबाट पर्यटन झर्ने वित्तिकै पर्यटकलाई हतोत्साहित बनाउने काम हुदै आएको छ । ट्याक्सी चालकदेखि सडकमा ब्यापार गर्नेसम्मले अनावश्यक दुःख दिने कार्यले एक पटक आएका पर्यटक पुन नेपाल आउने सम्भावना कम हुन सक्छ । त्यसैले राज्यले त्यसतर्फ काम गर्न सके उपयुक्त हुने थियो ।

विगतलाई हेर्न हो भने १० वर्षको अवधिमा करिव ७६ लाख विदेशी पर्यटक आएको देखिन्छ । उनीहरूसँगको समन्वय र सहकार्य भ्रमण वर्ष सफलतामा प्रभावकारी कडी बन्न सक्छ । यसको लागि गैरआवासीय नेपालीको सहयोग पनि त्यतिनै आवश्यक पर्छ । वैदेशिक रोजगारी र आप्रवास गरी करिव ६०-७० लाख जनशक्ति विदेशी भूमिमा कार्यरत रहेको आकलन गरिएको छ । विदेशी भूमिमा कार्यरत एक नेपालीले एक पर्यटक पठाउन सक्ने अवधारणा विकास गर्न सकेमा सरकारले लिएको लक्ष्य सहजै पूरा हुन सक्छ । विश्व पर्यटन संगठनका अनुसार झन्डै ५० प्रतिशत पर्यटकहरू धार्मिक अभिप्रायकै लागि भ्रमणमा जान्छन् अनि विश्वका झन्डै एक चौथाइ भ्रमण गन्तव्यहरू धार्मिक स्थानको रूपमा रहेका छन् ।

एसियाका अधिकांश धनी देशहरू बौद्ध धर्मावलम्बी छन् । भारतमा एक अर्ब जनसंख्या हिन्दु धर्मावलम्बी छन् । धार्मिक मनोभावनाले अभिपे्ररित भ्रमण समूहको रोजाइमा नेपाललाई पार्ने तर्फ धार्मिक र कुटनीतिक प्रयासको आवश्यकता पनि त्यतिकै रहेको छ । पर्यटकलाई गरिने सामाजिक व्यवहार, अतिथि सत्कार र सहजीकरण पनि पर्यटक आकर्षण गर्न उपयूक्त हुन सक्छ । अहिले पश्चिमा देशका भन्दा एसियाली मुलुकका मानिसमा भ्रमण तथा पर्यटनमा खर्च गर्ने अनुपात बढीरहेको तथ्याकंले देखाएको छ ।


धार्मिक पर्यटकीय स्थल पशुपतिनाथ, हलेसी महादेव, स्वयम्भुनाथ, पाथिभरा, स्वर्गद्वारीको प्रवद्र्वन गर्न सके हिन्दू धर्ममा आस्था राख्ने भक्तजनलाई आकर्षित गर्न सकिन्थ्यो । नेपाली उत्पादन र खानालाई प्रचार प्रसार गर्न सकेमा यसले केही मात्रामा भए पनि सहयोग पु¥याउने देखिन्छ । अर्कोतिर निर्माणको नाममा धुलो र हिलोले बिजोग पारिहेहेको अहिलेको अवस्थालाई अन्त्य गर्नुपर्ने खाँचो पनि त्यत्तिकै देखिन्छ । यस्ता पूर्वाधारहरूलाई व्यवस्थापन गर्न नसके भ्रमण वर्षले लिएको अपेक्षा पूरा नहुन पनि सक्छ । भ्रमण वर्षको प्रबद्र्धनका लागि विदेशी सञ्चारमाध्यमहरूमा समयमा नै भ्रमण वर्षसम्बन्धी विज्ञापन सामग्री प्रसारण गर्नु पर्ने हुन्छ । विदेशी भूमिमा रहेका नेपालीहरूको सहयोगबाट भ्रमण वर्षका विज्ञापन गर्न सके प्रभावकारी हुने देखिन्छ । पर्यटकीय क्षेत्रमा फ्री वाईफाई, एयरपोर्टको सर–सफाइ र सुधार गर्नुपर्ने खाँचो पनि देखिएको छ । पर्यटकलाई ढुक्कसँग हिड्ने वातावराण सृजना गरी उनीहरूलाई घुमघाममा सहजता मिलाउन सक्छुपर्दछ । होटल र हवाई सेवाको संख्या वृद्धि गरी स्तरीय सेवा सुविधा उपलब्ध गराउन सकेमा पर्यटक आकर्षित हुन सक्छन् । नेपाल भित्रिएका पर्यटकहरूलाई राज्यले २४ सै घण्टा सेवा तथा सुविधा उपलब्ध गराउने तर्फ पनि काम गर्नुपर्ने खाँचो देखिएको छ ।

सम्बन्धित समाचार