राजु लामिछाने
काठमाडौं, २७ कात्तिक ।
मन्त्रिपरिषद् विस्तारको तयारी गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र आफ्नो कट्टु आलोचक मानिएका नेताद्धय भीम रावल र घनश्याम भुसाललाई पहिलो प्राथमिकतामा राखेको बुझिएको छ । सरकारको गुण र दोशका आधारमा आलोचना गर्दै आएका रावल र भुसाल नै पहिलो प्राथमिकतामा परेपछि प्रधानमन्त्री ओलीले सच्चै आमुल परिवर्तनको तयारी गरिरहेको बुझ्न सकिन्छ । गत आइतबार बसेको सचिवालय बैठकमा पनि ओलीले आफ्नो स्वास्थ्य अवस्थाका कारण पनि आफ्नो समय धेरै नरहेको भन्दै दुर्त गतिमा जनताले परिवर्तनको आभास गर्नेगरी काम गर्न सक्ने टिम बनाउने बताएका थिए ।
‘मैले रोज्ने टिम तपाईहरूमध्ये कतिपयलाई मन नपर्न सक्छ, तर पनि मलाई साथ दिनुहुन्छ भन्ने मेरो अपेक्षा छ’ ओलीको भनाई उधृत गदै एक नेताले भने । ओलीको भनाइमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि समर्थन जनाएका थिए । सबै सल्लाहाकारलाई राजीनामा दिन आग्रह गरेका ओलीले मन्त्रीपरिषद्का पनि सबै सदस्यलाई राजीनामा दिन आग्रह गर्ने पनि बैठकमा कुरा चलाएका थिए । तर बैठकमा सहभागि नेताहरुले सबै मन्त्रीको राजीनामा माग्दा शासन सत्ता हात लिन खोजेजस्तो हुने भएकोले जुन जुन मन्त्री परिवर्तन गर्ने हो उनीहरूलाई मात्र राजीनामा दिन लगाएर नयाँ मन्त्री नियुक्त गर्दा उपयुक्त हुने सल्लाहा दिएपछि ओली रोकिएका थिए ।
ओलीले प्रचण्डलाई पनि नयाँ मन्त्रीको लिष्ट दिँदा हाम्रा भन्दापनि राम्रालाई प्राथमिकता दिन आग्रह गरेका थिए । ओलीकै आग्रहअनुसार प्रचण्ड आफूनिकट उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, र खानेपानीमन्त्री बिना मगरलाई जिम्मेवारीबाट मुक्त गर्न तयार भएको स्रोतको दावी छ । त्यसो त प्रचण्डले सभामुखमा पनि दावी गर्दै आएका आफू निकट अग्नी सापकोटालाई रुष्ट बनाएरै भए पनि गृहमन्त्री रामबहादुर थापा बादल निकट देव गुरुङलाई नै जिम्मेवारी दिने तयारीमा रहनुले पनि ओलीकै आग्रह करण भएको बताइन्छ ।
स्रोतका अनुसार केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुको राजीनामा माग्ने र उनीहरूको सट्टा नयाँ मन्त्रीहरू नियुक्त गर्ने सम्भावना रहेको छ । सरकारको आलोचना गरिरहेका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, जनार्दन शर्मा र सरकारसँग नरम रहेका फम्फा भुसाल, हरिबोल गजुरेल र देवेन्द्र पोडेल मन्त्री बन्ने सम्भावना बुझिएको छ ।
भीम रावल यसअघि नै उपप्रधानमन्त्री भइसकेकाले कुन मन्त्रालय कुन हैसियतमा दिने भन्नेबारे ओलीले तयारी गरिरहेका छन् । यता उपसभामुखबाट शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर उनलाई महिला तथा बालबालिका मन्त्री बनाउने विषयमा पनि दुवै अध्यक्षहरू सहमत देखिएका छन् ।
त्यसैगरी पार्टीका महासचिव विष्णु पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिने विषयमा पार्टीभित्र र बाहिरबाट पनि चर्को आलोचना भएपछि ओली पछाडि हटेको चर्चा छ । वालुवाटार जग्गा प्रकरणले छवि बिग्रिएको बेला पौडेललाई जिम्मेवारी दिंदा जनमासमा सरकारकै आलोचना बढ्न सक्ने भन्दै पौडेललाई मन्त्रिपरिषदमा सहभागि नगराउन पार्टीभित्रकै नेताहरूले ओलीलाई सुझाव दिएका थिए ।
स्रोतका अनुसार सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिका मन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगर, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र अर्थमन्त्री युवराज खतिवडालाई मन्त्रिपरिषद्बाट विदाइ गर्ने ओलीको तयारी रहेको छ ।