प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा शनिबार हेमोडायलसिस गरिएको छ । क्रियाटिनिनको स्तर नियन्त्रित गर्न हेमोडायलसिस गरिएको हो । ६७ वर्षीय प्रधानमन्त्रीको मूत्र नली (युरेटर) अर्थात मुत्राशय र मृगौला बिचमा राखिएको स्टेन्ट समेत शनिबार नै निकालिएको छ । अस्पतालको युरोलोजी विभागका अध्यक्ष प्राडा प्रेमराज ज्ञवालीको नेतृत्वमा करिव १० मिनेट लगाएर उक्त स्टेन्ट झिकिएको हो ।
स्टेन्ट झिक्दा प्रधानमन्त्रीलाई नदुखोस् भनेर ‘एनेस्थेसिया’ को समेत उपयोग गरिएको थियो । अस्पतालमा प्रधानमन्त्रीको क्रिटिनिनको स्तर, इलेक्ट्रोलाइटको स्तर, रेनल फंग्सन टेस्ट (मिर्गौलाको कार्य प्रणाली सम्वन्धी परिक्षण) लगायतका परिक्षण गरिएको थियो ।
नियमित डायलाइसिस वा पुनः प्रत्यारोपण गर्ने भन्ने दोधारमा रहेका प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण नै गर्ने निष्कर्षमा पुगेका छन् । प्रत्यारोपण स्वदेशमा गर्ने कि विदेशमा भन्ने टुंगो लाग्न मात्र बाँकी छ । प्रधानमन्त्री र उपचारमा संलग्न चिकित्सकहरू पनि नियमित डायलाइसिस होइन, प्रत्यारोपणमा जाने निष्कर्षमा पुगेका छन् । प्रत्यारोपण कहिले गर्ने र स्वदेशमा गर्ने कि विदेशमा भनेर छलफल भइरहेको छ ।
शनिबार अस्पतालमा पनि यो विषयमा छलफल भएको थियो । प्रधानमन्त्री र उनका परिवारले नेपालमै प्रत्यारोपण गर्दा सफल हुने सम्भावना कति छ भनेर चिकित्सकहरूसँग पटकपटक जिज्ञासा राखेका छन् । चिकित्सकहरूले शतप्रतिशत भन्न नसकिने, तर विदेश र नेपालमा भिन्नता नहुने स्पष्ट पारेका छन् । प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई मिर्गौला दान गर्न चाहनेहरू भने धेरै छन् । तर, कानुनले परिवारजनबाट मात्रै मिर्गौला लिन मिल्ने निश्चित गरेको छ । परिवारभित्रैबाट मिर्गौला लिन पनि ओलीलाई असजिलो छैन । किनकि, ऐनले मिर्गौला दिन सक्ने आफन्तको फराकिलो दायरा बनाएको छ ।
यससँगै मिर्गौला प्रत्यारोपणको क्रममा लामो समय उपचारमै रहनुपर्ने भएकोले प्रधानमन्त्री ओलीले जिम्मेवारी हस्तान्तरणको तयारी गरेको स्रोतको दावी छ । पार्टीको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई र सरकारको नेतृत्व वामदेव गौतमलाई सुम्पने ओलीको तयारी रहेको छ । गौतमलाई राष्ट्रिय सभामा मनोनित गरी मन्त्रिपरिषदमा सहभागि गराउने तयारी भैरहेको स्रोतको दावी छ ।